प्रश्न गर्छ देशको माटो- शिरीष रानाभाट

प्रश्न गर्छ देशको माटो- शिरीष रानाभाट


प्रश्न गर्छ देशको माटो
को हुन् यी, को हुन् यी ?
जनतालाई ढाँटी-छली
आफ्नो दुनो सोझ्याउँदै छन् जो ?

प्रश्न गर्छ देशको माटो
को हुन् यी, को हुन् यी ?
जनताको रगत चुसी
दिनानुदिन मोटाउँदै छन् जो ?

प्रश्न गर्छ देशको माटो
को हुन् यी, को हुन् यी ?
नाङ्गो शरीरमा खरानी घस्दै
इज्जत लिलाम गर्दै छन् जो ?

प्रश्न गर्छ देशको माटो
को हुन् यी, को हुन् यी ?
जात-जातिको तरबारले
छाती मेरो चिर्दै छन् जो ?

प्रश्न गर्छ देशको माटो
को हुन् यी, को हुन् यी ?
घृणा र द्वेषको आगो सल्काई
आफ्नै घर डढाउँदै छन् जो ?

प्रश्न गर्छ देशको माटो
को हुन् यी, को हुन् यी ?
स्वाभिमान बन्धक राखी
विदेशी इशारामा नाच्दै छन् जो ?

प्रश्न गर्छ देशको माटो
को हुन् यी, को हुन् यी ?
राष्ट्रघात गर्ने सबैबाट
बचाउन मलाई सक्छन् जो ?

मुठ्ठीमा लिई देशको माटो
सबै मिली प्रण गरौँ
बन्धुत्वको जलप छर्दै
एक भई देशको प्राण भरौँ ।