धम्क्याएर चन्दा असुल्ने प्रहरी नियन्त्रणमा

धम्क्याएर चन्दा असुल्ने प्रहरी नियन्त्रणमा


पोखरा र आसपासका क्षेत्रमा धम्की दिई चन्दा असुली गर्ने तीन जनालाई आइतबार कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका–१२ बस्ने ३४ वर्षीय ललित गुरुङ, सोही वडाको शितलादेवी बस्ने २६ वर्षीय दीपेन्द्र परियार र पोखरा लेखनाथ महानगरपालिका–५ बस्ने २५ वर्षीय संगम थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कास्कीको सुरक्षा अवस्थालाई मजबुत बनाउने उद्देश्यले एस्पी अशोक सिंहको तदारुकतामा शुरु गरिएको १५ बुँदे कार्ययोजनाअन्तर्गत छड्के जाँचका क्रममा उनीलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

विभिन्न व्यक्ति तथा व्यवसायीलाई धाकधम्की दिई चन्दा असुलीको आरोपमा पक्राउ परेका तीनैजनालाई म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

यसैबीच स्वीप अप्रेशनमा खटिएको कास्की प्रहरीले पोखरा लेखनाथ महानगरपालिका १७ ड्यामसाइडस्थित फ्लोरिडा गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा जुवाडेहरुलाई नियन्त्रणमा लिएको छ । भोजेन्द्र तामाङले संचालन गरेको सो गेष्टहाउसबाट ५२ हजारभन्दा बढि नगदसहित नियन्त्रणमा लिइएका व्यक्तिहरुमा डयामसाइड बस्ने वर्ष ४० को भोगेन्द्र तामाङ, वर्ष ४३ को नरेश गुरुङ, वर्ष ४३ को राजकुमार गुरुङ, घारीपाटन बस्ने वर्ष २९ को राजकुमार श्रेष्ठ, हिमालीटोल बस्ने वर्ष ३८ को दिपक गुरुङ, वर्ष ३१ को सुन्दर गुरुङ, डयामसाइड बस्ने वर्ष ३९ को अजय गौचन र वैदाम बस्ने वर्ष ४० का दिपक भट्टचन रहेका प्रहरीले जनाएको छ ।