‘जे हेर्न आए पनि आइदिनुस्’

‘जे हेर्न आए पनि आइदिनुस्’


funtimeयिनी हुन् जमुना जोशी । अध्ययन र सङ्गीत दुवैलाई एकसाथ अगाडि बढाइरहेकी जमुना लमजुङमा जन्मिएकी हुन् । पद्मकन्या कलेजबाट बीबीएस सकाएकी उनले गान्धर्व म्युजिक विद्यालयबाट पाँच वर्षको शास्त्रीय सङ्गीतको प्रशिक्षण पनि लिइसकेकी छिन् । निमन्त्रणा नामक एल्बम बजारमा ल्याएकी जमुना यतिबेला ‘माई ड्रिम’ नामक एल्बमको तयारीमा लागेकी छिन् ।
० इन्दिरा जोशीलाई पछार्न जमुना जोशी आइन् भन्छन् नि, हो ?
– यो कुरा गलत हो । कसैलाई पछार्न होइन, म त आफ्नो कर्म गरेर अगाडि बढ्न आएकी हुँ । अरूलाई पछार्न होइन, आफू अगाडि बढ्न आएकी हुँ ।
० पहिलो एल्बम ‘निमन्त्रणा’मा कसलाई नियन्त्रणा गरेको नि ?
– मैले श्रोताहरूलाई निमन्त्रणा गरेकी हुँ ।
० निम्तो मानेर कतिजति आए त ?
– चित्तबुझ्दो सङ्ख्यामै आए भन्नुप-यो ।
० जमुनाको आवाजभन्दा त जमुना नै राम्री भन्छन् नि ?
– त्यसो भनिदिनुभएकोमा धन्यवाद तर मेरो अनुहार होइन आवाजलाई मनपराइदिनुहोला । यो मेरो आग्रह नै हो ।
० गायिकाको राम्रो अनुहारले उसको गायन क्षमतामा कत्तिको प्रभाव पार्छ होला ?
– सुन्दर हुनु आफैँमा नराम्रो त होइन, तर पनि हाम्रो विधामा अनुहारले भन्दा पनि आवाजले स्थान पाउनुपर्छ जस्तो लाग्छ मलाई । आवाज नभई अनुहारको भरमा चल्न खोजे त्यो धेरै टिक्दैन ।
० अब आउने एल्बम ‘माई ड्रिम’चाहिँ कस्तो ड्रिम हो नि ?
– यो पनि मेरो एउटा विशेष सपना हो । गायन क्षेत्रमा लाग्ने र यसमा सफल हुने मेरो सपनालाई यो एल्बममा समेट्न खोजेकी छु ।
० यति राम्री गायिकालाई विभिन्न आश्वासन दिएर फकाउनेहरू कत्तिको भेट्टियो नि ?
– त्यसरी अगाडि आएर कसैले भन्न सकेका छैनन्, तर बाहिर–बाहिर कसैले सपना बुन्छ भने म के गरूँ ?
० स्टेजमा त जमुनाको गीत सुन्न होइन अनुहार नै हेर्न आउँछन् रे श्रोताहरू, हो त ?
– त्यो त मलाई थाहा भएन । जे हेर्न आए पनि मेरै लागि आइदिनुभएको छ, त्यसका लागि धन्यवाद ।

ग्रिनकार्डका लागि विवाह गर्दै रञ्जना
आज बिहे अनि भोलि डिभोर्स फेरि पर्सि बिहे । अमेरिकन र युरोपियनका लागि त यो ठूलो कुरा होइन । अब यही कुरा नेपालीका लागि पनि सामान्य हुन थालिसक्यो । त्यसमाथि पनि विदेशको रहनसहनमा आफूलाई पूरै डुबाइसकेकाहरूको निम्ति त बिहे र डिभोर्स सामान्य कुरा हुने नै भयो ।
प्रसङ्ग अमेरिकामा रहेकी रञ्जना शर्माको हो । जटिपटक कोसिस गर्दा पनि अमेरिकामा ‘ग्रिनकार्ड’ हात पार्न नसकेपछि अब उतै बस्ने निर्णय गरिन् उनले । नेपाल फर्किएर आऊँ भने फेरि अमेरिका पस्न नसकिने बुझेकी रञ्जनाले नेपालमा रहेका आफ्ना श्रीमान् श्याम भट्टराईलाई लगभग छाडेपछि उनी अमेरिकामा नै घरजम गर्ने तयारीमा जुटेकी छिन् । उनले नेपालमा रहेका आफ्ना श्रीमान् श्यामलाई ‘तिमी पनि आफ्नो तयारी गर’ भन्ने जवाफ दिएपछि बोलीकै भरमा यी दुईबीच डिभोर्स भएको छ ।
कागजी रूपमा डिभोर्स नभए तापनि मनस्थिति नै छुट्टिएर बस्ने र अब आफू नेपाल आएर पुनः श्यामसँग घरजम गर्न असमर्थ हुने निश्चित भएको जनाएपछि अमेरिकामै बिहे गरेर घरजम गर्नतिर लागेकी रञ्जना हाल त्यहीँ लामो समयदेखि बस्दै आएका एक नेपालीको जीवनसङ्गिनी बन्ने अन्तिम तयारीमा रहेकी छिन् । अमेरिकामा रहेका नेपाली कलाकारहरूका अनुसार व्यक्तिगत रूपमा ग्रिनकार्डमा फेल भएपछि अमेरिकी नागरिकसँग विवाह गरेर ग्रिनकार्ड हत्याउने जुक्ति निकालेकी हुन् रञ्जनाले । अब हेर्नु छ, उनको यो विवाहले साँच्चिकै रूप धारण गर्ने हो कि फगत ग्रिनकार्ड प्राप्तिमा सीमित हुने हो ?

