‘प्रदेश नम्बर ५ छिट्टै साक्षर’ : सामाजिक मन्त्री बराल

‘प्रदेश नम्बर ५ छिट्टै साक्षर’ : सामाजिक मन्त्री बराल


– चन्द्रकान्त खनाल

प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश नम्बर ५ लाई साक्षर बनाउने योजना पहिलो प्राथमिकता रहेको बताए ।

शिक्षाबिना समृद्धिको कल्पना गर्न नसक्ने भन्दै आउने नीति तथा कार्यक्रममा शिक्षालाई जोड दिइने र निकट भविष्यमै साक्षर प्रदेशका रुपमा घोषणा गरिने बताए ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन एन प्याब्सनले विहीबार सामाजिक विकास मन्त्रालयमा आयोजना गरेको सम्मान तथा शिक्षामा सुधार अवधारणापत्र प्रस्तुत कार्यक्रममा मन्त्री बरालले नगरपालिका र गाउँपालिकामा प्राविधिक शिक्षालय तथा प्रत्येक जिल्लामा मेडिकल साइन्स कलेजहरु स्थापनाको योजनालाई प्रदेश सरकारले अगाडि बढाउने बताए ।

बरालले साक्षर घोषणा गरिएका जिल्लाहरुमा अझै पनि साक्षरता कक्षा तथा पौढ कक्षाका कार्यक्रम संचालन गर्नु दुःखद् विषय भएको उल्लेख गर्दै साक्षर घोषणा नभएका जिल्लालाई साक्षर बनाउने कुरामा आवश्यक परे आफुनै सहभागी हुने बताए ।

उनले निजी तथा संस्थागत विद्यालयहरुले युवाहरुको सृजनशीलता बाहिर निकाल्नका लागि ठुलो भुमिका खेलेको बताउँदै संस्थागत र सामुदायिक विद्यालयबीचको खाडललाई पुर्ने गरी कार्यक्रम सञ्चालन गरिने समेत उल्लेख गरे । कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन एन प्याब्सनका केन्द्रीय सदस्य कृष्ण पौडेल र निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सनका केन्द्रीय सल्लाहका लोकनाथ उपाध्यायले संयुक्त रुपमा अवधारणा पत्र सामाजिक विकासमन्त्री बराललाई वुझाएका थिए ।

मन्त्री बराललाई बुझाइएको अवधारणा पत्रमा स्थानीय र प्रदेश संरचना र सरकार हुँदा पनि शैक्षिक नीतिमा देखिएको अन्यौलताले शैक्षिक विकासमा अवरोध देखिएको, सामुदायिक तथा संस्थागत विद्यालयबीच विभेदमा कमी नआएको तथा संस्थागत, सामुदायिक, गुठी, धार्मिक लगायतका विद्यालयहरुका लागि निर्देशिका अनुकुल नहुँदा शैक्षिक गुणस्तरमा वृद्धि नभएको लगाएका विषयहरु एन प्याब्सनका केन्द्रीय सदस्य पौडेलले बताए ।

एन प्याब्सनका अध्यक्ष देउप्रकाश राईको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, एन प्याब्सनका उपाध्यक्ष तिलक केसी, सचिव जेबी क्षेत्री लगायतले विद्यालयमा शैक्षिक गुणस्तरवृद्धिका लागि संस्थागत र सामुदायिक विद्यालयलाई सरकारले समान सहयोग गर्नु पर्ने बताउनुभएको थियो । कार्यक्रममा एन प्याब्सनले मन्त्री बराललाई सम्मानपत्रले सम्मान समेत गरेको थियो ।