शुरु हुनुअघि नै किन चर्चामा छ ‘ट्री हाउस’ ?

शुरु हुनुअघि नै किन चर्चामा छ ‘ट्री हाउस’ ?


– मनिता चाम्लिङ

धरानकी ओमु राईले ‘ट्री हाउस’ निर्माण गरी रिसोर्ट बनाउन शुरु गरेपछि अहिले ‘ट्री हाउस’ हेर्नकै लागि नेपालका विभिन्न कुनाबाट मात्र नभई विदेशबाट समेत पर्यटक आउन थालेका छन् । धरान–१३ शिवधारादेखि १ किलोमिटर पूर्वी–उत्तर शिवजट्टा जाने बाटोमा करिब साढे एक बिघा जग्गामा शुरुवात भइरहेको ‘शुभ गन्तव्य रिसोर्ट’मा बनेको ‘ट्री हाउस’का कारण पर्यटकहरू हेर्न ओइरिएका हुन् । यो रिसोर्ट सम्पन्न हुन पाएकै छैन, तर आन्तरिक तथा बाह्य पर्यटक पुगेर फोटो खिच्ने माध्यम भने बनिसकेको छ ।

‘ट्री हाउस’सहितको यो रिसोर्ट औपचारिक रूपमा शुरु हुनुअघि नै चर्चामा आएको छ । ‘ट्री हाउस’ घुम्न पुग्नेहरूले फोटो खिचेर सामाजिक सञ्जालमा राखेपछि अहिले त्यहाँ थामिनसक्नुको भिड लाग्न थालेको छ । उद्घाटन नहुँदै रिसोर्टप्रतिको आकर्षणबाट सञ्चालिका राई पनि ज्यादै उत्साहित छिन् । अहिले दैनिक सयजनाको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ घुम्न पुग्ने गरेका छन् भने बर्थडे मनाउने र पिकनिक खानेहरूकोे पनि सङ्ख्या दिनानुदिन बढ्दो मात्रामा रहेको छ । यस रिसोर्टमा आउने पर्यटकले सामाजिक सञ्जालमा तस्बिरहरू राखेपछि पूर्वको झापा र पश्चिमको पोखराका आन्तरिक पर्यटकदेखि भारतको अरुणाञ्चल, यूके, हङकङ र सिङ्गापुरबाट पनि पर्यटकहरू नेपाल आउने क्रममा आफ्नो ट्री हाउसमा आइपुगेको सञ्चालिका राई बताउँछिन् । यस रिसोर्टको औपचारिक नाम ‘शुभ गन्तव्य रिसोर्ट’ भए पनि पर्यटककै कारण नाम फेरिएर अहिले ‘ट्री हाउस’ बन्न पुगेको छ ।

विगत १५ वर्षदेखि शिक्षाक्षेत्रमा आबद्ध राई ५ वर्षअघि यस ठाउँमा पिकनिक खेल्न आउँदा उनलाई यस ठाउँको स्वच्छ वातावरणले मोहित बनाएको रहेछ । सानैदेखि कार्टुन मुभी हेरिरहने बानीले बेलाबेलामा ‘ट्री हाउस’को झल्को आइरहने गर्दा त्यही झल्कोलाई मूर्तरूप दिन पनि यसै ठाउँमा केही गर्नैपर्छ भन्ने सोचले रिसोर्टको शुरुवात गरेको राई बताउँछिन् ।

‘यो मेरो ड्रिम प्रोजेक्ट नै हो,’ उनले भनिन् । अङ्ग्रेजी नयाँ वर्षमा ओपनिङ गर्ने सोच भए पनि निर्माण कार्य अधुरै रहेकोले आगामी वैशाख १ गते नयाँ वर्षमा उद्घाटन गर्ने योजनाअनुरूप निर्माणकार्य द्रुत गतिमा भइरहेको उनले बताइन् ।

