प्रदेश समृद्धिका लागि कलम चलाउन मन्त्रीको आग्रह

प्रदेश समृद्धिका लागि कलम चलाउन मन्त्रीको आग्रह


विर्तामोड । प्रदेश नम्बर १ का आन्तरिक मामिला कानून तथा सञ्चारमन्त्री हिक्मतकुमार कार्कीले पहिलो पटक हुन लागेको नेपाल पत्रकार महासंघको प्रदेश संरचनाको पहिलो नेतृत्व सहमतिका आधारमा गरेर देशभर सन्देश दिन आग्रह गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघको ६३औं स्थापनाको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा आयोजित एसएल शर्मामा सिर्जनशील पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले नेपाल पत्रकार महासंघको आगामी बैशाख २२ गते प्रदेशमा हुने नयाँ नेतृत्व चयन गर्दा सबै पक्षलाई समेटेर नेतृत्व चयन गर्ने सुझाव दिनु भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले प्रदेश समृद्धिका लागि कलम चलाउन आग्रह गर्दै प्रदेश नम्बर–१ का क्षमतावान सबैले प्रदेशको समृद्धिका लागि प्रदेशमै फर्कन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रजातन्त्र सेनानी एसएल सेनानी एसएल शर्मा पत्रकारिता पुरस्कारबाट यो वर्ष पत्रकार विष्णु सुब्बा र पार्वतीदेवी प्रोत्साहन पुरस्कारबाट पत्रकार मुक्ति पौडेलकी श्रीमति मेनुका भण्डारी पौडेललाई पुरस्कृत गरिएको छ ।

एसएल शर्मा पुरस्कारको राशी २१ हजार रहेको छ तथा पार्वतीदेवी पुरस्कारको राशी ११ हजार नगद रहेको बताइएको छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सिना, पुरस्कारका संस्थापकका तर्फबाट राजेन्द्र सलभ, पुरस्कृत प्रतिभा विष्णु सुब्बा, नारी संचार गृहकी अध्यक्ष अम्बिका भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

स्वर्गीय एसएल शर्माको व्यक्तित्व माथि चन्द्र भण्डारीले प्रकाश पारेको कार्यक्रममा पुरस्कृत व्यक्ति सुब्बाका बारेमा गिरीराज भट्टराई र मेनुका भण्डारी पौडेलको व्यक्तित्वबारे महासंघकी उपाध्यक्ष भीमा शिवाकोटीले प्रकाश पार्नुभएको थियो ।

महासंघका सचिव सन्तोष आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत सहसचिव केशव भट्टराईले गर्नुभएको थियो ।

– रेजिना गौतम