सरसफाई अभियानका अभियन्ता युवाले थापे डस्टबिन

सरसफाई अभियानका अभियन्ता युवाले थापे डस्टबिन


सप्तरी सदरमुकाम राजविराजमा युवाहरुले शुरु गरेको सरसफाई अभियानले शनिवार ८१ हप्ता पूरा गरेको छ । ८१औं हप्ताको अवसरमा सरसफाईसम्बन्धी चेतना जगाउँदै स्थानीइ युवाहरुले बजारको ठाउँठाउँमा फोहोर फ्याँक्ने डस्टबिन राखेका छन् ।

धेरै फोहोर रहने ठाउँमा डस्टबिन राखिएको छ । डस्टबिन राख्न स्थानीयहरुले पनि सहयोग गरेका छन् । राजविराजको गजेन्द्र चोकदेखि पश्चिम अदालत रोडसम्म ११ वटा डस्टबिन राखिएको छ ।

यो लाइनमा कपडा र कागजको फोहोर अत्यधिक हुने गरेकाले पहिलो चरणरमा यी ठाउँमा डस्टबिन राखिएको सप्तरी युथ नेपालले जनाएको छ ।

नगरपालिकाकै बासिन्दाहरुको सहयोगमा प्राप्त भएको डस्टबिन उनीहरुको नामै लेखेर राखिएको सप्तरी युथ नेपालका जयकृष्ण यादवले बताए । फोहोर हुन नदिन र आफ्नो अगाडिमा कुनै फोहोर नफ्याँक्न यसअघि ७९ औं हप्ताको सरसफाईमा जनचेतना जगाइएको थियो । त्यस क्रममा स्थानीयहरुले आफ्नै घर अगाडि डस्टबिन राख्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

उनीहरुकै सहयोगमा डस्टबिन राखिएको र उनीहरुले रेखदेख पनि स्वयं गरी त्यसमा फोहोर फाल्न सहमत भएको सप्तरी युथका अर्का सदस्य जकाउल्लाहले बताए । सरसफाई तपाईंको हातमा हामी युवा तपाईंको साथमा नाराका साथ सप्तरी युथ नेपालद्धारा सरसफाई अभियानको प्रारम्भ गरिएको छ ।