नेपाली राजनीतिक दलका नेताहरूले जनतामाझ आफ्नो व्यवहार र बोलीको विश्वास गुमाउँदै गएको सन्दर्भ यतिबेला आमचर्चाको विषय बनेको छ । नेताहरूको सहमतिका गफ सुनेर जनताका कान थाकिसकेका छन् भने यसले आमतप्कामा निराशा र आक्रोश थाम्नै नसकिने गरी बढाएको छ । विनयशीलताको अभावबाट आक्रान्त नेताहरूभित्र अकर्मण्यताको विकार यति जमेको अनुभूति हुन्छ कि तिनका दिल–दिमागमा देश बनाउने कुनै नौलो योजना नभएकै कारण उनीहरू स्वार्थी अडानबाट एक इन्च पनि पछि हट्न तयार दखिन्नन् । देश र जनताका एजेण्डालाई हृदयकेन्द्रमा राखेर सोच्ने हो भने सहमति निर्माणमा कठिनाइ नहुनु पर्ने हो । तर, सत्तामा टाँसिइरहनैपर्ने र सत्तामा पुग्नैपर्ने दुईथरी हठले समग्र राजनीतिक माहोल नै अस्तव्यस्त तुल्याइदिएको छ । देशको राजनीति नै केटाकेटी खेलमा परिणत भएको यस्तो निराशाजनक अवस्था सम्भवत: इतिहासमा खोज्दा नपाइन सक्छ ।
मुलुकको राजनीतिलाई यतिबिघ्न हलुका, निराशाजनक र बेथितिपूर्ण तुल्याउनमा सर्वाधिक भूमिका निर्वाह गरिरहेका पात्रहरूको नाम लिनुपर्दा पहिलो नम्बरमा पर्छन् एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल । बोली र व्यवहारमा बेस्सरी सन्तुलन गुमाएर ‘अविश्वासको प्रतीक’ बन्न पुगेका दाहाललाई लाग्दो हो– नेपालको वर्तमान राजनीतिको मियो मै हुँ उ यही खोक्रो घमण्डमा चुर भएका उनी यो पनि ठान्दा हुन् कि आफूले जे चाह्यो त्यही गर्न सकिन्छ या त्यही–त्यही नै भइरहेको छ उ दिनमा दशपटक कुरा फेरे पनि आफूलाई तिरस्कृत तुल्याउने हैसियत नेपाली जनतासँग नभएको कुटिल आत्मविश्वासले उनलाई सर्लक्क गाँजेकैले हुनुपर्छ, उनी यति लापर्वाह बन्दै गएको प्रतीत हुँदै छ कि राष्ट्रपतिसँग एकैछिनअघि एउटा कुरा गर्ने, लगत्तै मिडियासमक्ष बोली फेर्ने र दलका नेताहरूसँग अलग किसिमले अभिव्यक्त भएपछि आफ्ना कार्यकर्तासमक्ष बेग्लै मस्का लगाउने उपक्रम उनका लागि दालभात निलेजत्तिकै हुन थालेको छ । उनका लागि यो सत्ता टिकाउने या देशमा निरङ्कुशता भित्याउने फगत् एक ‘ट्याक्टिस’ हुन सक्ला । तर, सिङ्गो देशलाई नै खेलौना तुल्याएर जति हलुका ढङ्गले दाहाल राजनीतिका नाममा घोर अराजनीतिक या अराजक खेल खेलिरहेका छन्, यसको परिणति उनले कल्पना गरेजस्तो स्वप्निल नहुने निश्चित छ । विश्व इतिहासमा अनेकौँ निरङ्कुश शासकहरूको प्रादुर्भाव भए, तर तिनका अन्त्य कसरी भए र हुँदै छन्– पुष्पकमल दाहालले एकपटक नियाल्नैपर्ने देखिन्छ, देश र जनताको हितका लागि अनि स्वयम् उनको कल्याणका निम्ति पनि ।
पछिल्ला केही दिनअघिसम्म ‘सहमतिका लागि लचकता अपनाएर काङ्ग्रेसलाई सत्ता सुम्पन आफू त तयार रहेको तर प्रधानमन्त्री बाबुराम भट्टराई बाधक बनेको’ अभिव्यक्ति दिएका दाहालले राष्ट्रपति भारत भ्रमणमा निस्केलगत्तै पार्टी–कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा वर्तमान सरकारलाई नै सहमतिको स्वरूप दिनुपर्ने, त्यसो हुन सक्दैन भने पनि आफ्नै दलको नेतृत्वमा बहुमतको सरकार निर्माण गर्न आफू या आफ्नो दल सक्षम रहेको घोषणा गरे । उनको यस व्यवहारले प्रस्ट पारेको छ कि एमाओवादी पार्टी कुनै कोणबाट पनि सहमतिको प्रयास गरिरहेको छैन । दलहरूलाई ऊ यत्तिकै अल्मल्याएर निरङ्कुश सत्ता लाद्ने आफ्नो खतरनाक अभियानलाई सार्थक पार्न चाहन्छ । एमाओवादीको यस दोहोरो–तेहेरो व्यवहारले सहमतिको सरकार गठन हुने सम्भावनालाई अब क्षीण तुल्याएको मात्र नभई आगामी कैयन महिनासम्म निर्वाचन हुन नसक्ने परिस्थितिसमेत जन्माएको छ । विपक्षी दलका नेतृत्वले पनि सम्भवत: यो यथार्थ अनुभूत गरिसकेकै छन्, तर यस खतरनाक प्रचण्ड–प्रवृत्तिसँग जुध्ने सवालमा लोकतन्त्रका हिमायती राजनीतिक दलहरूमा उपाय र आत्मविश्वासको कमी देखिनु विष्मयकारी विषय बनेको छ ।
अन्त्यमा, राष्ट्रपति छिमेकी देशको भ्रमणबाट फर्कंदासम्म केही न केही सहमति जुटिहाल्ने र राष्ट्रपतिले नै समस्या निराकरणको ‘फर्मुला’ बोकेर आउने आश बोकेर बस्नेहरूको कमी देखिएको छैन । तर, विवश मनोभावका साथ भारत गएका राष्ट्रपति सोही मनस्थितिमै स्वदेश फर्कने करिब–करिब निश्चित छ । आफ्नो समस्याको समाधान अर्काको पहलकदमीबाट खोज्ने आदत बसेका सबैलाई चेत रहोस् ।
प्रतिक्रिया