नेपालको हित गरौँ नेपालकै जय
नेपाल र नेपालीलाई नहोस् कहिल्यै भय
हाम्रो हित कल्याणका हामी आफैँ मूल
आफ्नो भूलले आफैँलाई हुन्छ पीडा शूल
नेपाल बने हामी बन्छौँ हाम्रो शान बढ्छ
प्रतिष्ठाले शिखरचुली अग्ली माथि उठ्छ
नेपालको हित गरौँ…
हामी हरेक एक–एक स्वदेशका शान
हामीले नै राख्नुपर्छ हाम्रो देशको मान
नेपाल आमा नेपालीलाई भन्छिन् सधैं खुली
खुम्चिएर रुँदै बसे झुक्छ इज्जत चुली
नेपालको हित गरौँ…
– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती
फूल– महेश रेग्मी
फूलहरू त केही बोल्छन्
फूलहरू त केही भन्छन्
फूलहरूको क्रान्ति सुगन्ध हुन्छ
फूलहरूको घोषणापत्र सौन्दर्य सन्देश हुन्छ ।
फूल गीत पनि हो– रच्छ
फूल सङ्गीत पनि हो– बज्छ
फूल प्रकृतिको गायक पनि हो– गाउँछ
फूल प्रकृतिको प्रवक्ता पनि हो– बोल्छ
फूल छोएर सृष्टि छोइदैन
फूल सुँघेर सृष्टि बुझिँदैन
फूल नितान्त सिर्जनात्मक सत्ता हो ।
फूलको कुनै ‘पलिटिक्स’ हुँदैन
फूलको कुनै ‘महाभारत’ हुँदैन
फूलको कुनै गुट/उपगुट हुँदैन ।
फूलमा राम पनि छन्
फूलमा बुद्ध पनि छन्
तर फूल हिटलर फुल्दैन
फूलको कुनै द्वन्द्व हुँदैन ।
फूलको वक्तव्य शाश्वत सत्य हुन्छ ।
प्रतिक्रिया