फिल्म अवार्डको नाममा फोहोरी खेल

फिल्म अवार्डको नाममा फोहोरी खेल


जसको पूरा जीवन कलाकारिता क्षेत्रप्रति समर्पित छ । उसको अन्य कुनै पेसा र क्षेत्र नै छैन । जो कलाकारिता देखाएर आएको पारिश्रमिकबाट जीवनलाई अगाडि बढाइरहेको छ । रहरे कलाकारहरूलाई त कलाकारिताबाट आएको पारिश्रमिकले कुनै मूल्य नराख्ला तर, सबै कलाकारितामा खर्चेका लागि पारिश्रमिक थोरै होस् या धेरै त्यसको मूल्य अनि मान्यताको लेखाजोखा नै हुँदैन । पारिश्रमिक दिन्छु भनेर कला प्रस्तुत गर्न लगाउने अनि पारिश्रमिक दिने समयमा आयोजक नै लापत्ता भएपछि त्यो कलाकारको अवस्था कस्तो होला ? ठूला कुरा गरेर कलाकारलाई ढाँट्ने कार्यक्रम आयोजक पनि कस्ता होलान् ?
कुरा गत हप्ताको हो । दुबईमा आयोजना हुने फिल्म अवार्डको नाममा कलाकारहरूलाई उता लैजाने र उता जान थुपै्र व्यक्तिहरू लालायित थिए । चलेका कलाकारहरू पनि लैजानुपर्ने नत्र उता टिकट बेच्न गाह्रो हुने समस्या पनि आयोजकलाई नभएको होइन । यसैबीच दुई चलेका हास्यकलाकार दीपकराज गिरी र दीपाश्री पनि जाने भए उता तर एउटा सर्तमा मात्र । सर्त थियो पहिला यहाँ आयोजकले गरेको कार्यक्रममा प्रस्तुति प्रस्तुत गरेबापतको पारिश्रमिक लिन बाँकी नै थियो । दुई वर्षअगाडिको पारिश्रमिक नपाएको यो जोडीले कसरी विश्वास गर्ने कि अब पारिश्रमिक दिन्छन् भनेर ।
त्यसैले पहिलाको पारिश्रमिक नलिईकन आफूहरू नजाने सर्त राख्नु यिनीहरूको बाध्यता थियो ।
आयोजकले पनि एयरपोर्टमा नै पारिश्रमिक दिने र उतैबाट दुबई जाने वाचा गरेअनुरूप दीपक र दीपा तयारीका साथ एयरपोर्ट पुगे । मङ्सिरको जाडोमा रातिसम्म कुर्दा पनि आयोजकको अत्तोपत्तो भएन र उनीहरूको समय कुर्दामा नै बित्यो । आयोजकको न त अनुहार देखियो न त पारिश्रमिक नै मिल्यो यिनीहरूलाई । यसरी नेपालका प्रतिष्ठित कलाकारहरूको यस्तो हविगत बनाउने आयोजकको कार्यक्रमबाट अरूले के सन्देश पाउने अनि दर्शकमा कस्तो सन्देश गयो होला ? सहजै अनुमान लगाउन सकिन्छ ।
दीपक र दीपा नगएपछि बजारमा आयोजककै तर्फबाट अर्को हल्ला चलाइएको थियो– दीपालाई भिसा नै लागेन । दुबईलाई नै संसार ठान्नेहरूलाई थाहा रहेन छ कि अब दीपाले पुग्नुपर्ने देश कुनै बाँकी नै छैनन्, जसलाई दुबईको भिसा नलागोस् । अमेरिका, अस्टे«लिया, बेलायत वा युरोपभन्दा दुबईको भिसा कडा हो भने आयोजकको कुरा सही नै होला नत्र पारिश्रमिक माग्यो भनेर अरूको क्रेज वा क्यारियरसँग खेल्ने छुट भने कसैलाई पनि नहोला ।
गत केही अङ्कअगाडि घटना र विचार साप्ताहिकमा कलाकारहरूको अनुमतिबिना कार्यक्रमको वहानामा टिकट बेच्दै दर्शक झुक्याउन पाइँदैन भन्ने आसयको समाचार सम्पे्रषण गर्दा आयोजकले असन्तुष्टि व्यक्त गरेका थिए । यसपटक पनि त्यस्ता असन्तुष्टिका स्वरहरू नआउलान् भन्न सकिन्न । आओस् हामी सुन्न तयार छौँ । तर, आफ्नो मूल्याङ्कन आफैँ गर्नुस्, तपाईंको हर्कत सही हो त ?

