गोरखास्थित भीमसेन गाउँपालिकाको कार्यालय दुई स्थानमा

गोरखास्थित भीमसेन गाउँपालिकाको कार्यालय दुई स्थानमा


छविलाल बगाले
केन्द्र विवाद उत्कर्षमा पुग्दा गोरखाको भीमसेन गाउँपालिकाको कार्यालय बगुवा र घ्याम्पेशालमा स्थापना गरिएको छ । बगुवामा रहेको कार्यालय गाउँपालिकाका प्रमुखले ध्याम्पेशाल सारेपछि बगुवाका स्थानीय ५१ दिनदेखि रिले अनशनमा छन् ।

स्थानीय तह घोषणा भए लगत्तै गोरखाको भीमसेन गाउँपालिकाको कार्यालय बगुवामा स्थापना गरिएको थियो । तर, बगुवास्थित कार्यालय यतिबेला भने प्रमुखबिहीन छ । स्थानीय तहको निर्वाचनमा बगुवालाई नै केन्द्र बनाउने भन्दै मत मागेका नेपाली कांग्रेसका ईश्वर पाण्डेले अध्यक्ष निर्वाचित भएपछि भने बहुमतको आडमा घ्याम्पेशालमा अर्को कार्यालय स्थापना गरे ।

पाण्डेले कीर्ते कागजात तयार पारेर तत्कालीन शेरबहादुर देउवाको मन्त्रिपरिषद्बाट केन्द्र परिवर्तन गराएको आरोप लगाउने बगुवाबासी केन्द्र आफ्नै ठाउँमा हुनुपर्ने भन्दै आन्दोलनमा छन् । केन्द्र कायम नभएसम्म आन्दोलन नरोक्ने उनीहरुको चेतावनी छ । गाउँपालिका केन्द्र बगुवा नै कायम हुनुपर्ने भन्दै वडा नं ५ का अध्यक्ष प्रेमचन्द्र श्रेष्ठको अध्यक्षतामा संघर्ष समिति निर्माण गरिएको छ । संघर्ष समिति विगत ५१ दिनदेखि रिले अनशनमा बसेको छ ।

कानूनतः दुई तिहाई बहुमतको निर्णयका आधारमा गाउँपालिकाको केन्द्र परिवर्तन गर्न सकिन्छ । तर, अध्यक्ष पाण्डेले गाउँकार्यपालिकाका सदस्यलाई समेत जानकारी नदिई राजनीतिक स्वार्थका आधारमा सुटुक्क केन्द्र सारेको स्थानीयको आरोप छ । ‘हामीलाई झ्क्याएर गाउँपालिकाको केन्द्र सार्ने निर्णय गरियो ।’ उनले भने, ‘राजनैतिक प्रतिसोध साँधेर गरेको निर्णय हामी बगुवाबासीलाई मान्य हुँदैन् ।’

पाण्डेले दुल्लभ क्याम्पस भवनको एक कोठामा गाउँपालिकाको कार्यालय स्थापना गरेका छन् । विवाद बढ्दै जाँदा बगुवा र ध्याम्पेसाल पक्षीबीच भएको झडपमा ३ जना घाइते भएका छन् । गाउँपालिकाको निर्णय पुस्तिका च्यातिएको छ । बगुवाका राजनीतिक दल र स्थानीयले सर्बोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् । केन्द्र विवादकै कारण नियमित प्रशासनिक काम रोकिएको छ भने विकासका योजनासमेत अलपत्र पर्दा २८ करोड रुपैयाँ ‘फ्रिज’ हुने हो कि भन्नेमा भीमसेनबासी चिन्तित छन् ।