तस्करीमा यात्रुबसको प्रयोग, ठगहरू प्रहरी नियन्त्रणमा

तस्करीमा यात्रुबसको प्रयोग, ठगहरू प्रहरी नियन्त्रणमा


दिल्ली–काठमाडौं चल्ने ना.६ ख ६३०२ नम्बरको टुरिष्ट बसबाट प्रहरीले ३० लाख रुपैयाँ भन्दा बढीको कुर्था सुरुवाल, प्रेशर कुकर, छालाको पर्स, बेल्टहरु सहित बसका चालक बारा निजगढ नगरपालिका–३ घर भएका ३४ बर्षीय रामबहादुर थोकरलाई पक्राउ गरेको छ । उक्त बसले अवैध सामानहरु लुकाईछिपाई राजस्व छली नागढुङ्गा हुँदै काठमाडौँ आउँदै गरेको सूचना प्राप्त भएपछि प्रहरीले नागढुङ्गा चेकपोष्टमा चेक गर्दा बसको हुट, बडीको तल–माथि तथा दायाँ–बायाँ फल्स बटम बनाई पोका–पोकामा लुकाई छिपाई राखेको अवस्थामा उक्त सामानहरु फेला परेको थियो ।

बरामद सामान, सवारी साधन, पक्राउ परेका व्यक्तिलाई प्रहरीले आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन (ललितपुर) पठाएको छ ।

यसैगरी, विभिन्न व्यक्तिहरुलाई सुरक्षा निकायमा जागिर लगाई दिने र विभिन्न देशमा पठाई दिन्छु भनी ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लम्जुङ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–११ बस्ने २८ बर्षीय मोहन दुरा, लम्जुङ घर भई काठमाडौँ मनमैजु बस्ने ४७ बर्षीय पशुपति अधिकारी, तनहुँ व्यास नगरपालिका–११ घर भएका ४० बर्षीया यमुना खड्का र कास्की रुपा गाउँपालिका घर भई बनस्थली बस्ने ३९ बर्षीय रमेश कुमाल रहेका छन् ।

उनीहरुले राष्ट्रिय अनुसन्धान विभागमा सिपाहीको लागि प्रतिव्यक्ति २ लाख, नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्टको लागि ७ लाख, शान्ति सेनामा पठाउने भनी प्रति व्यक्ति २ लाख तथा पोल्याण्ड लगायतका देश पठाईदिने भनी १ लाख ५० हजारको दरले करीव १ करोड १५ लाख उठाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

ठगी गर्ने क्रममा मोहन दुराले आफुलाई नेपाली सेनाको जमदार तथा बहालवाल जर्नेलको पिए हुँ भनी बताउने गरेको तथा यमुना खड्काले आफुलाई राष्ट्रिय अनुसन्धान विभागको एआईजीको श्रीमती हुँ भनी चिनाउने गरेको समेत प्रहरीले जानकारी दिएको छ ।

यस्तै, नक्कली परिचयपत्र तथा प्रमाणपत्र बनाउने किर्तिपुर नगरपालिका–९ नयाँ बजार स्थित दुर्क कम्प्युटर सिस्टम सेन्टरका संचालक दुर्कमान महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त सेन्टरमा गैरकानूनी रुपमा नक्कली परिचय पत्र तथा प्रमाण पत्र बनाउने गरेको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी परिसर तथा प्रहरी बृत्त कर्तिपुरबाट खटिएको प्रहरी टोलीले महर्जनलाई शंकास्पद कागजात तथा कार्डहरु एवं कार्ड बनाउने इलेक्ट्रोनिक्स सामाग्री सहित पक्राउ गरेको थियो ।