सर्जक सरिताको ‘पुरुष’ सार्वजनिक

सर्जक सरिताको ‘पुरुष’ सार्वजनिक


सञ्चारकर्मी, सामाजिक अभियन्ता एवम् लेखक सरिता अर्यालद्वारा सृजित कथासंग्रह ‘पुरुष’को विमोचन गरिएको छ । विभिन्न १६ अध्यायमा लेखिएको कथाकार अर्यालको दोस्रो पुस्तक कृति ‘पुरुष’को शनिबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमबीच विमोचन गरिएको हो ।

माओवादी केन्द्रका प्रवक्ता एवम् सांसद पम्फा भुषाल, राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिना, कवयत्री कुन्ता शर्मा र सर्जक स्वयमले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तक विमोचन समारोहमा ‘पुरुष’माथि टिप्पणी गर्दै आयुक्त तिम्सिनाले कथामा लेखिकाले आफ्नै वरिपरि आफैले देखेका पात्रका कथालाई सिलसिलाबद्ध रुपमा पस्केको उल्लेख गर्दै पुरुषमाथि भइरहेका घटनालाई यथार्थ रुपमा उतारेको बताइन् भने समीक्षक महेश पौड्यालले कथामा महिला पुरुषबीच हुने प्रेम, बिछोड, पुरुषद्वारा प्रताडित महिलाका कथा व्यथा समेटिएको बताए । लेखकले समाजमा घटिरहेका घटनालाई यथार्थपरक ढंगले प्रस्तुत गरेको उनको टिप्पणी थियो ।

पुस्तकबारे मन्तव्य दिँदै कथाकार अर्यालले यौन मनोविश्लेषणात्मक एवम् यथार्थपरक घटनालाई ‘पुरुष’मा प्रस्तुत गरिएको बताए । पुरुषको विरोधका लागि पुस्तकको नाम ‘पुरुष’ नराखिएको प्रष्ट्याउँदै उनले समाजमा घरघरमा पुरुषका कारण भएको अवस्थाको बारेमा पुस्तकमा चित्रण गरिएको जानकारी दिए ।

वैदेशिक रोजगारमा पुरुष जाँदा हुने घरको अवस्था तथा लैङ्गिक विभेदका बारेमा लेखिकाले पुस्तकमा प्रकाश पार्न खोजेकी छन् ।