टीका संस्कारले ग्रस्त काङ्ग्रेस

टीका संस्कारले ग्रस्त काङ्ग्रेस


– तारा बराल

घटना शायद ००८-०९ सालतिरको हो । विश्वबन्धु थापाले मोरङ र सुनसरी काङ्ग्रेसको अध्यक्ष बन्ने तीव्र इच्छा प्रकट गर्नुभयो बीपी कोइरालासँग । तर, उहाँको त्यो इच्छा पूरा गर्न कसैले त्याग गरिदिनुपर्ने । त्यसबेला सबै कार्यकर्ताहरू गिरिजाप्रसाद कोइरालालाई अध्यक्ष भएको हेर्न चाहन्थे । विश्वबन्धुको उग्र आकाङ्क्षा पूरा गरिदिनैपर्ने भयो । गिरिजाप्रसादले उहाँसँग चुनाव लडेर हारिदिनुपर्ने भयो । त्यति मात्र कहाँ हो र ! आफ्नो जिपसमेत उहाँलाई दिनुपर्ने । गिरिजाबाबुले आफ्ना प्रिय दाजुको आज्ञा पालन गर्दै विश्वबन्धुजीलाई अध्यक्षको प्रसाद त दिनुभयो, तर त्यसको रनाहाले उहाँलाई भुटान पु¥यायो । भुटानमा कोइराला निष्क्रिय भएर भएन, भुटान नेसनल काङ्ग्रेस जन्माएर प्रजातान्त्रिक यात्राको बाटो खोलिदिनुभयो । आठ महिना पछाडि भुटानबाट फर्कंदा मोरङ काङ्ग्रेसको साङ्गठनिक दुर्दशा थियो । अन्ततः विश्वबन्धुले टीका लगाएर ग्रहण गरेको अध्यक्ष पद र जिप दुवै गिरिजाप्रसादलाई सुम्पिन बाध्य हुनुप¥यो । वस्तुतः यो काल्पनिक घटना होइन । कसैले काङ्ग्रेसको इतिहास लेख्यो भने त्यो घटनाले स्थान पाउला ।

त्यो घटना ४४-४५ वर्षपछि पुनरावृत्ति हुँदै छ । त्यसो त आजपर्यन्त नेपाली काङ्ग्रेसमा टीका लगाएर नेता बनाइदिने प्रचलन गएको छैन । कसैले त्याग गरिदिएर पस्केर दिएको पद प्राप्त गर्ने लालसा धेरै काङ्ग्रेसीमा छ । विधान, नियमसम्मत कोही चल्न चाहँदैन । ‘टीका काङ्ग्रेसको विकृत संस्कारबाट मुक्त हुने प्रयास प्रारम्भ मात्र भएको हुन्छ बीचैमा त्यसले तुहिनुपर्दछ । नौ साले त्यो घटनाको उत्कर्ष पुनरावृत्ति यतिखेर भएको छ, जसले फेरि काङ्ग्रेसलाई अनाधिकृत एवम् अवैधानिक सञ्चालनको बाटोतिर डोऱ्याउँदै छ । गिरिजाप्रसाद कोइरालाले आफ्नो पद त्यागिदिनुपर्ने र अरू कसैलाई त्यसमा बिनासर्त स्थापित गराउनुपर्ने माग फेरि एकपटक तेर्सिएको छ । गिरिजाप्रसाद कोइराला ‘टीका’ लगाएर नेता बन्नुभएको अवश्य होइन । पार्टीका सर्वोच्च वैधानिक निकायले प्रचण्ड बहुमत दिएर उहाँलाई सभापति बनाएको हो । उहाँलाई संसदीय दलको नेता काङ्ग्रेसी सांसदहरूले बनाएका हुन् । कसैलाई कोइरालाको खुइलिएका तालु मन नपर्दैमा खुरुक्क उहाँले पद छोडेर हिँड्ने कुरा भएन । यदि धेरैलाई त्यस्तो लाग्छ भने त्यसको वैधानिक निकास खोज्नुपर्दछ ।

एउटा प्रजातान्त्रिक पार्टीका व्यक्तिहरूले प्रतिस्पर्धासँग डराउनुहुँदैन । धाक, धम्की र घुर्कीले प्रजातान्त्रिक पार्टी चल्दैन । त्यसलाई प्रक्रियासम्मत तरिकाले सञ्चालन गरे मात्र त्यसको भविष्य सुनिश्चित हुन्छ । वैधानिक निकायबाट प्राप्त अभिमतलाई बलात् कुल्चेर व्यक्तिको महत्वाकाङ्क्षा पूरा गर्ने कसरतले पार्टीको अधोगति निम्त्याउँछ । मानिस भएपछि कुनै न कुनै ठाउँमा गल्ती हुन्छ । हिजो बीपीले पनि गल्ती गर्नुभएको होला । गणेशमानजीले पनि गल्तीबाट मुक्ति पाउनुभएन । त्यस्तै गिरिजाप्रसाद र कृष्णप्रसादबाट पनि गल्तीहरू भएका छन् । विगतको खाटाहरू कोट्याएर गल्ती सुध्रिँदैन । काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले कोइरालालाई भन्नुभएछ कि पार्टी सभापति कि संसदीय दलको नेता छोड्नुहोस् ।