जियाले पार्लिन् कि बर्बाद ?
जिया केसीको जीवनको एउटै उद्देश्य हो– चलचित्र खेल्नु । झापामा रहँदा जानकी भएकी यिनी काठमाडौं आएपछि जिया भइन् । आफ्नो वास्तविक नाममाथि नै विश्वास नगर्ने यिनले कहिल्यै बुझिनन् कि नाममा होइन काम र कर्ममा मानिसको अस्तित्व अडिएको हुन्छ । चलचित्र खेल्न पाइन्छ भने पर्दामा जस्तो दृश्य दिन पनि तयार हुने यिनकै कारण त्यस्ता अश्लील दृश्यले गर्दा चलचित्र एटीएम प्रतिबन्ध हुन पुग्यो । निर्माता डुबे अनि जानकी अर्थात् जिया पनि बहिस्कृत भइन् । जीवनभर दाग लाग्ने यस्तो चलचित्र खेलेका कारण आफू बद्नाम हुन पुगेकोमा कुनै आपत्ति, गुनासो अनि पश्चाताप छैन यिनलाई । यिनी अझै सामाजिक कार्यक्रमतिर अरूभन्दा सानका साथ उपस्थित हुन्छिन् ।
गन्तव्यहीन यिनको यात्रा कहाँसम्मको हो थाहा छैन । नेपाली सिनेमा उद्योगको इतिहासमा नै पहिलोपटक प्रतिबन्धित हुन पुगेको चलचित्र एटीएमकी नायिका जिया केसीलाई फेरि लाखौँको लगानीमा बनेको चलचित्र ‘बर्बाद’मा नायिका बनाउने गलत साहस गरेका छन् निर्माता रमेश पाठक र जिके शर्माले । यो चलचित्रका निर्देशक उनै हुन जसले ‘नेपाली वीर’जस्तो मौलिक र नेपाली इतिहास समेटिएको चलचित्रको निर्देशन गरेका थिए । उनी हुन् रिम विश्वकर्मा ।
‘एउटी केटीका कारण एउटा सुखी र सम्पन्न परिवार कसरी बर्बाद हुन्छ भन्ने कुरा हामीले देखाउन खोजेका छौँ,’ चलचित्रका निर्माता तथा नायक जिके शर्मा भन्छन् । तर, प्रतिबन्धित चलचित्रकी नायिकाकै कारण चलचित्र बर्बाद पनि पछि बर्बाद हुने अवस्थामा नपुगोस् हाम्रो कामना छ । जियाकै कारण एटीएम प्रतिबन्धित भएपछि अहिले यसका नायक तथा निर्माता दिनेश थापाको बीसौँ वर्षको कलाकारिता यात्रा बर्बाद भएको छ । भोलि चलचित्र बर्बादको हालत पनि यस्तो नहोला भन्न सकिन्न । निर्माताहरूलाई एउटा सुझाव छ कि सेन्सरमा जानुअगाडि नै आफूले पनि सेन्सर गर्ने कि ?
हामीलाई जियाको अर्को समाचार पनि प्राप्त भएको छ । चलचित्र एटीएमकै अर्की पात्र सोनिया शर्मासँगको उनको सङ्गतमा यतिबेला फाटो आएको छ । एक समय गर्लफ्रेण्ड–ब्यायफ्रेण्डजस्ता यी दुईबीच अहिले बोलचाल बन्द छ भने एक–अर्काको नाम नै लिन चाहँदैनन् यिनीहरू । सोनियासँग नराम्रो भएपछि जिया अहिले ‘बर्बाद’ चलचित्रकी अर्की नवप्रवेशी नीरू महरासँग टाँसिन थालेकी छिन् । सिनेमा उद्योगमा ठूलै सपना बोकेर विराटनगरबाट काठमाडौं हानिएकी नीरूमा सम्भावना पनि सबैले रामै्र देखेका थिए, तर उनी पनि जियाको सङ्गतका कारण मिडियालाई झुक्याउने वा ढाँट्नेतिर लागेकी छिन् । भनिन्छ नि सङ्गत गुनको फल ।

