आचार्य श्रीनिवासमाथि आक्रमणको आशंकामा दुई व्यक्ति पक्राउ

आचार्य श्रीनिवासमाथि आक्रमणको आशंकामा दुई व्यक्ति पक्राउ


बालसन्तका रुपमा चिनिने श्रीनिवास आचार्यलाई गोली प्रहार गरेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१४ बाट पक्राउमा परेका ती दुईसँग सोधपुछ भइरहेकाले नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक अरुणकुमार विसीका अनुसार आचार्यमाथि गोली प्रहार भएलगत्तै मोरङमा प्रहरीले खोज अभियानलाई तीव्रता दिएको थियो । विराटनगर–१४ स्थित जतुवामा गए राति १ः४५ बजे शौचका लागि कोठाबाट बाहिर निस्कनासाथ आचार्यमाथि गोली प्रहार भएको थियो ।

दाहिने कुममा गोली लागेको उहाँको विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उहाँ खतरामुक्त रहनुभएको बताइएको छ । घटनास्थलमा मङ्गोल अर्गनाइजेशनको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

सुनसरीको चकरघट्टीस्थित लक्ष्मी बैंकटेश मन्दिरका ५० वर्षीय आचार्य आजदेखि विराटनगर–१४ स्थित रामजानकी मन्दिरमा श्रीमद्भागवत पुराण वाचनका लागि आउनुभएको थियो ।