बौँदीकाली सुस्तापूर्वमा सूचनाको हकबारे प्रशिक्षण

बौँदीकाली सुस्तापूर्वमा सूचनाको हकबारे प्रशिक्षण


प्रस्तावित नवलपुर जिल्लाको बौँदीकाली गाउँपालिका (सुस्तापूर्व)ले सूचनाको हकसम्बन्धी तालिम गत शनिबार सम्पन्न गरेको छ । आफ्नो गाउँपालिकामा रहेका जनप्रतिनिधि र कर्मचारीलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिम दुई दिनसम्म चलेको थियो ।

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गाबहादुर रानाले तालिम अवधिमा सिकेका कुराहरू सबैले व्यवहारमा उतार्ने हो भने हरेक गाउँपालिका नमुनायोग्य बन्न सक्ने बताए । गाउँपालिका उपाध्यक्ष मायादेवी श्रेष्ठले चाहिँ निकट भविष्यमा आफ्नो गाउँपालिककाका सबै वडामा आरटीआई कार्यक्रम आयोजना गरिने प्रतिबद्धता जनाउँदै तालिम अत्यन्तै अविष्मरणीय रहेको बताइन् ।

यसैगरी आफ्नो भनाई राख्दै जिल्ला समन्वय समिति सदस्य लक्ष्मीकान्त पाण्डेले सूचनाको हकबारे आफुले सुनेको तर यसभन्दा अगाडि गहिरिएर नबुझेको खुलासा गर्दै यसलाई जिल्लाभर सञ्चालन गर्न लागिपर्ने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले सुशासन प्रबद्र्धनका लागि सूचना लिने र दिने बानीको विकास गर्न सबैलाई आग्रह गर्दै सहभागी तथा आयोजक संस्थालाई धन्यवाद दिएका थिए ।

प्रस्तावित नयाँ जिल्ला नवलपुरमा आठवटा स्थानीय तह भए पनि सबैभन्दा पहिला सूचनाको हकसम्बन्धी तालिम सञ्चालन गर्नेमा बौँदीकाली गाउँपालिका रहेको बुझिएको छ । तालिममा बोल्ने, सुन्ने र हेर्ने मात्र नभई सूचना अधिकारी तोक्नुको अलावा सूचना मागको निवेदन दर्ता गराउने कार्यसमेत शुरुवात गरिएको छ । सो गाउँपालिकाले सूचना अधिकारीको रूपमा मिलन श्रेष्ठ र वडाहरूमा सम्बन्धित सचिवलाई सूचना अधिकारी तोकेको छ ।

यसैगरी तालिमका सहभागीमध्ये टोलनाथ कँडेल, बालप्रसाद ठाडा, मनबहादुर सारु, कुलसिंह राना र नेमबहादुर थापाले सूचनाको हकलाई प्रयोग गरी सूचना मागको निवेदन गाउँपालिकाको कार्यालयमा दर्ता गराएका छन् । माथि उल्लेखित व्यक्तिहरूले नागरिकका हैसियतमा सूचना माग गरेपनि उनीहरू निर्वाचित वडा अध्यक्ष हुन् ।

गाउँपलिकाको सहयोग र ग्रामीण सामुदायिक विकास केन्द्र बुलिङटारकोे आयोजनामा सम्पन्न उक्त तालिमलाई सूचनाको हकका अभियन्ता तथा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा प्रशिक्षक भुसाल र आयोजक संस्थाका अध्यक्ष पदमराज गिरिलाई गाउँपालिकाको तर्फबाट सम्मान गरिएको थियो ।
सदरमुकाम कावासोतीबाट कठिन कच्ची सडक हुँदै पुगिने बौँदीकाली गाउँपालिकामा विशेष गरी टेलिफोन र इन्टरनेटको समस्या रहेको छ ।