धरानको एम्स एकेडेमीकी एक्जुकेटिभ डाइरेक्टरसमेत रहेकी उनले १५ वर्षका लागि १ बिघा जग्गा लिजमा लिएकी छन् । हालसम्म ७० लाख रुपैयाँ लगानी भइसकेको यस रिसोर्टमा दुई करोडभन्दा बढीको खर्च लागत स्टिमेट रहेको छ । पूर्वको पर्यटकीय शहरको उपनाम पाएको धरानमा यो रिसोर्ट सञ्चालनमा आएपछि पर्यटन क्षेत्रमा एउटा इँटा थपिनेछ । उनी भन्छिन्, ‘अब धरानलाई देखावटी रूपमा मात्र पर्यटकीय शहर नभई साँच्चिकै पर्यटकीय शहर बनाउँदै पर्यटक भित्र्याउँछौँ ।’

हालसम्म रिसोर्टमा तीनवटा ‘ट्री हाउस’ निर्माण भइसकेका छन् भने बाँकी तीनवटा ट्री हाउस निर्माणको योजनामा रहेको सञ्चालिका राईले बताइन् । ‘ट्री हाउस’मा तीनवटा कोठा छ, त्यहाँ परिवारसहित आउने पर्यटक ग्राहकलाई मात्र बस्न अनुमति हुन्छ । यसैगरी यस रिसोर्टमा रक क्लाइम्बिङ शुरु गर्न काठमाडौंबाट विशेषज्ञ टोली झिकाएर निर्माणको तयारीमा रहेको राईले बताइन् । रक क्लाइम्बिङमा टुर्नामेन्टसमेत गराउने सञ्चालिका राईको सोच रहेको छ । यस्तै, नयाँ शैलीको वाटर रेस्टुरेन्ट पनि सञ्चालन गर्ने उनकोे योजना छ, जसमा पानी जम्मा गरेर २ स्टेपको कृत्रिम झरना बनाइन्छ । त्यहाँ जाडो महिनामा पनि तातोपानी बग्ने व्यवस्था मिलाइनेछ ।


रिसोर्टमा हाल एउटा भीआईपी कोठा र सेमिनार हल पनि निर्माणको अन्तिम चरणमा रहेको छ । भीआईपी कोठामा पर्यटकहरूलाई किचन, बेडरुम, खानाको परिकार सबै त्यहीँ उपलब्ध हुन्छ । यस्तै, घुम्न आउने पर्यटकहरूसँग आएका बालबालिकाका लागि फनपार्क र साइकल ट्र्याक बनाएर बाइक राइडिङको सुविधा पनि उपलब्ध हुने सञ्चालिका राईले बताइन् । उद्घाटन नहुँदै रिसोर्टप्रतिको आकर्षणले पर्यटकहरू ओइरिन थालेपछि अनौपचारिक रूपमा रिसोर्टको शुरुवात गर्न कर लागेको उनको भनाइ छ । अहिले यस रिसोर्टले सामान्य खाजा, ड्रिंक्स मात्र उपलब्ध गराउँदै आएको छ ।

मौलिक तथा बिलकुल गाउँले परिवेशमा बनाउन थालिएको यस रिसोर्टलाई थप आकर्षक बनाउन ४२ फिटे भ्यु टावर पनि बनाइने भएको छ । रिसोर्टको उद्घाटनपश्चात् नेपाली मौलिक खाना, नेपाली खाना ढिँडो–गुन्दु्रक र लोकल कुखुराको मासुदेखि फाइभ स्टार होटेलमा पाइने परिकारहरूसमेत उपलब्ध गराइने राईले बताइन् ।

यसैक्रममा होटेल व्यवसायी महासङ्घ नेपालका केन्द्रीय सचिव महेन्द्र प्रधानले पूर्वकै पर्यटकीय शहर धरानमा नयाँ सोचका साथ खोलिएको ‘ट्री हाउस’को आकर्षणले धरानमा अझ पर्यटकहरू थपिने दाबी गरे । उनले पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारले त्यति चासो नदेखाइरहेको बेला एक महिलाको साहसले खोलिएको यसप्रकारका होटेल, रेस्टुरेन्टहरू धरानको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा साबित हुने बताए ।