कुरा सरुभक्तको

कुरा सरुभक्तको


nisedh‘दुनियाँमा धेरै व्यक्ति प्रेमको कुरा गर्छन्, तर प्रेमको जीवन बाँच्दैनन् । दुनियाँमा सबै प्रेमकथाहरू अमर प्रेमकथा बन्न सक्दैनन् । शायद यो मानवजातिको सबैभन्दा दु:खपूर्ण नियति हो ।’ आफ्नै प्रकारको सीमा र एउटा विशेष मूल्य–मान्यतामा रहेर जीवन बाँचिरहेका साहित्यकार सरुभक्तले यस पङ्क्तिकारको कथासङ्ग्रह ‘सम्बन्धहीन सम्बन्धहरू’ को भूमिका लेख्ने क्रममा यी माथिका कुराहरू लेखेका थिए । …जीवनमा कति प्राप्तिहरू अप्राप्तिमय हुन्छन्, कति अप्राप्तिहरू प्राप्तिमय हुन्छन्… । उनको यो भनाइ निकै राम्रो लागेको हो । लोग्ने–स्वास्नी या प्रेमी–प्रेमिकासँगको इमानदारीपूर्ण सम्बन्धभन्दा पनि ‘मल्टी रिलेसन’तर्फ अगाडि बढिरहेको नेपाली समाजमा सरुभक्त यस्तो पात्र हुन् जसले आफूले मन पराएकी, प्रेम गरेकी, प्रेमिका ठानेकी युवतीको नपाएको साथलाई लिएर जीवन बाँचिरहेका छन् । प्राय: धोखा पाउनेभन्दा धोखा दिनेकै सूचीमा पर्ने नेपाली पुरुषहरूको भीडमा सरुभक्त एक अनौठा र उदाहरणीय पात्र पनि हुन् । जीवनमा आफूले गरेको पहिलो र अन्तिम प्रेम असफल भएपछि एक्लो जीवन बाँचिरहेका यी साहित्यकारले धेरै कुरा लेखे कविता, उपन्यास, नाटक, मुक्तक आदि । विज्ञानदेखि मनोविज्ञानसम्म, प्रेमदेखि घृणासम्म उनका कृतिहरूले समाजका अनेक विम्बहरूलाई समेटेका छन् । मोफसलमा बसेर राष्ट्रिय जीवन बाँचिरहेका साहित्यकार पनि हुन् सरुभक्त । साहित्यको क्षेत्रमा पोखरा उर्वर सहर हो जसले धेरै साहित्यकार जन्माएको छ । कतिपय ठाउँमा पैसा तिर्छु भन्दा कविता सुन्ने मानिस भेटिँदैन तर पोखरामा धेरै अघिदेखि पैसा तिरेर (टिकट काटेर) मुक्तक सुन्ने–सुनाइने गरिन्थ्यो । यस्तो वातावरण निर्माण गर्नमा सरुभक्त, तीर्थ श्रेष्ठलगायतका वरिष्ठ साहित्यकारको ठूलो भूमिका रहेको छ ।
धेरै मानिस जीवनमा आदर्शको कुरा गर्छन् तर आदर्शको जीवन बाँच्दैनन् । कुरै नगरी मौन रहेर व्यवहारमै प्रेम र आदर्शको जीवन बाँचिरहेका सरुभक्तले हालै राजधानीमा एकल कविता वाचन गरे । कविता भन्ने कुरा जबर्जस्ती सुनाइने या सुन्नुपर्ने कुरा हो भन्ने सन्देश जनमानसमा रहेको बेला सरुभक्तले विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरूबीच पूरै दुई घण्टा कविता वाचन गरे । कविता, कथा, उपन्यास या मुक्तक विधा जे भए पनि साहित्य सिर्जना गर्नु त्यति सहज कुरा होइन । पटक–पटक आफूलाई दुखाउनुपर्ने, परिस्थिति र पात्रका वरिपरि पुर्‍याउनुपर्ने हुँदा एउटा सिर्जना सुरु गरेर नसकिउन्जेल एक प्रकारको छटपटी भइरहन्छ । विश्वमा बोल्न सक्ने मानिस धेरै र लेख्न सक्ने थोरै हुनुको कारण पनि यही हो । सरुभक्तका कवितामा प्रेमदेखि देशभक्ति हुँदै वातावरण, प्रकृति र पशुपक्षीसम्म समेटिएका थिए । आफ्नै प्रकारको मूल्य–मान्यताको राजनीति गरिरहेका नारायणमान बिजुक्छेदेखि रुक्मांगद कटवालसम्म उनका श्रोता थिए । भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हल यसरी खचाखच थियो कि मानिस सिटमुनीको भुइँमा समेत बसेका थिए र उभिनका लागि वरिपरि अलिकति पनि खाली ठाउँ थिएन । पोखरेलीहरूको एकता