यी रहेछन् चिट्ठाको बहानामा ठग्नेहरु

यी रहेछन् चिट्ठाको बहानामा ठग्नेहरु


चिठ्ठा पर्यो भनी विभिन्न सामाजिक सञ्जाल (भाईबर, म्यासेन्जर) मार्फत खबर गरी पुरस्कारबापतको रकम निकाल्नको लागि वीमा तथा अन्य धरौटी रकम लाग्ने भनी पटक–पटक आईएमईबाट रकम पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि आवश्यक कारवाही शुरु गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले हिजो बुधबार काठमाडौं बल्खुबाट अभियुक्तहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इप्रका बर्दिबास (महोत्तरी) पठाएको बताइएको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगाका रेवत कुमार खाती, उदयपुरकै महेश कुमार पाण्डे, उदयपुरका रोशन बिक रहेका छन् ।

प्रहरीका अनुसार मुलुकी ऐन ठगीको महल अनुसार ठगी गर्ने लाई ठगी लिएको विगो कायम भएमा हक पुग्नेलाई बिगो भराई बिगो बमोजिम र बिगो कायम नभएमा रु। ५ हजार सम्म जरिवाना र ५ वर्ष सम्म कैद हुने व्यबस्था रहेको छ ।

उनीहरूमाथि गरिएको अनुसन्धानबाट खुल्न आएअनुसार भारतको दिल्लीमा रहेको अपरिचित व्यक्तीले पीडितहरुको भाइबर तथा म्यासेन्जरमा फोन तथा म्यासेज गरी चिठ्ठा परेको कुरा जानकारी गराउने गरेका थिए । यस्तै, चिठ्ठामा परेको सामान तथा नगद भारतमा रहेको जानकारी गराई सो चिठ्ठा बापतको सामान तथा नगद लिनका लागि बीमा तथा धरौटी रकम तिर्नुपर्ने भनी पीडितहरुलाई आइएमईबाट नगद रकम पठाउन लगाएको । पीडितहरुबाट उक्त वीमा तथा धेरौटी रकम नेपालमा नै रहेका एजेन्टहरु रेवतकुमार खाती, रोशन बिक र महेशकुमार पाण्डेले आइएमईमार्फत् बुझ्ने गरेको , र नेपालमा रहेका एजेन्टहरुले पीडितहरुबाट बुझेको रकम भारतको दिल्लीमा रहेको मुख्य योजनाकारलाई पठाउने गरेको प्रहरीको दाबी छ ।