थोरै र मीठो खान खोज्दा आर्यनमाथि आरोप
आर्यन सिग्देलको अभिनय र अनुहारको प्रशंसा त उत्पातसँग गर्ने गरिन्छ । अभिनय शैली अनि युवापुस्ताका दर्शकमाझ उनको क्रेज पनि कम छैन । यसो हुँदाहुँदै पनि उनलाई माया गर्नेभन्दा गाली गर्नेहरूको सङ्ख्या भने कम छैन । यसो नहुनुपर्ने हो तर यसो भयो किन ? जवाफमा उनीसँग काम गर्नेहरू भन्छन्, ‘समयअनुसार र परिस्थितिअनुकूल आफूलाई उभ्याउन नसक्नु उनको कमजोरी हो ।’
यी चलचित्रकर्मीको भनाइ एक हदसम्म सही यो मामिलामा हो कि आर्यन बजारभन्दा बढी पारिश्रमिक माग्ने गर्छन् । चलचित्रको बजार राम्रोसँग फस्टाउन नसकिरहेको आजको अवस्थामा आफूले लिने पारिश्रमिक निर्माताले सोचेभन्दा बढी भनेपछि निर्माताहरू पनि आत्तिने गरेका छन् । त्यसो त अर्काथरी चलचित्रकर्मी भने ‘यति भए खेल्छु नत्र खेल्दिनँ’ भन्ने आर्यनको सोच र शैलीलाई गलत भन्न पनि चाहँदैनन् । ‘कति पारिश्रमिक माग्ने हो त्यो त कलाकारहरूको अधिकार पनि हो, दिन सक्नेले दिन्छ नसक्ने दिँदैनन् । आर्यनले पनि आफूले मागेको रकम पाए खेल्छ नत्र खेल्दैन,’ अर्काथरीको विचार छ ।
त्यसो त सम्झौता गरिसकेपछि पनि विभिन्न बहानामा निर्माताहरूलाई दुःख दिने काम आर्यनबाट हुने गरेको आरोप पनि नलागेको होइन । यो मामिलामा विशेष गरेर युवतीपे्रमी नायक आर्यनको स्पष्टीकरण भने यस्तो छ, ‘गलत हल्ला हुन् यी । यदि यस्तो गलत काम मैले गरेको थिएँ भने म किन टिक्थेँ यो क्षेत्रमा ? म दबाबमा होइन स्वतन्त्र रूपले काम गर्न चाहने कलाकार हुँ ।’
हुन त आफू पैसा सोहोर्न मात्र चलचित्रमा खेल्न नआएको आर्यनको भनाइ यतिबेला सही पनि निस्किएको छ । यदि उनले अफर आएजति अनि निर्माताले जति दियो त्यति पारिश्रमिकमा काम गर्ने हो भने सिनेमाको सङ्ख्या मात्र होइन कि धन पनि उनले रामै्र बटुल्थे । तर, उनले त्यसो गरेनन् । ‘अफर आएजति फिल्ममा काम गर्ने हो भने मेरो महिनामा दशवटा फिल्म पुग्छ र एउटाबाट तीन लाख मात्र लिएँ भने पनि तीस लाख घर भित्रिन्छ, महिनामा । म यसरी यस्तो लोकप्रियतामाथि विश्वास गर्दिनँ । थोरै खाऊँ तर मीठो खाऊँ भनेर लाग्दा कसैले गाली गर्छन् भने गरून, मलाई मलतब छैन’, उनले भने ।