‘निर्मातासँग टाँसिएर के फिल्म खेल्नु ?’

‘निर्मातासँग टाँसिएर के फिल्म खेल्नु ?’


funtimeसुष्मा अधिकारी यतिबेला म्युजिक भिडियोहरूमा व्यस्त छिन् । एकपछि अर्को भिडियोमा व्यस्त सुष्माको उद्देश्य भने सिनेमाको नायिका बन्नु नै हो । तर पनि उनलाई प्रस्ताव भने भिडियोहरूबाट बढी आउन थालेका छन् ।
० के भिडियो नै खेलेर बस्ने ?
– के गर्ने त खोई सिनेमामा कुरा मात्र हुन्छ तर निश्चित भएको छैन ।
० सिनेमामा हिरोइन बन्न के गर्नुपर्दो रहेछ त ?
– मैले पनि कुरा बुझेकी छैन । कुरा हुन्छ तर पछि निर्माता नै गायव ।
० सुष्मामा केही कमजोरी छ कि ?
– खै ! त्यो त म भन्न सक्दिनँ । म्युजिक भिडियो निर्देशकहरूले त मेरो कामको तारिफ नै गरेका छन् ।
० उसो भए अब छोडे हुने भयो होइन त फिल्म खेल्ने रहर ?
– कहाँ छोड्नु । हिरोइन बन्नैपर्छ ।
० सिनेमाको हिरोइन बन्नका लागि यत्रो मरिहत्ते किन ?
– मरिहत्ते होइन, यो त मेरो सपना हो । सपना पूरा गर्नतिर त लाग्नैपर्‍यो नि ।
० निर्माताको कुनै प्रस्ताव नमान्दा फिल्म खेल्न नपाएको हो कि ?
– खै ? त्यो कुरा मलाई थाहा छैन । र, त्यस्तो गलत प्रस्ताव पनि आएको छैन ।
० आफूलाई हिरोइन जस्तो लाग्छ ?
– यहाँ कस्ता–कस्ता त हिरोइन भएका छन् । म त तिनीहरूको दाँजोमा राम्रै छु नि ।
० यहाँ त हिरोइन बन्न निर्माणसँग नजिकिनुपर्छ भन्छन् नि ?
– त्यो हो भने म त्यसको विरुद्धमा छु । निर्मातासँग नजिकिएर म सिनेमाचाहिँ खेल्दिनँ ।
० म्युजिक भिडियोबाट जीवन चलेकै छ त ?
– अहिलेसम्म चलेकै छ । काम चाँडो त म्युजिक भिडियोमा नै हुन्छ तर क्रेज सिनेमामा छ ।
० क्रेजकै लागि हो त सिनेमा ?
– हो नि, जुन शान सिनेमामा छ त्यो भिडियोमा छैन । हिरोइन बन्नु ठूलो सपना हो ।

जियाको विजोग
नाम होस्, बद्नाम होस् तर जे–जस्तो भए तापनि गुमनाम भने नहोस् । गजवको शैली अपनाएकी छिन् जिया केसीले । यही शैलीका साथ भल्गर र सी गे्रडका चलचित्रहरूमा देखिँदै आएकी जिया यतिबेला भने आफ्नै परिवारबाट पनि टाढा हुने अवस्थामा छिन् । झापाकी जिया सुरुमा काठमाडौंमा होस्टेलमा बसेर अध्ययनका लागि प्रवेश गरेकी थिइन् । तर, उनको इच्छा भने सिनेमाको हिरोइन बनेर तहल्का मच्चाउनु थियो । तहल्का त उनले मच्चाइन् हिरोइन नभएर सिनेमामा भल्गर दृश्य दिएर र त्यस्तै खालका संवाद बोलेर । पछिल्लो पटक चलचित्र ‘एटीएम’ को गलत हल्ला र प्रचार भएपछि जियाका साथीहरूका अनुसार उनी आफ्नो घर झापा पनि जान सकेकी छैनन् । छोरी पढेर ठूलो मान्छे बन्ली भन्ने परिवारको सपनामा जियाले त्यतिबेला तुषारापात गराइदिइन् जब छलचित्र एटीएम उनले खेलिन् । यसअघि नै जियाको राम्रो दुई चलचित्र रिलिज हुन बाँकी नै थिए । चर्चाका लागि उनले एटीएमजस्तो फिल्म खेल्नुपर्ने अवस्था भने थिएन ।
अहिले जिया यता न उताको अवस्थामा छिन् । घरतिर जाऊँ भने परिवारले नै साथ नदिने अवस्था छ भने सिनेमातिर पनि उनलाई भल्गर र अश्लील सिनेमाहरूबाट मात्र अफर आउन थालेका छन् । राम्रो कथा अनि सभ्य विषयमाथि बनेका सिनेमाहरू त उनले आशै नगरे पनि हुने भयो अब ।

