नेपाली अर्थतन्त्र आयातमुखी बन्दै, बर्षेनी बढ्दैछ व्यापार घाटा

नेपाली अर्थतन्त्र आयातमुखी बन्दै, बर्षेनी बढ्दैछ व्यापार घाटा


छविलाल बगाले
चालु आर्थिक बर्षको पहिलो सात महिनामा मात्रै नेपालमा बैदेशिक व्यापार घाटा ६ खर्ब १४ करोड पुगेको छ । पछिल्लो समय समग्र नेपाली अर्थतन्त्र आयातमुखी बन्दै गएका कारण नेपालसँगको व्यापार घाटा बढ्दै गएको हो ।

दैनिक उपभोग्य र विलासिताका सामग्रीहरूको आयात उच्च र निर्यातको दर न्युन भएकोले व्यापार घाटा चुलिदै गएको अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलका अनुसार बस्तु निर्यातले आयातको ७ प्रतिशत मात्र धान्न सकेको र आयातमा भएको बृद्धिको तुलनामा निर्यातको बृद्धि निकै कम छ । ‘नेपालमा बैदेशिक व्यापारको स्थिति निकै भयावह अवस्थामा पुगेको छ ।’ प्रवक्ता पोखरेलले भने, ‘चालु आर्थिक बर्षको पहिलो सात महिनामा मात्रै व्यापार घाटा ६ खर्ब १४ अर्ब पुगेको छ । जसमध्ये ६६ प्रतिशत घाटा त भारतसँग मात्रै छ । जुन अर्थतन्त्रका लागि निकै नकारात्मक सन्देश हो ।’

नेपालको वैदेशिक व्यापार भारतसँग कुल व्यापारको ६४ दशमलव ८ प्रतिशत केन्द्रित र भारतसँगको कुल व्यापार घाटाको ६६ प्रतिशत रहेको छ । नेपालमा उल्लेख्य संरचनाको कमी, वस्तु उत्पादनमा कमी, निर्यातमा कमजोर अवस्था, देशगत र वस्तुगत आधारमा व्यापारलाई विविधिकरण गर्न नसकेका कारण बर्षेनी व्यापार घाटा चुलिदैं गएको हो ।

हालसम्मको तथ्यांकअनुसार यो वर्षको व्यापार घाटा १० खर्ब रुपैयाँ नाघ्ने निश्चित भएको छ । चालु आवको पहिलो ७ महिनामा ६ खर्ब ६१ अर्बको सामग्रीहरू आयात गरिएको अर्थमन्त्रालयले जनाएको छ । चालु आवमा कुल आयातको सबैभन्दा बढि १५ प्रतिशत इन्धन, १४ प्रतिशत कृषिजन्य सामाग्री, १२ प्रतिशत सवारी, सुनचाँदी ५ र विद्युत आयातको भुक्तानी १ प्रतिशतभन्दा बढि रहेको छ । निर्यात वृद्धिदर कम र आयात वृद्धिदर भने ठूलै अनुपातमा बढ्दै गएको देखिन्छ । यो तथ्यांकले निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनका लागि सरकारले नीतिगत रूपमा गरेका कार्यक्रम बिफल हुँदै गएको देखिन्छ ।

स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रम हुन नसक्नु, उत्पादन भएका सामग्रीहरू निर्यात हुन नसक्नु र आयातित सामग्रीहरूमा परनिर्भरता बढिरहेकाले नेपालमा बर्षेनी व्यापार घाटा चुलिँदै गएको पवक्ता पोखरेलको भनाई छ । ‘हामी कृषि प्रधान देश नेपाल भन्छौं तर बार्षिक रुपमा १७ अर्बको चामल आयात हुनु दुखद विषय हो ।’ उनले भने, ‘सरकारले व्यापार घाटा कम गर्नका लागि मुलुकभित्रै बस्तु उत्पादनमा जोड दिन आवश्यक छ ।’