– विश्वम्भर चञ्चल
नकच्चराहरू ! बिहान बोल्छन्,
बेलुका बिर्सन्छन्
आज बोल्छन्, भोलि तर्किन्छन्
कसैले सोध्यो भने
ज्या…. बिर्सेँछु भन्छन्
या त फुर्सद नै भएन भन्दै
दारा ङिच्च्याउँछन्,
वा, एउटा कुनै वहाना पार्छन्
न कहिल्यै कसैको प्रत्युत्तर दिन्छन्
न त जे गर्नुपर्ने हो, गरी नै दिन्छन्
यिनीहरूसँग इमान, जमान र
जिम्मवारीको बोध नै छैन
समय र आवश्यकताको
ज्ञान नै छैन, चेतनाको जरो–मूलो नै छैन
किनकि यिनीहरू नकच्चरा छन्
र, नकच्चराको औषधि नै हुँदैन ।
नकच्चराहरूले बोकेका छन्
ठूला–ठूला पद र डिग्रीका प्रमाणपत्रहरू
या त मानिएका छन् ज्यू–हजुरका भागीदारहरू
सामाजिक प्रतिष्ठाका धनीहरू
तर, इमानदार कहिल्यै बन्दैनन्
आवश्यकता र जिम्मेवारीको बोध कहिल्यै गर्दैनन्
अरू त अरू
देश चलाउने मन्त्री र नेताहरू नै, जनतालाई ढाँटिरहेका छन्
बोलेका प्रतिबद्ध वचनहरूलाई
आफैंले काटिरहेका छन्
सरकारी आफ्नै निर्णयलाई पनि
आफैंले उल्ट्याइरहेका छन्
नियम–कानुनको धज्जी उडाएका छन्
संविधानकै अपव्याख्या गरी
टोडमरोड गरेका छन्
र, भनिरहेका छन्– यो हाम्रो बाध्यता हो
किनकि यिनीहरू नकच्चरा छन्
र, नकच्चराको औषधि नै छैन ।
– मैतीदेवी
प्रतिक्रिया