पाकिस्तानी दूतावासद्वारा ‘अभियन्ता’लाई भिसा दिन अस्वीकार

पाकिस्तानी दूतावासद्वारा ‘अभियन्ता’लाई भिसा दिन अस्वीकार


साउदीअरबको जेलमा बन्दी जीवन बिताइरहेका धनुषा कमलामाई नगरपालिकाका उमेश यादवको रिहाइका लागि पहल गरिरहेका सामाजिक अभियन्ता सरोज राय पाकिस्तान जानबाट वञ्चित भएका छन् ।

साउदीमा काम गर्दैगर्दा एक पाकिस्तानी नागरिकको हत्याको अभियोगमा पक्राउ गरेका यादवको रिहाइका लागि मृतक पाकिस्तानी नागरिकका परिवारसँग ब्लड मनिको विषयमा कुरा गर्न पाकिस्तान जान लागेका रायलाई नेपालस्थित पाकिस्तानी दूतावासले भिसा उपलब्ध नगराउँदा उनी पाकिस्तान जान वञ्चित भएका हुन् ।

रायलाई भिसा दिन काठमाडौंस्थित पाकिस्तानी दूतावासले अनेक झमेला गर्दै भिसा उपलब्ध गराउन चासो लिएको छैन । दूतावासले सुरूमा भिसाका लागि आवश्यक कागज पत्र परराष्ट्र मन्त्रालयबाट झिकाउन भने पनि त्यसपछि अनेक बहाना बनाउँदै भिसा दिन अस्वीकार गरेको बताइन्छ ।

यसैबीच बन्दी जीवन बिताइरहेका यादवको रिहाइका लागि रायलाई पाकिस्तानका अन्य सामाजिक अभियन्ताहरूले सहयोग गर्ने बचन दिएको रायले बताए ।