एउटा प्रजातान्त्रिक पार्टीका व्यक्तिहरूले प्रतिस्पर्धासँग डराउनुहुँदैन । धाक, धम्की र घुर्कीले प्रजातान्त्रिक पार्टी चल्दैन । त्यसलाई प्रक्रियासम्मत तरिकाले सञ्चालन गरे मात्र त्यसको भविष्य सुनिश्चित हुन्छ । वैधानिक निकायबाट प्राप्त अभिमतलाई बलात् कुल्चेर व्यक्तिको महत्वाकाङ्क्षा पूरा गर्ने कसरतले पार्टीको अधोगति निम्त्याउँछ ।

त्यति मात्र होइन, आइतबारको अखबारमा त उहाँले आफूसँग चालीस प्रतिशत सांसदहरू भएकाले काङ्ग्रेस फुटाउने अतिवादी विचारसमेत व्यक्त गर्नुभएको छ । अवैधानिक लेनदेनलाई प्रश्रय दिएर कसैलाई विस्थापित र कसैलाई स्थापित गराउने मनोकाङ्क्षा प्रजातान्त्रिक हुन सक्दैन भन्ने कुरा कृष्णप्रसाद भट्टराईजस्ता पाको नेतालाई थाहा छैन कसरी भन्नु ? मन्त्री छनोट र केन्द्रीय समिति गठनसम्बन्धी विवाद अतिवादी मागको कारण हो त ? राजनीतिको उहापोहबाट परिचित अनुभवी नेता स्वयम् वैधानिकताको बाटो बिर्सनुहोला भनी कसरी मान्न सकिन्छ ? मत¬विमत र विवाद जहाँ पनि हुन्छ । तर, त्यसको समाधान सडकबाट हुँदैन । त्यसलाई उपयुक्त स्थानमा राखेर समन्वय–सामञ्जस्यको बाटो खोज्नुपर्दछ ।

कसैको व्यक्तिगत स्वतन्त्रतामा बन्देज लगाएर, हात खुट्टा बाँधेर लौ अब काम गर भन्नु चित्त विभ्रमको सङ्केत हो । यतिखेर गिरिजाप्रसाद कोइरालाको व्यक्तिगत स्वतन्त्रतामाथि अङ्कुश लगाउने र उहाँलाई कामै गर्न नदिने गरी हातखुट्टा बाँधेर राख्ने प्रपञ्च थालिएको छ । यो विडम्बना नै भन्नुपर्दा त्यस्तो प्रपञ्चमा जानेर वा नजानेर प्रजातन्त्रवादी नेता भनेर स्थापित व्यक्ति स्वयम् अग्रसर हुनुभएको छ । विगत एक महिनायता (नेपालगञ्ज महासमितिपछि) काङ्ग्रेसका दुई शीर्षस्थ नेता कृष्णप्रसाद र गिरिजाप्रसादबीच अत्यन्त राम्रो सम्बन्ध देखिएको थियो । भट्टराईजीका सार्वजनिक विचारहरूमा कतै पनि गिरिजाप्रसादका विरुद्धमा शब्दहरू थिएनन् । असहमति–असन्तुष्टिका तुषहरू कतै देखिएका थिएनन् । टेलिभिजन र रेडियोबाट उहाँ गिरिजाप्रसादको प्रशंसामा पुल बाँध्नुभयो । कोइराला हरेक दिन भट्टराईसँग भलाकुसारी गर्न खुमलटार पुग्नुहुन्थ्यो ।

भट्टराईजीका सबै आग्रह र सुझावहरू क्रमिक स्थापित हुन थालेको थियो पार्टीमा गिरिजाप्रसादको ‘म्यान अफ एक्सन’ छवि सम्झौतापरस्त भएको आरोप लाग्न थालेको थियो । त्यस्तै बेलामा कृष्णप्रसाद भट्टराईले अप्रत्यासित रूपले विगतका खाटाहरू कोट्याएर असहमति–असन्तुष्टिका स्वरहरू उराल्नुभयो । यो काङ्ग्रेसको नियति हो अथवा नियतमा देखिएको खोट । भट्टराईजीको असहमति र असन्तुष्टिले खलबल ल्याएको छ । राष्ट्रिय राजनीतिलाई अन्योल अनिश्चितताको भुमरीमा फ्यालिदिएको छ । सुनिन्छ, काङ्ग्रेसभित्र समस्या समाधानको लागि एउट कमिटी बनेको छ । काङ्ग्रेसमा एउटा परम्परा छ– बेस्सरी झगडा गर्ने र अन्ततः यथास्थानमा ‘प्याचअप’ गर्ने । कमिटीले ‘प्याचअप’को अस्थायी समाधान निकाल्ने हो कि सम्मानजक संवैधानिक समाधान खोज्ने हो ? भविष्यले बताउला । चिन्ता त यति मात्र छ– काङ्ग्रेस प्रजातान्त्रिक पार्टी हुने कि तानाशाही ।

(२०५४ मङ्सिर २५ बुधबार प्रकाशित घटना र विचारबाट)