पार्टी एकता गरेर भारत भ्रमणमा निस्कने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामाथि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पानी खन्याइदिएका छन् । कम्युनिष्ट एकताका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको भन्ने बयानबाट एमाले (ओली)लाई शुरु–शुरुमा मख्ख बनाएका प्रचण्डले अन्ततः आफ्नो असली रूप दर्शाइदिएका छन् । त्यागको त प्रश्नै रहेन, ‘फिप्टी–फिप्टी हैसियत नभए एकता नै गरिन्न’ भन्ने अभिव्यक्ति दिएर यतिबेला उनले ओलीको मात्र नभई कम्युनिष्ट एकताको कामना गरिरहेका लाखौँ कार्यकर्ताहरूको भावनामा समेत ठेस पुऱ्याइदिएका छन् ।
पचास–पचासको हैसियत नपाए पार्टी एकता नै नगर्ने बरु सरकारबाट बाहिरिने प्रचण्डको पछिल्लो भनाई छ । आफ्ना स्वार्थहरू एकपछि अर्को पूरा भएपछि उनले यस्तो कडा अभिव्यक्ति दिएका हुन् । यसबाट शुरुदेखि नै प्रचण्ड पार्टी एकताका निम्ति इमानदार थिएनन् भन्ने पुष्टि हुन्छ ।
यहाँनेर यो अनुमान गर्नु अतिरञ्जना हुनेछैन कि यदि प्रचण्डको कुरा सुनेर फिप्टी–फिप्टी हैसियत दिन ओली (एमाले) तयार भए भने पनि प्रचण्डले फेरि कुनै अर्को बहाना बनाएर बखेडा झिक्नेछन्, नकि एकताको हात मिलाउने छन् !
‘एमालेले आफ्नो पोजिशनको दादागिरी देखाइरहेको, यस्तो दादागिरी सहनुभन्दा सरकारबाट निस्कनु उचित हुने’ भन्ने प्रचण्ड–अभिव्यक्तिको अन्तर्य कम रहश्यमयी छैन । एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौदा तयार भएको, केन्द्रदेखि तलसम्मका कमिटि र कमिटिमा रहने सदस्य सङ्ख्या तय भएको जस्ता समाचार सार्वजनिक हुँदै गर्दा एकतिर आम कम्युनिष्ट कार्यकर्तामा खुशीयाली छाएको थियो भने यही खुशीको माहोलबीच प्रचण्डले सरकार नै छोड्न सकिने अभिव्यक्ति दिएर पार्टीएकताप्रति बफादार सबैको चाहनामाथि तुषारापात गरिदिएका छन् भने ओलीजस्ता चतुर राजनीतिक खेलाडीलाई समेत थाङ्नामा सुताइदिएको अनुभूति गरिएको छ ।
एकाएक उत्पन्न पछिल्लो यस उहापोहको अवस्थाका आधारमा सार कुरा भन्नुपर्दा यही दाबी गर्न सकिन्छ– ‘एमाले–माओवादी केन्द्रबीचको एकता नदीका दुई किनारसरह हो, जसको मिलन कहिल्यै हुँदैन ।’ अपवादस्वरूप अझै एकताको घोषणा कथम् भएछ भने पनि प्रचण्डकै कारण त्यो दीगो हुनेछैन, किनकि एउटा कुटिल रणनीतिअन्तर्गत मात्र एकताको कर्मकाण्डी घोषणा गर्न प्रचण्ड तयार भएका हुन सक्छ्न् ।
प्रतिक्रिया