चीनबाट फर्कियो प्रज्ञा-प्रतिष्ठानको प्रतिनिधि मण्डल

चीनबाट फर्कियो प्रज्ञा-प्रतिष्ठानको प्रतिनिधि मण्डल


साहित्य तथा कलासम्बन्धी चीनको प्रसिद्ध संस्था चाइना फेडरेसन अफ लिटरेचर एन्ड आर्ट सर्कल (सिफ्लेक्स)को निमन्त्रणामा कुलपति गङ्गाप्रसाद उप्रेतीको नेतृत्वमा चैत ११ गते चीन गएको प्रज्ञाको ७ सदस्यीय प्रतिनिधि मण्डल एक साता लामो चीनको सद्भावना भ्रमण पूरा गरी काठमाडौँ फर्किएको छ ।

साहित्यिक एवम् सांस्कृतिक आदान–प्रदान गर्ने सम्झौता अनुसार चीनको उक्त संस्थाले प्रज्ञा–प्रतिष्ठानलाई सद्भावना भ्रमणका लागि निमन्त्रणा गरेको थियो । सोही अनुसार चीन गएको प्रज्ञाको प्रतिनिधि मण्डल र चिनियाँ लेखक–कलाकारबिच दुबै देशका भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्रसँग सम्बन्धित विभिन्न विधाको विकास के–कसरी गर्न सकिन्छ भन्ने विषयमा विमर्श भएको कुलपति गंगाप्रसाद उप्रेतीले बताए । कुलपति उप्रेतीका अनुसार दुबै देशका प्रमुख साहित्यिक कृतिहरू एकअर्काका भाषामा अनुवाद गरी प्रकाशन गर्नेबारे सहमतिसमेत भएको छ ।

प्रतिनिधि मण्डलले चीनको सांस्कृतिक महत्वका स्थानहरू बेइजिङस्थित राष्ट्रिय सङ्ग्रहालय, समर प्यालेस, साङ्घाईमा अवस्थित विश्वकै तेस्रो ठुलो टिभी टावर, लु सुन सङ्ग्रहालय र चिनियाँ कम्युनिष्ट पार्टीको प्रथम महाधिवेशन सम्पन्न भएको ऐतिहासिक स्थानको अवलोकन गरेको थियो । यसका साथै हाङ्जाउको राष्ट्रिय रेसम सङ्ग्रहालय, सांस्कृतिक दृष्टिले महत्वपूर्ण उचन प्रान्तको प्राचीन शैलीको गाउँ र अन्य महत्वपूर्ण स्थानहरूको अवलोकन भ्रमण गरिएको प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले बताए ।

भ्रमणका अवसरमा वन्चाउस्थित दक्षिणपश्चिम चीनको चेचेन प्रान्तको सिफ्लेक्स तथा चिनिया लेखक सङ्घका वरिष्ठ सदस्यसँग अन्तक्र्रिया भएको थियो । सो अवसरमा चेचेनको अनलाइन राइटर्स एसोसियसनका पदाधिकारी, लेखक एवम् कलाकारहरूबिच भएको अन्तर्कि्रया कार्यक्रम निकै उपलब्धिमूलक भएको उनले जानकारी गराए । उनले भने, ‘अहिले चीनमा अनलाइन साहित्यको बजार निकै प्रभावकारी रूपमा फस्टाइरहेको रहेछ । यसबाट हामीले पनि धेरै कुरा सिक्नु पर्ने हामीले महसुस गरेका छौँ ।’

प्रतिनिधि मण्डलमा कुलपति उप्रेती, सदस्य सचिव प्रा.डा. गिरी, प्राज्ञ प्रा. दिनेशराज पन्त, प्राज्ञ डा. अमर गिरी, प्राज्ञ श्रवण मुकारुङ, प्राज्ञ नर्मदेश्वरी सत्याल र प्रशासन उपप्रमुख विश्वास घिमिरे संलग्न रहेका थिए ।