पनि गजबकै देखिन्थ्यो, साहित्यकारहरू त हुने नै भए, राजनीतिकर्मी रवीन्द्र अधिकारीदेखि व्यवसायी कृष्ण आचार्यसम्म कार्यक्रममा उपस्थित थिए । अझ त्यस दिन ल्होसार चाड नपरेको भए कहाँ अट्थे होला मानिसहरू ? पोखराका गुरुङ समुदायका मानिस त्यहाँ आउन पाएका थिएनन् भन्ने प्रस्टै देखिन्थ्यो । यो सबै प्रकारका मानिसको उपस्थिति सरुभक्तप्रतिको सम्मान थियो । नेपाली साहित्यमा उनको पहिचानको कारण भएको थियो । सोही दिनको कुरा गर्ने हो भने कविताभन्दा बढी उनको कविता भन्ने शैलीले धेरैलाई आकर्षित गरेको थियो । कविताहरूमध्येको एउटा कविता उनकी छोरी सरस्वती प्रतीक्षाले वाचन गरेकी थिइन् । बहुलाई आमाहरूको कथाले भरिएको उक्त कविता सरुभक्तको अमर कवितामध्येको एक हो भन्न सकिन्छ । लेख्ने मानिसहरू जीवनमा कृति त धेरै लेख्न सक्छन् तर ती सबै कृतिहरू अमर कृति बन्न सक्दैनन् । एउटै कृतिले अमर बनेका त शायद गुरुप्रसाद मैनाली मात्रै हुन् । जीवनमा लेखेका जम्मा ११ वटा कथाले उनलाई अमर बनायो ।
एक्ला सरुभक्तको जीवनमा छोरीको प्रसङ्ग पनि निकै रोचक छ । एक दशकभन्दा अघि एउटी किशोरीलाई एक्कासि छोरीको रूपमा अपनाउँदा मानिसहरू छक्कै परे । कतिले यही पङ्क्तिकारसँग भनेका थिए, छोराछोरी गोद लिने भनेको त बच्चैमा पो हो । त्यति ठूली भएकी केटीले बाबुको रूपमा स्वीकार्छे भनेर कसले पत्याउँछ ? के भएको हो अचम्म लागेको थियो । नौ–दश वर्षअघिजस्तो लाग्छ यो चर्चा नसेलाउँदै पोखरा पुगेको बेला भेटेर प्रश्न गरेँ– अझ सानै बालिकालाई छोरीको रूपमा अपनाइएको भए बढी सामीप्यता मिल्थ्यो कि ? आफूले सोचेजस्तो छोरी बनाउन सकिन्थ्यो कि ? उनले भने, ‘जतिबेला मैले मेरी छोरीको कल्पना गरेँ, यदि मैले कल्पना गरेकै बेला ऊ जन्मिएकी भए अहिले मेरी छोरी यत्रै हुने थिई, ठ्याक्कै सरस्वतीजत्री । सरस्वतीको उमेर मेरी छोरीको उमेरभन्दा बढि छैन, मैले उनमा मेरी छोरीका सबै गुण भेटेको छु । मैले यस्तै छोरीको कल्पना गरेको थिएँ । र, म छोरी पाएकोमा खुसी छु ।’ निकै भावुक बनाएको थियो उनको जवाफले । तिनै छोरी कार्यक्रममा बाबुको फोटो खिचिरहेकी थिइन्, कविता पढिरहेकी थिइन् । कार्यक्रम सकिएपछि मानिसलाई चिया खाएर जानुस् है भनिरहेकी थिइन् । जीवनमा सम्बन्ध भन्ने कुरा जे सोच्यो त्यही हुने रहेछ, जेलाई सत्य मान्यो त्यही सही हुने रहेछ । कति मानिस प्रेममा धोखा पाएपछि महिलालाई घृणा गर्छन् । सबै महिला उस्तै हुन् भनेर महिला जातिकै प्रति विषवमन गर्दै हिँड्नेहरू नभेटिने होइनन् जो केही समयपछि फेरि अर्की महिलाको ‘प्रेम’मा पर्छन् र थन्किन्छन् । तर, सरुभक्तले कुनै पनि रूपमा महिलालाई सधैँ सम्मान गरे, आमाको रूपमा, प्रेमिकाको रूपमा, छोरीको रूपमा । ‘तरुनी खेती’ उनको उपन्यास यस्तै पात्रहरूका लागि ठूलो व्यङ्ग्ग हो जो एकपछि अर्को केटीको खेती गर्दै हिँड्छन् । सरुभक्त नेपाली साहित्यका मात्र नभई सम्पूर्ण नेपाली समाजका यस्ता आदर्श व्यक्तित्व हुन् जो एउटा निश्चित मूल्य र मान्यतामा जीवन बाँचिरहेको छ । जसले आफ्नो जिन्दगीको सीमा आफँैले कोरेको छ र त्यही परिधिभित्र रहेर असीमित काम गरिरहेको छ ।