वैशाख १ देखि इन्धन ट्याङ्करमा ‘लक सिस्टम’ अनिवार्य

वैशाख १ देखि इन्धन ट्याङ्करमा ‘लक सिस्टम’ अनिवार्य


– प्रणय साह/बारा

नेपाल आयल निगम अम्लेखगञ्ज शाखाले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट हुने चुहावट न्युनीकरण गर्नका लागि ‘लक सिस्टम’ पयोगमा ल्याउने भएको छ । कर्मचारीको मिलोमतोमा ट्याङ्करबाट पेट्रोलियम पदार्थ चुहावट हुने घटना बढ्न थालेपछि नेपाल आयल निगम अम्लेखगञ्ज शाखाले आगामी बैशाख १ गते देखि उक्त प्रविधि अवलम्बन गर्नेगरी प्रक्रिया अघि बढाएको छ ।

‘लक’ प्रविधि लागु गरिएपछि भारतको मोतिहारी–रक्सौलबाट नेपालको अम्लेखगञ्जसम्म आइपुगेपछि त्यहाँका कर्मचारीको सहयोगमा मात्रै लक खोल्न सकिने बताइन्छ । सवारी चालक र सम्बन्धित क्षेत्रका कर्मचारीकै निगरानिमा लक बन्द हुने र खोलिने भएपछि चुहावट शुन्यमा ल्याउन सकिने नेपाल आयल निगम अम्लेखगञ्ज शाखाका क्षेत्रिय प्रमुख इन्जिनियर प्रदिप कुमार यादवले बताए ।

छिमेकी मुलुक भारतमा लागु भइसकेको यो प्रक्रिया नेपालका नयाँ सवारी साधनमा रहेको तर पुरानो सवारी साधनमा नरहेकोले अब अनिर्वाय गर्न लागिएको यादवको भनाई छ । उनले सवारीधनीलाई बैशाख १ गतेभित्र आफ्ना सबै ट्याङ्करमा अनिवार्य लकिङ सिष्टम लागु गर्न जानकारी गराइसकेको बताए ।

अहिले आयल निगम अम्लेखगञ्ज शाखाअन्तर्गत दैनिक करिब तीन सयको हाराहारीमा ट्याङ्करहरू सञ्चालनमा रहेका तर तीमध्ये हालसम्म एक सय ट्याङ्करमा मात्र ‘लक’ सिस्टम रहेको निगमको भनाई छ । यदि तेकिएको समयभित्र लक प्रक्रियाको पालना नगर्ने ट्याङ्करलाई शाखामा प्रवेश निषेध गराइने यादवले बताए ।