‘स्वरसम्राट’को सम्झना
स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको नाममा स्थापित नारायणगोपाल सङ्गीत कोषले यस वर्षको सङ्गीत पुरस्कार वरिष्ठ गायक योगेश वैद्यलाई प्रदान गरेको छ । स्वर्गीय नारायणगोपालको २२औँ स्मृति दिवसको अवसरमा आयोजित एक विशेष कार्यक्रममा वैद्यलाई उक्त सम्मान गरिएको हो ।
कार्यक्रममा गीतकार किरण खरेलले नारायणगोपालको आँगनमा आफूहरू सँगै टहलिने गरेको स्मरण गर्र्दै सो स्थानबाट सुन्दर धुन र गीत गुन्जने गरेको बताउनुभयो । गीतकार खरेलले सङ्गीत कोषले आफ्नो बुताले भ्याएसम्म गरेको कार्यको प्रशंसा गर्दै यो ठाउँलाई सङ्गीतको तीर्थस्थल बनाउनुपर्ने धारणा अघि सार्नुभयो । उहाँले नारायणगोपाल राज्यले होइन जनताले हेरेको व्यक्ति भएका कारण जनताको मनमस्तिकमा उहाँ जीवित रहनुभएको र रहिरहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व योगेश वैद्यले कलाकार राज्यको आश्रयबाट होइन श्रोता र दर्शकबाट जन्मने बताउनुभयो । कलाकार भिखारीहरूहरूको दानबाट बाँच्न चाहँदैन ऊ त स्वतन्त्र भएर बाँच्न पाउनुमा आनन्दित हुन्छ भन्दै वैद्यले सङ्गीतको साधना दन्त्यकथाजस्तो भएको बताउनुभयो ।
सङ्गीत कोषका अध्यक्ष डा. बानिरा गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ सङ्गीत प्रशिक्षक तथा कोषका सदस्य राजकुमार श्रेष्ठबाट प्रशिक्षित विभिन्न कलाकारले स्वर्गीय नारायणगोपालका गीत गाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

‘मोफसललाई नहेप्नुस् न’
चलचित्रमा अभिनय गरेर उनलाई दाम कमाउनु छैन । खान, लाउन र दुई–चार पैसा खर्च गर्ने क्षमता उनीसँग छ । उनी अर्थात् जीके श्रेष्ठ । यिनै जीके यतिबेला शौखले चलचित्र वृत्तमा हामफालेका छन् । गण्डकी अञ्चल तनहुँका जीके सिनेमाको पर्दामा जमेर नै लाग्ने उद्देश्य बोकेर आएका छन् । विशेष गरेर खल पात्रमा देखिँदै आएका उनी सकारात्मक भूमिकातिर पनि नदेखिएका होइनन् । ‘तर मेरो शरीरका कारण निर्माता, निर्देशक एवम् साथीभाइले खलनायकमै जम्नु ठीक हुन्छ भन्ने सुझाव दिएपछि म नकारात्मक भूमिकातिर बढी देखिएको हुँ,’ उनले भने । जीकेले अभिनय गरेको पहिलो चलचित्र हो– भेटी । त्यसपछि जाऊँ हिँड पोखरा, लफडा, बुलेट र रजस्वलामा काम गरिसकेका उनी चलचित्र बर्बादका लागि काठमाडौं आएका थिए । ‘मिडियाले हामीजस्ता मोफसलमा रहेका कलाकर्मीहरूलाई पनि सम्झनुपर्‍यो,’ उनको गुनासो छ । उनले थपे, ‘हामी पनि अवसर पाएमा राष्ट्रियस्तरका कलाकार बन्न सक्छौँ ।’

पर्यटन प्रवद्र्धन गर्न पेरिसमा ‘रमाइलो साँझ’
फ्रान्समा नेपाल प्रवद्र्धनका लागि निरन्तर प्रयास गर्दै आएको नेपाली राजदूतावास, पेरिसले गत शुक्रबार साँझ पेरिसमा एक रमाइलो कार्यक्रम आयोजना गरेको छ । पेरिसमा कार्यरत विभिन्न बीस मुलुकका उच्चपदस्थ व्यक्तिहरू सो कार्यक्रममा सहभागी भएको पेरिसस्थित नेपाली दूतावासले जनाएको छ ।
सो अवसरमा फ्रान्सका लागि नेपाली राजदूत तथा युनेस्कोका लागि स्थायी प्रतिनिधि मोहनकृष्ण श्रेष्ठले पाहुनाहरूलाई स्वागत गर्दै नेपालका प्राकृतिक तथा धार्मिक–सांस्कृतिक सम्पदाहरूबारे वर्णन गर्नुभएको थियो । भगवान् बुद्धका उपदेशहरूबारे उपस्थित विदेशी पाहुनालाई बुझाउँदै पवित्र लुम्बिनीको भ्रमण गर्न उहाँले आग्रह गर्नुभयो । पाहुनाहरूले नेपाललाई ‘अमेजिङ कन्ट्री’ भन्दै तारिफ गरेका थिए । कार्यक्रममा पर्यटन प्रवद्र्धनसँग सम्बन्धित विभिन्न सामग्री उपहारको रूपमा प्रदान गरिएको थियो भने तीनजना पाहुनालाई लट्री उपहार प्रदान गरिँदा कार्यक्रमस्थलमा थप रौनकता छाएको थियो ।