त्यो त समझदारीमा मात्र-नीरू महरा

त्यो त समझदारीमा मात्र-नीरू महरा


funtimeनीरू महरा हुन् यिनी । विराटनगरकी नीरू यतिबेला काठमाडौंमा सङ्घर्षरत छिन् । यिनले भेटको सुरुवातमा नै भनिन्, ‘अब मेरो जीवनको एक मात्र उद्देश्य हो सिनेमाको सफल नायिका बन्ने ।’ नीरूलाई सिनेमामा जमेर तहल्का मच्चाउने ठूलो इच्छा छ । केही चलचित्रमा त नीरूले काम पनि गरिसकेकी छिन् भने तीमध्ये ‘साइना’ नाम चलचित्र यो हप्ताबाट रिलिज पनि भइसकेको छ । साइनापछि नीरूले अरू कुन–कुन सिनेमामा काम गरिन् त ? जवाफमा उनले भनिन्, ‘थ्याङ्क्यू अनि बर्बाद ।’ यी दुवै चलचित्रको यतिबेला प्राविधिक काम भइरहेको छ । अब उनको बारेमा बाँकी कुरा ।
० तस्बिर त निकै कामुक–कामुक खिचाउँदी रहिछ्यौ नि ?
– यसलाई कामुक नै नभनौँ, यो त ग्ल्यामर्स तस्बिर हो ।
० मान्छे पनि कामुक नै हो कि क्या हो ?
– त्यस्तो छैन, तस्बिर मात्र त्यस्ता हुन् ।
० चलचित्रमा जम्ने ठूलै इच्छा रहेछ । किन यस्तो मरिमेटेको ?
– सिनेमा खेल्नु मेरो सानैदेखिको इच्छा र उद्देश्य हो । जसरी पनि सिनेमा क्षेत्रमा तहल्का मच्चाउनु छ मलाई ।
० फिल्म खेलाइदिने लोभमा के–कस्ता प्रस्ताव आउँछन् नि ?
– अरूको बारेमा मलाई थाहा छैन । मलाई अहिलेसम्म त्यस्तो प्रस्ताव
आएको छैन ।
० आयो भने… ?
– त्यस्तो प्रस्ताव स्वीकार गरेर मलाई सिनेमा खेल्नु छैन ।
० ब्वाय फ्रेण्ड … ?
– पहिले स्कुलेजीवनमा थियो तर अहिले छैन ।
० किन छुट्यो त ?
– उसले मेरो भावना बुझ्न सकेन ।
० सेक्स के हो ?
– समझदारी ।
० समझदारीमा सेक्स भएको छ कि छैन ?
– अहिलेसम्म छैन ।
० सेक्सलाई किन ठूलो मान्छन् ?
– यो त नबुझ्नेहरूको सोच हो । यसलाई ठूलो सम्झिएर गलत व्याख्या नगर्दा राम्रो हुन्छ । बुझ्नेलाई श्रीखण्ड अनि नबुझ्नेलाई खुर्पाको बिँड भनेको यही हो ।

