ओलम्पियन हमाल प्रमुख सचेतक चयन

ओलम्पियन हमाल प्रमुख सचेतक चयन


ओलम्पियन तथा पूर्व राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल नेपाली काङ्ग्रेस प्रदेश नम्बर ५ को प्रमुख सचेतक चयन भएका छन् । बाँके क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका हमाललाई नेपाली काङ्ग्रेसका प्रदेश नम्बर ५ का संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले मनोनयन गरेका हुन् ।

हमाललाई चैत्र ९ गते नेका क्षेत्र नम्बर ५ को मुख्य सचेतकमा चयन गरिए पनि प्रदेश राजधानी बुटबलभन्दा बाहिर भएका कारण चैत्र १५ गते विहिबार मनोनयनपत्र प्रदान गरिएको हो । उक्त कुराको जानकारी संसदीय दलका नेता शर्माको सचिवालयले गराएको छ ।

भारोत्तोलन खेलबाट राष्ट्रलाई विशेष योगदान दिएका हमाललाई उनको योगदानलाई कदर गर्दै चार वर्षअगाडि मन्त्रीपरिषदको निर्णयबाट राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्षको जिम्मेवारी दिइएको थियो । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हमाल प्रदेशसभामा टिकट पाएपछि राखेपको कोषाध्यक्ष पदबाट राजीनामा दिएका थिए ।