तपाईंको दृष्टिमा

तपाईंको दृष्टिमा


सौर्न्दर्य, सङ्घर्ष, सहनशीलता र आत्मविश्वासको उत्कृष्ट संयोजनबाट निर्माण भएको एउटा व्यक्तित्व हो- करिश्मा मानन्धर । करिब अर्ढाई दशक अवधि नेपाली चलचित्र क्षेत्रका लागि समर्पण गरिसकेकी यी अभिनेत्रीको चासो र चर्चा यिनको केही वर्ष अमेरिका प्रवासको कालखण्डमा पनि नेपाली सिने उद्योगले उत्तिकै गरिरह्यो, मानौँ उनको अभावमा नेपालको चलचित्र उद्योगको चमक नै गुमेको होस् । कलिलो उमेरमै कलाक्षेत्रमा होमिएर सङ्घर्ष र सफलताका अनेक घुम्ती वा उकाली-ओराली छिचोलिसक्दा पनि शारीरिक सौर्न्दर्य बचाइराख्ने सवालमा सदाबहार सावित भएकी करिश्मा कुनै बेला आफैं चलचित्र निर्माणमा पनि होमिएकी थिइन् । कलाक्षेत्रको साथसाथ भावी दिनमा सामाजिक क्रियाकलापमा आफूलाई संलग्न तुल्याउने सोचमा रहेकी अभिनेत्री करिश्मा मानन्धर जीवन-जगत्सँग सम्बन्धित सवालका जवाफमा राजन घिमिरेसँग यसरी प्रस्तुत भइन् ।
० जीवन के हो ?
– इच्छाअनुसार भोगिने कालखण्ड । यो भोग्नेमा भर पर्छ, जस्तो भोग्यो जीवनको रङ्ग त्यस्तै हुन्छ ।
० प्रेम के हो ?
– एक-अर्कालाई नजिक ल्याउने सशक्त माध्यम, जसबाट कसैलाई नजिकबाट बुझन सकिन्छ- बुझाउन सकिन्छ ।
० सुन्दरता के हो ?
– आकर्षणको एउटा माध्यम । परिस्थितिअनुसार यो घातक पनि हुनसक्छ ।
० मन के हो ?
– एउटा चञ्चल भाव ।
० भावना के हो ?
– हर कुराको अनुभूति गर्न सकिने एउटा पवित्र माध्यम ।
० विवाह के हो ?
– एक-अर्काबीच सहाराको माध्यम । अर्को शब्दमा यसलाई पारिवारिक बन्धनको सूत्र भन्दा पनि हुन्छ ।
० बन्धन के हो ?
– बाध्यता, यस्तो बाध्यता जो कहिले राम्रो र कहिले खराब पनि सावित हुन सक्छ ।
० अपमान के हो ?
– आफूले आफैंलाई बुझने उपाय । यसलाई सही रूपले ग्रहण गर्न सके अघि बढ्ने माध्यम पनि हो यो ।
० इज्जत के हो ?
– गर्व, शान-मान र जिम्मेवारी बोध गराउने माध्यम ।
० बेइज्जति के हो ?
– मनोबल गिराउने र उत्साह मार्ने तत्त्व ।
० मिलन के हो ?
– खुसी प्रदान गर्ने, एकत्व जगाइदिने माध्यम ।
० विछोड के हो ?
– जीवनप्रतिको उत्साहमै कमी ल्याइदिन सक्ने दु:खद् परिस्थिति ।
० जवानी के हो ?
– सबैको आकर्षणको केन्द्र, आफैंप्रति गर्व अनुभूति हुने जीवनको एक समय-खण्ड ।
० बालपन के हो ?
– आफ्ना लागि निस्पिक्रीले भरिएको रमाइलो समय । अरूलाई दु:ख र पीर मात्र दिने उमेरभन्दा पनि हुन्छ ।
० तृष्णा के हो ?
– यस्तो खोजी जो प्राप्त हुन पनि सक्छ र नहुन पनि । यसलाई पाल्नु गल्ती हो किनकि यसले मानिसलाई अल्छी र एकोहोरो बनाउँछ ।
० रिस के हो ?
– आफूलाई ध्वस्त पार्ने र अरूको नजरमा गिराउने तत्त्व, जसले पछि आफैंलाई लज्जित तुल्याउँछ ।
० जोस के हो ?
– उमेरजन्य शक्ति हो यो, जो नकारात्मक क्रियाकलापमा पोखियो भने जीवनभर घाटामा परिन्छ । होसलाई पाले राख्नुपर्ने तत्त्व हो यो ।
० नसा के हो ?
– आत्मकेन्द्रित गराउने र एक्लै रमाउन सघाउने माध्यम जसले अरूप्रति लापरबाह तुल्याइदिन सक्छ ।
० यौन के हो ?
