म सबैकी हुँ-राजन घिमिरे

म सबैकी हुँ-राजन घिमिरे


यिनी हुन् युना उप्रेती । पहिले यिनको नाम थियो यमुना । आफूले बे्रक दिएका सबै नायिकाको नाम फेरिदिने निर्देशक दीपक श्रेष्ठले यिनको पनि नाम फेरिदिए र राखिदिए युना । पहिलेकी यमुना र अहिलेकी युना यतिबेला नेपाली सिनेमा क्षेत्रमा निकै व्यस्त छिन् । यिनै नायिकासँग गरिएको रमाइलो कुराकानी :
० यमुना भन्ने कि युना भनी सम्बोधन गर्ने त ?
– अब त युना नै भनौँ ।
० यमुनाभन्दा लाज लाग्छ कि क्या हो ?
– त्यस्तो होइन, म अहिले युनाले नै चिनिन्छु ।
० घरतिर त अझै यमुना नै होला नि होइन र ?
– कुरा त्यस्तो होइन । अब पहिलेको कुरातिर किन जानु र ।
० निर्देशक दीपक श्रेष्ठको क्याम्प छाडेपछि युना चलचित्रतिर व्यस्त हुन थालिन् भन्छन् नि –
– यसरी विवादमा ल्याउने कुरा नगरौँ । उहाँले मलाई सिनेमामा बे्रक दिनुभएको हो । उहाँलाई म बिर्सन सक्छु र भन्या । अनि अर्को कुरा म कसैको गुट र प्यानलकी नायिका होइन । म स्वतन्त्र नायिका हुँ । जसले अफर गरे पनि तयार छु फिल्म खेल्न । तर कथा चित्त बुझनुपर्‍यो ।
० युनालाई साहै्र रिस उठ्ने कुरा ?
– मेरो कुरा काटेर हास्नेहरूदेखि ।
० झट्ट हेर्दा यो पुरुषसँग डेटिङ जान पाए हुन्थ्यो जस्तो कोही पुरुष छ त्यस्तो ?
– त्यस्तो पुरुषको आकृति मनमा नै छ । किन व्यक्त गर्नु ?
० साहै् दिक्क लाग्ने क्षण ?
– चलचित्र अभिनय गरेर पनि पारिश्रमिक नपाउँदा ।
० हिरोइनहरूबीच किन खुट्टा तानातान छ नि यहाँ ?
– यो कुरामा अचम्मै लाग्छ । सानो चलचित्र बजारमा ठूलो र बृहत् ‘इगो’ छ धेरैमा ।
० युनाको शत्रु नायिकाचाहिँ को हो नि ?
– यहाँ सबै मभन्दा सिनियर छन् । त्यसैले कोही छैन मेरो शत्रु । म त भर्खर आएकी नयाँ नायिका हुँ ।
० युनाका लागि पारिश्रमिक ठूलो कि भूमिका ?
– यो कुरा समयमा भर पर्छ । कुनै समय राम्रो भूमिकाको अफर आएमा पारिश्रमिकमा पनि सम्झौता गर्नुपर्दछ भने रोल झुर भएमा पारिश्रमिक पनि ठूलो हुन्छ कुनै बेला ।
० कुन प्रश्नचाहिँ नसोधे हुन्थ्यो जस्तोलाग्छ ?
– सबैले सेक्सको प्रश्न सोध्छन्, तपाईंचाहिँ नसोध्नुस् है ।