मल्ल परिवारको ‘गुहार’
पुराना चलचित्रकर्मी कृष्ण मल्ल र शर्मिला मल्ल अब आफ्ना एक मात्र छोरा सक्रिय मल्लको साथमा समाजसेवामा लागिपरेका छन् । मेनेजमेन्ट विषयमा ग्य्राजुएसन सकाएका सक्रियले आफैँ पनि समाजसेवामा नामजस्तै सक्रिय हुने कुरा बताए । यसको सुरुवात उनले सोमबार आफ्ना बुबा कृष्ण मल्ल र आमा शर्मिला मल्लको साथबाट गरे ।
मल्ल परिवारले सोमबार औपचारिक रुपमा ‘गुहार’ नामक संस्था खोलेर कामको सुरुवात गरेका छन् । दुई अशक्त वृद्धालाई गुुहारले १०÷१० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्‍यो । मल्लले कार्यक्रम आफ्ना सन्तानको जन्मदिनको अवसर पारेर गरेको कुरा बताए । ‘अरूले जन्मदिनमा के गर्छन् थाहा छैन तर हामीले त समाजसेवा गर्ने अठोट लिएका छौँ,’ उनीहरूको भनाइ थियो ।
कृष्ण मल्लका अनुसार गुहार माध्यम हो र अक्षम, असक्त र असहायहरू सक्षम गुहार पुग्छ । ‘हामी चाँडै गुहार नामक टेलिभिजन कार्यक्रम पनि तयार पार्दै छौँ । एक्लो जीवन बिताएका र अशक्तहरूका लागि कार्यक्रम गुहार माध्यम बन्नेछ । तिनीहरूलाई कार्यक्रममा ल्याएर उनीहरूका लागि आर्थिक सहयोग जुटाउने छौँ,’ कृष्ण मल्लको भनाइ छ ।

हर्षिकाले पनि देखाइन्
नेपाली सिनेमामा यतिबेला देखाउनेहरूको निकै चर्चा र हल्ला छ । कसले के देखाए ? कसरी देखाए वा कति देखाए ? यसको लेखाजोखा अहिले नगरौँ । तर, अर्की एउटी नयाँ नायिका पनि देखाउनतिर मरिहत्ते हाल्न खोजिरहेकी छिन् । उनी पनि भन्न थालेकी छिन्, ‘कसले के देखायो ? त्यो मलाई थाहा छैन, तर मैले भने गजवकै तरिकाले देखाएकी छु ।’ म्युजिक भिडियोमार्फत सिनेमा क्षेत्रमा आएकी यी देखाउने अभिनेत्री हुन्– हर्षिका श्रेष्ठ ।
त्यस्तो हल्लै हुने गरी के देखाइयो त ? जवाफमा हर्षिकाले थपिन्, ‘कुरा चलचित्र जंजिरको हो । ‘यो चलचित्रमा मैले के देखाएकी छु र मैले देखाएको त्यो कुरा हेर्न त चलचित्र नै हेर्न आउनुपर्छ नि । अहिलेलाई गोप्य नै राखौँ,’ हर्षिकाले भनिन् ।
शोभित बस्नेतको निर्देशन र करण श्रेष्ठको निर्माण रहेको यो चलचित्रमा सुन्नमा आएअनुसार हर्षिकाले भल्गर दृश्य त देखाएकी छैनन् रे । तै पनि उनले देखाएको बारेमा बजार हल्ला निकै गरम भइरहेको छ । हामीले पनि यसको युनिटसँग बुझ्ने प्रयास गर्‍यौं । ‘अश्लील र भल्गर होइन तर त्यो भन्दा पनि गजब देखाएकी छिन् हर्षिकाले । यस कारणले पनि हामी उनको फ्यान बन्न पुग्यौँ । उनले के देखाइन् ? त्योचाहिँ पछि नै भनौँला,’ निर्माता श्रेष्ठले भने ।