श्वेतपत्र अतिरञ्जनापूर्ण : मीनेन्द्र रिजाल

श्वेतपत्र अतिरञ्जनापूर्ण : मीनेन्द्र रिजाल


देशको अर्थतन्त्र रित्तो नभए पनि अतिरञ्जनापूर्ण विवरण समावेश गरी अर्थमन्त्रीले श्वेतपत्र जारी गरेको भन्दै नेपाली कांग्रेसका सांसदहरुले संसद बैठकमा चर्को विरोध गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले पछिल्लो दशकमा अर्थतन्त्रमा समग्रमा सुधार आए पनि सरकारले यथार्थ विश्लेषण नगरी दोषारोपण गर्ने गरी श्वेतपत्र ल्याएको आरोप लगाए । उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र निजी क्षेत्रलाई सँगै लान नसक्दा तथा राजनीतिक अस्थिरता हुँदा निर्यात घाटा भएको बताउँदै त्यसको खाडललाई पूर्ति गर्दै सबैको सहयोग लिएर नयाँ सरकारले ठोस कदम चाल्नुपर्नेमा उनले जोड दिए।

यसैबीच अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालयले तयार गरेको श्वेतपत्र कुनै दलविशेषमा लक्षित नभई वस्तुस्थितिको समीक्षामा केन्द्रित गरिएको यथार्थ तस्बिर रहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर डा. खतिवडाले सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीमा गरेका लगानीले प्रतिफल दिन थालेको र स्थिरता हुँदै समृद्धिको यात्रा अघि बढेको पनि श्वेतपत्रमा उल्लेख भएकाले समाजवादोन्मुख आत्मनिर्भर अर्थतन्त्रबारे आफूले सदनलाई श्वेतपत्रमार्फत जानकारी गराएको बताए ।