सत्य सावित हुँदै छ राधादिदीको बोली !

सत्य सावित हुँदै छ राधादिदीको बोली !


bichar-सरिता अर्याल
माओवादी आन्दोलन चुलिएको समय थियो । सहरमा भएका मानिस गाउँमा जानु भनेको एकप्रकारको ठूलै समस्या हुन्थ्यो । मार्छन् र मरिन्छ भन्ने त्रासका कारण मानिस सहरमै बस्न रुचाउँदथे । त्यही समयमा म कैलालीमा माओवादी द्वन्द्वका कारणले मरेका मानिसका विधवाहरूको जीवन गुजारा कसरी भइरहेको छ भन्नेबारे अध्ययन गर्न गएकी थिएँ । मेरो अध्ययन सीमामा माओवादी, राज्यपक्ष वा सर्वसाधारण तीनैपक्षका विधवाहरूको बारेमा अध्ययन गर्नु थियो ।
म पहिलोपल्ट कैलाली पुगेकी थिएँ । मेरा लागि जिल्ला नै नौलो भएको बेला भान्जा निरञ्जन रिमालले एकजना मोटरसाइकल चलाउने साथीको व्यवस्था गरिदिनुभएको थियो । हामी धनगढीबाट बिहानै निस्कियौँ । अत्तरियाबाट पूर्व लागियो । मेरो साथी के काम गर्नुहुन्थ्यो मलाई थाहा भएन तर उहाँलाई कुन ठाउँमा मैले खोजेकोजस्तो मानिस पाइन्छन् भन्ने कुरामा भने राम्रै ज्ञान थियो । उहाँले आफ्नो मोटरसाइकल पहलवानपुरमा लगेर रोक्नुभयो । उहाँले अलिक परबाट मलाई एउटा दुईतले घर देखाउँदै भन्नुभयो, ‘सरिताजी, ऊ त्यो घरमा जानु, म यहीँ चिया पिएर तपाईंलाई पर्खनेछु ।’
एकजना स्थानीय राजनीतिज्ञलाई केही दिनअगाडि मात्र माओवादीले मध्यरातमा घरबाहिर ल्याएर मारेका रहेछन् । कैलालीको पहिलो रिपोर्टिङ गर्न म त्यो घरमा पुगँे । एकजना महिला बाहिर खाटमा बसेर साग केलाइरहेकी थिइन् । उनको पहिरनले नै मलाई थाहा भइहाल्यो भर्खर सिन्दुर पुछिएकी महिला यिनै हुन् । तर, म अलि नर्भस भएँ उनलाई देखेपछि । भर्खर सिन्दुर पुछिएको अन्जान महिलाको अगाडि पुगेर मैले के सोध्ने, अनि पीडाको बिचमा दिन काटेकी महिलाले मसित कस्तो व्यवहार गर्ने हुन् ? म बिस्तारै उनको नजिक गई बसेँ र पानी खान मागँे । उनले आफ्नी छोरीलाई पानी ल्याइदिन अह्राइन् र मतिर हेर्दै भनिन्, ‘मैले नानीलाई चिनिनँ त ?’ मैले भने, ‘दिदी म पत्रकार हुँ काठमाडौंबाट आएकी तपाईंलाई भेट्न ।’ मैले त्यति के भनेकी थिएँ उनी त रुन थालिन् । उनले रोएको सुनेर घरभित्रका र छिमेकी घरबाट मानिस बरन्डाभरि जम्मा भए । एकजना बीस वर्ष जतिकी केटीले मलाई एक गिलास पानी ल्याएर दिइन् । मैले पानी पिएर तिनै केटीलाई सोधँे उहाँको नाम के हो ? राधा (नाम परिवर्तन) । मलाई कुरा गर्ने बाटो मिल्यो । ‘राधा दिदी नरुनुहोस्, आफूले आफूलाई बलियो बनाउनुपर्छ । दिदी कुन छोरी हुन् यी कि एकजना छोरी मात्र हुन् ?’ यो कान्छी छोरी हो नानी, दिदी–दाजुहरूको बिहे भइसक्यो । अहिले मेरो साथी यही छोरी छ घरमा । मैले घरायसी कुरा गर्दै राधा दिदीलाई सामान्य बनाइसकेकी थिएँ । अब उनी मसित खुलेर कुरा गर्न सक्ने भइसकेपछि मैले आफ्नो अध्ययनका लागि चाहिने कुरा सोधँे । उनले पनि सबै जवाफ खुलेर नै दिइन्् । कान्छीछोरीको पनि विवाह गरिदिने बेला भएको रहेछ । अब बरखी सकिएपछि गर्ने होला नि ? मैले विषय बदल्न खोज्दै भनँे । यो छोरी नै मलाई अहिले आएर घाँडो भएकी छ नानी । यसका दिदी–दाजुहरूको विवाह तीन गाउँ हल्लाएर गरेका थियौँ । यसले पढ्छु भनेकीले छोरीले पढुन्जेल पढाउँछु भन्नुहुन्थ्यो । यसका बुबा बितेपछि म एक्लै भएँ भनेर आफ्नो पढाइ छोडेर घर बसेकी छ । गाउँमा माओवादीको बिगबिगी छ । एक घरबाट एकजना दिनुपर्छ भन्छन् रे । जवान भएकी छोरी म बूढी रातबिरात आएर केही गरिहाले भने पनि म के पो गर्न सक्छु र ? छोरीलाई कुमारी नै राखेर विवाह गर्न सक्ने हुँ कि होइन । मेरो घर नै बर्बाद गरेर यसको बुबालाई मार्ने माओवादीलाई सहयोग गर्न म कसरी छोरी दिऊँ अनि बाबु मार्ने पार्टीको बन्दुक बोक्न यसले पनि कसरी सक्ली र ? प्रत्येक रात हामी आमाछोरी नसुतीकन बस्छौँ भने पनि हुन्छ । मुसा कुद्दा पनि माओवादी आएजस्तो लाग्दछ । घरको व्यवहार सबै बुबाकै जिम्मामा थियो । कोसित कति लेनदेन थियो केही थाहा भएन, चोला उठिसकेपछि मेरो पैसा लिनु छ भन्दै आउनेको त धुइरो नै लाग्यो । पहिले–पहिले त आफूसित भएको पैसा र अन्नपात सुनचाँदी बेचेर बूढाले लिएको ऋण भन्दै तिरँे । आफू सबै रित्तिए पनि पैसा लिनु छ भन्न आउनेको लाम छुटेन । अनि बिस्तारै हामी लुटिएका रहेछौँ भन्ने त थाहा भयो । तर अब हामीसित केही पनि छैन । बाली नभिœयाई खान पनि धौ–धौ भएको छ । अब त छोरीलाई पढाउन सक्ने अवस्था पनि मेरो रहेन, घरमा राख्न पनि सधैँ डर । जवान छोरी अन्त राख्न पनि कसलाई भन्नु मेरो छोरी राखिदेऊ न भनेर ? विवाह गर्न पनि बाबु मर्नासाथ एक वर्ष पनि नबिती किन छोरीको विवाह गरिन् भनेर जोरीपारी हाँस्ने । अनि मलाई मेरी छोरी नै भारी भई न त नानी ?
लोग्नेको त मरन नै त्यस्तै लिएर आउनुभएको रहेछ तर उहाँ बितेपछिको समस्या भई मेरै मुटुको टुक्रा कान्छी छोरी । अरू नातेदारको घरबाट विवाह त गर्न सकिन्थ्यो होला तर छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी भनेजस्तै कसले जिम्मा लिन्छ मेरो छोरीको बिहे । म आफैँ केही गरूँ न भन्दा पनि कसलाई भन्दै जाऊँ म मेरी छोरीलाई विवाह गर्छस् भनेर । चुप लागेर बसुँ कुनै पनि रात यसलाई उठाउन सक्छन् भन्ने गाइँगुइँ सुन्न थालेकी छु ।
म अब कुरालाई बिट मार्ने तरखरमा लाग्दै सोधँे– अब यो आन्दोलन र भोलिको दिनको बारेमा तपाईंलाई के लाग्छ त ? बहिनी डरले होस् या रहरले मान्छे यो पार्टीमा जाँदै छन् र माओवादी बढेकाबढ्यै छन् । जे–जस्तो भए पनि एकपल्ट आउने जीवन मान्छेचाहिँ नमारिदिए हुने थियो । तर, आफ्नो पार्टीमा आइनस् भनेर पनि मान्छे मार्छन् यिनीहरू, यो रोके हुने थियो । कति दिन लुकेर बस्छन् र एक दिन त बाहिर आउँछन् नै । बन्दुकको भरमा बाहिर आएपछि यो पार्टी सबैभन्दा बलियो पार्टी हुनेछ । तर, हेर्नुहोला म मरे पनि मलाई त्यो बेला सम्झनु यिनीहरू ठूलो पार्टी भए पनि त्यो बेला यिनीहरूका धेरै कार्यकर्ता निराश हुन्छन् । अहिले बन्दुक बोकेको नचिनेको मान्छे चिनिइसके पछि कसले टेर्ने । लुटेर ल्याएको सम्पत्ति नेताले लिन्छन् तर यी डण्ठेसित केही हुँदैन । नेता धनी हुन्छन् तर अहिले मार्न र मर्न हिँडेका डण्ठेहरू कि चोर–फटाहा हुन्छन् कि मागेर खानुपर्ने अवस्था आउँछ । अरूको आँसुले जितेको राज्यमा कति दिन पो चलाउलान् र आफ्नै कार्यकर्ताले बिस्तारै छोड्छन् र जसरी यो पार्टी आएको छ त्यसैगरी बिलाउँछ पनि ।
आज आएर मलाई राधादिदीको सम्झना आइरहेछ । माओवादी भूमिगत भएको बेलामा उनले भनेका कुरा अहिले पुग्दै आएको देखिरहेको छु । लाग्न थालेको छ अझै देख्न बाँकी छ होला ।