– दुई विपरीतलिङ्गीलाई नजिक ल्याइदिने र शारीरिक सन्तुष्टि प्रदान गर्ने सशक्त माध्यम ।
० सन्तुष्टि के हो ?
– चरम आनन्दको अनुभूति । मनमा उत्साह-उमङ्ग सञ्चार भएको अवस्था ।
० कर्तव्य के हो ?
– जीवनलाई सफल र र्सार्थक तुल्याउनका लागि एउटा अमूल्य माध्यम ।
० विश्वास के हो ?
– कसैप्रति समर्पित हुने या कसैलाई समर्पित तुल्याउने र संसार अडाउने भरपर्दो माध्यम ।
० असल के हो ?
– व्यक्ति, समाज र राष्ट्रका अघिल्तिर सम्मानित तुल्याउन सक्ने आचरण ।
० खराब के हो ?
– आफूलाई आफ्नै नजरबाट गिराउन सक्ने तत्त्व ।
० सबभन्दा ठूलो धोखा के हो ?
– विश्वासघात । अरू घातको क्षतिपूर्ति हुन सक्ला तर विश्वासघातमा त्यो सम्भव छैन ।
० दु:ख के हो ?
– खुसी बिर्साउने भाव नै दु:ख हो ।
० सुख के हो ?
– मानिसलाई अल्छी तुल्याउने या सिर्जनामा गतिरोध ल्याउन सक्ने अनुभूति ।
० खुसी के हो ?
– सकारात्मक सोच र उत्साह जगाउने भाव ।
० आनन्द केमा छ ?
– इच्छाअनुसारको जीवनभोगाइमा आनन्द छ । आनन्दको माध्यम अनन्त हुन सक्छन् ।
० मित्र को हो ?
– हृदयले स्वीकार गरेको साथी ।
० शत्रु को हो ?
– जो मित्रका रूपमा रहेर पनि घात गरिरहेको हुन्छ ।
० सङ्घर्ष के हो ?
– सफलताको सिँढी नै सङ्घर्ष हो । अरूको नजरमा स्वाभिमानी र प्रेरक तुल्याउने माध्यम पनि हो यो ।
० प्राप्ति के हो ?
– यस्तो उपलब्धि जसमा सङ्घर्ष र सफलताको स्वाद पाइन्छ ।
० आस्था के हो ?
– कसैप्रतिको लगाव जसले मनमा सन्तोष दिइरहेको हुन्छ ।
० धर्म के हो ?
– नकारात्मक भाव त्यागेर आचरणमा शुद्धता ल्याउने एउटा माध्यम ।
० नैतिकता के हो ?
– यस्तो तत्त्व जसलाई अवलम्बन गर्दा अरूको नजरमा गिर्नुबाट बच्न सकिन्छ ।
० चरित्र के हो ?
– जीवनमा सर्वाधिक ठूलो या महत्त्वपूर्ण सम्पत्ति ।
० ज्ञान के हो ?
– अरूप्रति द्वेष वा नकारात्मक भावबाट मुक्त तुल्याउने तथा आफूलाई शुद्ध राख्ने माध्यम ।
० बुद्धि के हो ?
– विधाताले दिएको बहुमूल्य उपहार ।
० सम्झौता के हो ?
– एउटा यस्तो कर्म जो इच्छा र स्वभावभन्दा विपरीत भए पनि स्वीकार गर्न बाध्य बनिन्छ ।
० सृष्टि के हो ?
– एउटा रहस्य, जसले हामीलाई अस्तित्व दियो ।
० गुरु को हो ?
– समाजलाई ज्ञान र सत्विचारले सिँचन गर्ने महात्मा, जो कुनै नाम, जात र वर्गको सीमाबाट मुक्त हुन्छ ।
० राजनीति के हो ?
– जति बुझयो उति कठिन, समस्याको पोको । चासो दिन नखोजे पनि अछुतो रहन नसकिने तत्त्व ।
० देश के हो ?
– आफूलाई भन्दा बढ्ता माया र सम्मान गर्नुपर्ने एउटा यस्तो चिज हो जसले मानिस भएर जन्मनुको र्सार्थकता सिद्ध गराउन अद्वितीय भूमिका निर्वाह गर्छ ।
० समाज के हो ?
– सुखदु:ख साट्ने चौतारी ।
० पद के हो ?
– आत्मरतिमा रमाउने माध्यम । नपाउञ्जेल के-के न जस्तो पाएपछि शून्य एउटा प्राप्ति ।
० विकास के हो ?
– नयाँ सोच, खोज र सुविधा आपूर्तिको उपाय ।
० व्यापार के हो ?
– कसैका लागि जीवन चलाउने माध्यम त कसैका लागि कसैलाई कजाउने या कसैद्वारा कजिने एउटा व्यवहार ।
० अनुशासन के हो ?
– एउटा यस्तो बन्धन जसको परिणति सुख र इज्जतका रूपमा प्रकट हुन्छ ।