निखिल मोनिकाको अङ्गालोमा-सञ्चिता हिस्स
एउटी विवादास्पद भारतीय अभिनेत्री शनिबार काठमाडौं झरेकी छिन् । शनिबार काठमाडौं झरेर उनी आइतबार पोखरातिर लागिन् भारतीय चलचित्र परिचयको सुटिङका लागि । उनलाई पोखरामा छायाङ्कनका लागि नेपालका अभिनेता निखिल उप्रेतीलगायतले विगत तीन दिनदेखि कुरेर बसेका थिए ।
यी भारतीय अभिनेत्री मोनिका बेदी भारतको मोष्ट वान्डेटमा परेका अबु सलिमकी प्रेमिका हुन् । भारतीय बमकाण्डमा सहभागी भएर सलिमलाई साथ दिएको आरोपमा दुवै पोर्चुगलमा समातिएका थिए । मोनिका पनि केही वर्ष भारतीय जेलमा जेलजीवन बिताएपछि रिहा भएकी थिइन् भने अब सलिम अझै जेलमा नै रहेका छन् ।
भारतीय चलचित्र क्षेत्रमा सुन्दरी नायिकाको रूपले चिनिने मोनिकाको यो पहिलो नेपाल भ्रमण हो । केही भारतीय चलचित्रहरूको सहायक निर्देशन गरिसकेका आकाश पाण्डेले चलचित्र परिचयको निर्देशन गरेका हुन् । जानकारीमा आएअनुसार यो चलचित्रको अधिकांश छायाङ्कन पोखरामा गरिने भएको छ भने केही दृश्यहरूको छायाङ्कन बैंककमा पनि गरिने कुरा बताइएको छ । चलचित्रमा राजेश हमाल र सुनिल दत्तको पनि विशेष भूमिका रहेको छ ।
यो भारतीय चलचित्रको छायाङ्कन नेपालमा हुनुमा नायक निखिल उप्रेतीको मुख्य हात रहेको छ । नायिका सञ्चिता लुइँटेलसँग भागेर मुर्म्बई गएका निखिललाई भारतमा यसो गरेँ मैले भनेर देखाउनु पनि थियो भने त्यही देखाउन उनले परिचयको युनिटलाई काठमाडौं ल्याएका थिए । जे-जस्तो अवस्था र परिस्थिति आए तापनि अन्तत: निखिलले सिनेमा क्षेत्र छाड्न सकेनन् र फेरि अभिनयतिरै आए । तर, यता मोनिकाको अङ्गालोमा निखिल बाँधिँदा के-के नै पाइन्छ भनेर निखिलसँग उडेकी सञ्चिता भने हेर्‍या हेरै हुने भइन् ।

अगाडि बढ्दै लोकबाबु
हरेक विधामा उत्तिकै निपुण छन् गायक लोकबाबु शाक्य । आधुनिक, लोक एवम् पप सबै विधामा गीत गाउने मामिलामा लामो समयदेखि आफूलाई सफलताका साथ अगाडि उभ्याइरहेका लोकबाबु यति मात्र होइन विभिन्न स्कुल र कलेजका सङ्गीतका गुरु पनि हुन् ।
त्यसो त गीत मात्र गाउँदैनन् उनी । गीत-सङ्गीतमा प्रयोग हुने विभिन्न बाद्यवाधन बजाउन पनि सिपालु छन् उनी । ‘गायक भएपछि सबै कुराको ज्ञान हुनुपर्छ भन्ने मान्यता छ मेरो,’ उनले भने । हरेक खालको गीत गाउन सक्नुलाई आफ्नो विशेषता ठान्ने लोकबाबु काठमाडौंको बागबजारमा रहेको रमाइलो चौतारीमा हरेक साँझ लोकगीतमार्फत ग्राहकहरूलाई मनोरञ्जन पनि प्रदान गर्दै आएका छन् । ‘गायन क्षेत्रमा लागेपछि यो ठाउँमा गाउँछु अनि यो ठाउँमा गाउँदिनँ भन्न मिल्दैन,’ उनले भने । लोकबाबुको एकल गीति एल्बम मेरो भाग्य पनि बजारमा आइसकेको छ ।

अब चलचित्रको समाचार फोनमा
के तपाईं नेपाली सिनेमासम्बन्धी पारखी हुनुहुन्छ – चाँडोभन्दा चाँडो ताता र ताजा नेपाली चलचित्रसम्बन्धी समाचार थाहा पाउन इच्छुक
हुनुहुन्छ – हुनुहुन्छ भने अब तपाईंहरूकै हातमा त्यो सेवा उपलब्ध हुने भएको छ । नेपाल टेलिकमको प्रिपेड, पोष्टपेड, स्काई र साधारण कुनै पनि फोनमा तपाईंले डायल गर्नुपर्ने नम्बर हो १६१८०७०७२२२२२ । तपाईंहरूले नेपालको कुनै पनि स्थानबाट यो नम्बर थिच्नुभयो भनेे २४ सै घन्टा नेपाली चलचित्रसम्बन्धी ताजा जानकारी पाउन सक्नुहुनेछ । अनलाइन खबर डटकमको सहकार्यमा १३ गते फागुन शुक्रबारदेखि देशभर यो सेवा उपलब्ध भएको छ । नयाँ प्रविधिसँगै नेपाली चलचित्रको जानकारी पनि चलचित्रप्रेमीसमक्ष नयाँ तरिकाले पुर्‍याउने उद्देश्यले यसो गरिएको कुरा बताइएको छ ।