यिनी हुन् चन्द्रप्रकाश गौतम । तर, यिनको साहित्यिक नाम भने सीपी गौतम हो । करिब ६ वर्ष नेपाली सेनामा आबद्ध यिनी ०५८ सालदेखि भने सशस्त्र प्रहरी सेवामा कार्यरत छन्् र सगरमाथा अञ्चलको जिम्मेवारी सम्हालेर हाल सप्तरीमा रहेका एसपी गौतमसँग अहिले भने एक कुशल गीतकारको रूपमा कुराकानी गरिएको छ ।
० तपार्इं प्रहरी सेवामा हुनुहुन्छ । गीत लेख्दा मेवा भने कतिको मिल्छ नि ?
– मैले मेवा पाइन्छ भनेर गीत लेखेको होइन । गीतलेखन मेरो भावना व्यक्त गर्ने माध्यम हो ।
० लेखन विधातर्फ कसरी आकर्षित हुनुभयो नि ?
– ०४० सालमा अन्तरमाध्यमिक राष्ट्रिय निबन्ध प्रतियोगितामा दोस्रो भएपछि लेखन विधातर्फ उत्साह मिलेको हो ।
० विन्ध्यवासिनी म्युजिक अवार्ड पनि पाउनुभयो, होइन ?
– हो, मेरो लेखन रहेको र अञ्जु पन्तको आवाज रहेको ‘पोखरी बन्यो हेर आँसु बगेर मेरो’ बोलको गीतबाट मैले यो वर्ष सर्वोत्कृष्ट गीतकारको अवार्ड जितेँ ।
० भनिन्छ प्रहरीहरू कठोर हुन्छन् तर तपाईं त सेन्टिमेन्टल गीत अनि गजहरू लेख्नुहुन्छ नि ?
– कठोर हुन्छन् भन्ने भनाइ मात्र हो । कठोर वा नरम त परिस्थितिले पार्ने हो ।
तर, मैले सेन्टिमेन्टल गीत लेख्दा अरूको भावना बुझेजस्तो लाग्छ ।
० गीतचाहिँ कस्तो अवस्थामा फुर्छ नि ?
– यसको कुनै समय, बार वा गते र अवस्था हुँदैन रहेछ । कुनै कुराले प्रभाव पार्नासाथ पनि गीत लेख्न सकिन्छ । तर, म पहिले आफ्नो ‘ड्युटी’लाई प्राथमिकता दिन्छु । त्यसपछि मात्र गीतलेखनतिर लाग्छु ।
० तपाईंको जीवनमा प्रभाव पार्न सक्ने कुनै गीतकारहरू… ?
– हुनुहुन्छ, म रत्नशमशेर थापा, यादव खरेल र डा. कृष्णहरि बरालको गीतकारबाट ज्यादै प्रभावित छु ।
० कुनै राम्री युवतीलाई देख्दा पनि गीत कोर्नुभएको छ कि ?
– अहिलेसम्म त छैन । पछि के हुन्छ थाहा छैन ।
० कुनै युवतीलाई देख्दा पहिले उसको के कुराले आकर्षित गर्छ ?
– प्रहरी भएर पनि होला पहिले त केटीको ‘चालढाल’ नै हेर्छु ।
० तपार्इं काठमाडौंबाहिर हुनुहुन्छ । तर, भनिन्छ नि प्रतिभालाई सही मौका दिने काठमाडौं राम्रो ठाउँ हो । तपाईंलाई कस्तो लाग्छ ?
– यो कुरा म मान्दिनँ । प्रतिभा, कला र क्षमतालाई कुनै क्षेत्र वा वर्गले छेक्न सक्दैन । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै अब प्रतिभा र क्षमतावान्हरू जहाँबाट पनि राष्ट्रियस्तरमा पुग्न सक्ने अवस्था आएको छ ।
दुई केसीको चर्तिकला
चलचित्र एटीएम रिलिज हुनुअगाडि जिया केसी आफ्ना साथीभाइलाई भन्ने गर्थिन्, ‘यो सिनेमा रिलिज त होस्, म रेखा थापाभन्दा माथि हुन्छु ।’
अन्तत: जियाले भनेजस्तै एटीएम रिलिज पनि भयो, तर उनले भनेको अर्को कुरा भने भएन– रेखा थापाभन्दा माथि उठ््न सकिनन् उनी । सिनेमा क्षेत्रमा नै इतिहास रहने गरी अश्लील र भद्दा उपाधि पाएर रेखाभन्दा माथि होइन बचेको थोरै इज्जत पनि माटोमा मिल्यो उनको । सार्वजनिक कार्यक्रमतिर जाँदा कसैले औँला उठाउला भन्ने ठानेर चौबीसै घन्टा ‘माक्स’ लगाएर हिँड्न बाध्य भइन् उनी । जियाले त्यतिबेला सोचिनन् कि रेखा थापा आज जुन स्थानमा छिन् त्यो स्थानमा पुग्न रेखाले कुनै अश्लील सिनेमा खेलेकी थिइनन् न त उनले अभिनय गरेका कुनै चलचित्र अहिलेसम्म सरकारले नै ब्यान्ड गरेको छ ।