उषालाई फलिफाप सञ्चिताको विलाप
व्यस्त नायिकाको आफ्नो कुर्सी अरूले खोस्न लाग्दा पनि सञ्चिता लुइँटेल गफ दिनमा नै व्यस्त थिइन्, ‘अब भारत जाँदै छु । उताको राम्रो ब्यानर, राम्रो निर्देशकको सिरियलबाट अफर आएको छ ।’
हुन त उनले भनेको कुरा सही नै थियो । उनी भारत गइन् । तर, पछि पो थाहा भयो कि उनी अभिनय गर्न होइन आफ्नो परिवार बसाउनका लागि पो भारत गएकी रहिछिन् । केही समयअगाडि नायक निखिल उपे्रतीलाई भारत पठाएर फ्ल्याटको व्यवस्था गर्न लगाएपछि सञ्चिता पनि उता गएकी थिइन् । नेपाली दशर्कहरूको मान, सम्मान अनि उनीहरूले दिएको इज्जतको अवमूल्यन गर्दै भारत पुगेकी सञ्चिताले निखिलसँग विवाह मात्र गरिनन् कि आमा पनि भइसकेकी छिन् । आज सञ्चिता गुमनाम छिन् भने कतै, कुनै पनि नेपाली सिनेमा र कलाकर्मीहरूको जमातमा उनको उपस्थिति हुन सकिरहेको छैन ।
निखिल उपे्रतीको एउटा सुखी परिवारमा दोस्री श्रीमतीको रूपमा प्रवेश गरेर भाँडभैलो मच्चाउन सफल सञ्चिता अन्ततः आफैँ यतिबेला नाजुक अवस्थामा छिन् । उनी निखिलसँग पनि छैनन् र माइती पक्षबाट पनि उनको हेरचाह छैन । सञ्चिताको प्रवेशले न त निखिल खुसी हुन सके न त सञ्चिताले नै आफूलाई सुखी बनाउन सकिन् । उता निखिलकी पहिली पत्नी र सन्तान पनि सुखी हुन सकेनन् । सिनेमाको कथामा नायक र नायिकको बीचमा तेस्रो व्यक्ति प्रवेश भयो भने नायक र नायिकाको सम्बन्धमा नै ‘दरार’ आएजस्तै निखिल र उनकी पत्नीको बीचमा सञ्चिताको प्रवेशले साँच्चि नै यो परिवारमा नै फुट ल्यायो ।
भारतमा अभिनय गर्न भनेर हल्ला चलाएकी सञ्चिताले उतै घरजम गरेको समाचार बजारमा आएपछि सबै तीनछक परेका थिए । उनले चर्चित भारतीय सिरियलमा काम गर्न जान लागेको हल्ला चलाएर काम नगरेको भए तापनि उता हल्ला नगरीकन पहिले कामलाई नै प्राथमिकता दिने अनि मात्र हल्ला गर्ने सोच बोकेकी अर्की कलाकार उषा पौडेलले भने साँच्ची नै भारतीय सिरियलमा काम गरेकी छिन् । हप्ताको तीनपटक ‘सहारा वन’ च्यानलबाट प्रसारण हुने ‘तुझसँग प्रित लगाई सजना’ नामक सिरियलमा काम गर्न उषाले निकै सङ्घर्ष गर्नुपर्‍यो होला, हन्डर खानुपर्‍यो होला तर अन्ततः परिणाम राम्रै आउँछ भनेजस्तै अहिले उषाका लागि समय अनुकूल बन्दै गइरहेको छ ।
झुलुक्क अनुहार देखाउने तर हल्ला बढी गर्ने खालको भूमिका होइन, उषाको प्रमुख भूमिका नै छ । उनले हल्ला गर्दा पनि फरक पर्दैन तर उषाले भनेकी छिन्, ‘पहिले परिणाम राम्रो निकालौँ, त्यसपछि हल्ला गरौँला ।’
उषालाई यो सिरियलमा दिइएको भूमिका सिरियलमा देखापरेका अन्य भारतीय नारी पात्रहरूको भन्दा कम छैन । ड्रेसअप, मेकअप अनि उषामाथि केन्द्रित क्यामेराका एङ्गलहरू हेर्दा उषा झारझुरे नभईकन गतिलै र बलियो भूमिकामा देखापरेकी छिन् । त्यसैले अरूको भलो चिताउनेको भलै हुन्छ र अरूको कुभलो चिताउनेको सञ्चिताको जस्तै कुभलो हुन्छ भन्दा फरक नपर्ला ।

धु्रव र सुमिनाको रोमान्स
लन्डनमा बस्दै आएका धु्रव दत्त र नेपालमा रहेकी सुमिना घिमिरेबीचको रोमान्सको चर्चाले यतिबेला सिनेमा बजार गर्माएको छ । सुन्दा झट्ट विश्वास गर्न पनि सकिन्न कि लन्डनमा बस्दै आएका धु्रव दत्त र नेपालमा रहेकी सुमिनाबीच कसरी रोमान्स हुन्छ ? तर, जानकारीमा आएअनुसार केही समयअगाडि लन्डनबाट धु्रव नेपाल आएका थिए । त्यही समयमा उनको सुमिनासँग भेट भयो र दुवै रोमान्टिक अवस्थामा भेटिएका रहेछन् ।
पाठकवृन्द † तपाईंहरू नझुक्किनुस्, माथि उल्लिखित रोमान्स र रोमान्टिक प्रसङ्ग वास्तविक नभएर सिनेमाको प्रसङ्ग हो । सिनेमाको नाम हो ‘नाइन ओ क्लक’ अर्थात् नौ बजे । सिनेमाको पर्दामा नायक–नायिकाबीच रोमान्स त हुनैपर्छ नि । यो कुरामा सहमति जनाउँदै यसका निर्माता रमेश संवेदनाले थपे, यो चलचित्र रोमान्टिक चलचित्र हो । रोमान्टिक मुड लिएर ‘नाइन ओ क्लक हेर्न आउने सबै दर्शक रोमान्टिक भएर नै फर्कनु हुनेछ ।’
फागुन ११ गतेदेखि देशभर एकसाथ लाग्ने यो चलचित्रमा आफूले नयाँ जोडी जन्माएको कुरा निर्देशक बाबुराम ढकालले बताए । ‘लन्डनका धु्रव र नेपालकी सुमिनाको जोडीलाई विश्वभर छरिएर रहेका नेपालीमाझ पुर्‍याउनेछौँ हामी,’ उनले भने । मलेसिया, कतार, हङकङ, बेलायत र अमेरिकालगायतका मुलुकमा पुग्ने यो चलचित्रमा करिश्मा मानन्धर र मुकेश आचार्य पनि छन् । यसै साता गीत सार्वजनिक भएको नाइन ओ क्लक अर्थात् नौ बजे चलचित्रको क्यासेट विमोचन समारोहमा यसका केही दृश्य हेरेपछि सबैले भने– धु्रव र सुमिनाको जोडीले बाजी मार्लाजस्तो छ । नायक धु्रव दत्तले लन्डनबाटै भने, ‘कार्यक्रममा आउन नपाए तापनि सम्पूर्ण दशर्कलाई माया र सञ्चारकर्मीलाई धन्यवाद ।’