आसाराम बापूलाई जन्मकैद

आसाराम बापूलाई जन्मकैद


नाबालिकालाई बलात्कार गरेको मामलामा जोधपुर (भारत)को अदालतले धर्मगुरु आसाराम बापूलाई दोषी प्रमाणित गर्दै जन्मकैदको सजाय सुनाएको छ । आसारामको अलावा उनका सहयोगीहरू शरतचन्द्र, शिवा र शिल्पी र प्रकाश पनि उक्त मुद्दामा अभियुक्त थिए । यीमध्ये अदालतले शिल्पी र शरतचन्द्रलाई २०–२० वर्षको जेल सजाय दिएको छ भने बाँकी दुईलाई रिहा गर्ने आदेश दिएको छ ।

७७ वर्षका आसाराममाथि जोधपुरनिकटको मनाई आश्रममा सन् २०१३ मा १६ वर्षकी किशोरीलाई बलात्कार गरेको अभियोग लगाइएको थियो । पीडित किशोरीका बाबुआमा बापुका भक्त थिए । छोरी बिरामी भएको भन्दै आसारामको आश्रम लगेको, सो क्रममा भूत लागेकोले गोप्य उपचार गर्नुपर्ने भन्दै आसारामले किशोरीको बलात्कार गरेको आरोपी पक्षको दाबी रहँदै आएको थियो ।

सन् २०१३ मै गिरफ्तार गरिएका आसारामको पौरुषत्वसमेत टेष्ट गरिएको थियो, जसको रिपोर्टले उनलाई यौन सम्बन्ध राख्न सक्षम पुरुष देखाएको बताइन्छ । आसारामको गिरफ्तारी विरुद्ध उनका करोडौँ भक्तहरुले विरोध प्रदर्शन गरेका थिए ।

विश्वका विभिन्न १९ देशमा आसारामका करिव चारसयवटा आश्रम रहेको र उनका भक्तहरुको संख्या चार करोडभन्दा बढी रहेको मान्यता छ । ४५ वर्षअघि दिल्लीमा आश्रम शुरु गरेका आसारामको लोकप्रियता लगातार बढिरहेको थियो ।

तस्बिर एएफपी