यसरी आफूले ठूलै आश गरेको चलचित्रले जीवनभर नमेटिने दाग लगाएपछि विक्षिप्त भएकी झापाकी पहिलेकी जानकी र अहिलेकी जियालाई एकजना हिरोको साथभन्दा पनि अङ्गालो मिलेको छ । ती हिरो पनि कम चल्दापुर्जा र केटीक्रेजी छैनन्, उनी हुन्– भुवन केसी । यतिबेला दुवै केसीको चर्तिकलाले चलचित्र बजार निकै गर्माइरहेको छ ।
सिनेमाको सुटिङ र सिनेमाको अफिसतिर भन्दा पनि मैतीदेवीमा डेरा बस्ने जियाको बास आजभोलि एयरपोर्टमा रहेको भुवन केसीको घरमा ढुक्कैका साथ हुने गरेको कुरा जानकारहरूले बताउन थालेका छन् ।
कुनै रेस्टुरेन्ट होस् या दोहोरीसाँझ भुवन र जिया अङ्गालोमा बाँधिएर बसेका दृश्यहरू त अहिले छ्यापछ्याप्ती नै भइसकेका छन् । गत हप्ता मात्र दरबारमार्गमा हालै खोलिएको जुनकिरी दोहोरीसाँझमा रातको १ बजेसम्म भुवन र जियालाई भेट्नेहरूको आँखामा त्यो दृश्य अझै ताजै छ । त्यसो त भुवनलाई साथीभाइले भुवन के गरेको यस्तो ? भनेर सम्झाउन खोज्दा उल्टै भुवन यसो भन्ने गर्छन्, ‘ऊ पनि केसी म पनि केसी । एउटा केसीले अर्को केसीलाई सपोर्ट गर्नुपर्दैन ? उसलाई म सपोर्ट गरिरहेको छु ।’ तर, भुवनलाई सम्झाउन खोज्नेले एउटा कुरा बुझेनन् कि सपोर्ट गर्न रेस्टुरेन्ट वा दोहोरीमा किन जानुपर्छ ?
हेर्दा राम्रा, चकलेटी अनि निरन्तर रूपमा नेपाली सिनेमा नै भनेर बसेका समर्पित भावना बोकेका नायक भुवन केसी युवतीको मामिलामा भने बढी नै समर्पित भइदिनाले उनी यसरी बारम्बार विवादमा पर्ने गरेका छन् । त्यसमाथि पनि असल, नाम अनि सान भएकी युवती भए पनि ठीकै हुन्थ्यो, तर बारम्बार विभिन्न पुरुषहरूसँगको सम्बन्धका कारण चर्चामा आउने जिया केसीजस्तीको नामसँग भुवनजस्ता ‘एवन’ हिरोको नाम मुछिनु हाम्रा लागि पनि नाक खुम्च्याउने अवस्था सिर्जना हुनु हो । यो कुराको भुवनजीलाई चेतना भया ।
अमेरिकाबाटै धोका
अमेरिका पठाउन श्याम भट्टराईले आफ्नी पत्नी रञ्जना शर्मालाई के–के गरेनन् । साथीभाइसँग ऋण लिएर लाखौँ खर्च गरेर रञ्जनालाई अमेरिका पठाएका श्याम यतिबेला टाउकोमा हात राख्न बाध्य छन् । रञ्जना उता पैसा कमाइरहेकी छिन् तर श्यामलाई भने नेपालमा साहुहरूले ताकेता गरिरहेका छन् । अब त रञ्जना फर्किलिन् र ऋण तिरौँला भन्ने आशा पनि श्यामले मारिसके । यसै साता एक कार्यक्रममा भेट्दा निकै भावुक भएर श्यामले भने, ‘अब त हुँदाहुँदा फेसबुकबाट पनि मलाई हटाइछे रञ्जनाले । अब म ढुक्क भएँ कि उसले मलाई धोका दिई ।’
उता रञ्जनाले फेसबुकको फ्रेन्डलिस्टबाट आफूलाई हटाए तापनि नेपालमा रहेका आफ्ना साथीहरूको सहयोगबाट बनाएको चलचित्र ‘लङ्का’ले राम्रो व्यवसाय गरेपछि भने श्यामलाई ऊर्जा पनि मिलेको छ । उनी अहिले आफ्नो परिवारले भनेको कुरा सम्झन थालेका छन्, ‘पानी मूलको र केटी कुलको हेर्नु । पे्रम साँच्चै अन्धो हुँदोरहेछ । त्यही अन्धोले गर्दा म डुबेँ ।’
यसो हुँदा पनि श्यामले रञ्जनालाई बिर्सन भने सकेका रहेनछन् । अमेरिकाबाट नेपाल आउने व्यक्तिलाई रञ्जनाको बारेमा सोधखोज गर्न उनले छाडेका छैनन् । ‘तर, विभिन्न व्यक्तिहरूले विभिन्न कुराहरू सुनाउँदा भने दिक्क लागेर आउँछ,’ उनी थप्छन्, ‘सँगै केही समय बसेको कुकुरलाई त बिर्सन सकिन्न भने ऊ त मेरी जीवनसङ्गिनी थिई । उसलाई कसरी बिर्सन सकिन्छ र ? याद त आइहाल्छ नि ।’
अब भने श्याम नयाँ घरजम गर्ने हो कि भनेर सोच्न पनि थालेका छन् । ‘अमेरिकाबाट मलाई सदाका लागि बिर्सेको हो भने म पनि यताबाट सदाका लागि बिर्सन तयार छु,’ उनको ठोस निर्णय छ ।
प्रतिक्रिया