मेयरको अक्षमताका कारण भरतपुर महानगरपालिका विवादमा

मेयरको अक्षमताका कारण भरतपुर महानगरपालिका विवादमा


प्रचण्डपुत्री रेणु दाहाल मेयर बनेपछि भरतपुर महानगरपालिकामा विभिन्न निर्णय गर्दा विवाद निम्तने क्रम बढेको बुझिएको छ । कहिले डम्पिङ साइट त कहिले नारायणगढ बजारमा फुटपाथ हटाउने सन्दर्भमा गरेका निर्णयहरू विवादास्पद हुने गरेका छन् ।

नारायणगढ बजारलाई ब्यवस्थित बनाउन ४ वर्ष पहिले गरिएको फुटपाथ निषेधलाई रेणु दाहाल मेयर बनेपछि फेरि असरल्ल फुटपाथ बजार शुरु गरिएको थियो । उनकै आडमा माओवादीका कार्यकर्ताले स्वघोषित कर उठाएर अहिले भद्रगोल रुपमा नारायणगढ बजारमा फुटपाथ बजार अस्तब्यस्त अवस्थामा छ ।

फुटपाथ बजारलाई ब्यबस्थित बनाउनुपर्ने उद्योग बाणिज्य संघ लगायतका संघ संस्थाको मागलाइ महानगरपालिकाले वेवास्ता गरेपछि निकै बिरोध निम्तिएको थियो । विरोध तीव्र बनेपछि सबै दलहरू, उद्योग बाणिज्य संघ चितवन लगायतको पहलमा फुटपाथ ब्यबस्थित गर्ने विषयमा महानगरले बल्ल छलफल चलाएको छ । जनप्रतिनिधि नहुँदा भरतपुर नगरक्षेत्र अहिलेको भन्दा ब्यवस्थित भएको, तर जनप्रतिनिधि आएपछि झनै भद्रगोल बनेको गुनासो जनस्तरमा निकै चलेको छ ।

पछिल्लो पटक महानगरले कर प्रणालीमा गरेको फेरबदलप्रति उद्योगी, ब्यबसायी लगायत सर्वसाधारणल तीव्र विरोध गरेका छन् । यही विषयमा समाचार संकलनमा गएका पत्रकारलाई वडा नं १० का अध्यक्ष अरुणपीडित भण्डारी लगायतका ब्यक्तिबाट भएको अभद्रब्यवहारप्रति पत्रकार सम्बन्धित संघ संस्थाले विरोध जनाएका छन् ।

महानगरको नयाँ कर नीतिअनुसार भाँडा बनाउने ब्यवसायीलाइ ५ सय बाट बढाएर १० हजार कर पुर्याइएको छ । मैदा उद्योगलाइ वार्षिक १ हजारबाट बढाएर २० हजार, पेट्रोलपम्पको ४ हजारको करलाई २५ हजार कर बढाइएकोे छ । यसरी हरेक ब्यवसायमा हजार गुनासम्म कर वृद्धि गरेपछि नागरिकस्तरबाटै विरोधको लहर शुरु भएको छ । कर वृद्धिको विरोधमा उद्योग बाणिज्य संघ चितवनले ज्ञापनपत्र बुझाइसकेको छ ।

मेयर रेणु दाहालले आफ्नो स्वविवेकले भन्दा पार्टीनिकटका ब्यक्ति, कर्मचारीको लहैलहैमा लागेर निर्णयहरू गर्ने गरेकीले धेरैजसो निर्णयले उनलाई विवादमा तानेको छ ।

उनी आफैले बुझेर ठोस निर्णय गर्न नसक्दा भविष्यमा रेणु मुलुककै असक्षम मेयर प्रमाणित त हुने हुन् कि भन्ने अनुमान धेरैले गर्न थालेका छन् । सडक निर्माण, हर्न निषेध, शहरभित्रका ध्वनी प्रदुषण साना कलकारखानाहरूलाई एकीकृत ढंगबाट निश्चित स्थानमा स्थानान्तरण गर्न धेरैपटक माग उठेपनि मेयर दाहालले कुनै निर्णय गर्न सकेकी छैनन् ।