ट्रम्पले लिए उत्तर कोरियाको मानसिकताबारे जानकारी

ट्रम्पले लिए उत्तर कोरियाको मानसिकताबारे जानकारी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने बताएका छन् । मिचिगन राज्यको एक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘वार्ताहरु सकारात्मक मात्र नभएर महत्वपूर्ण रुपम अघि बढिरहेका छन् र उत्तर कोरियाका नेता किम जोङ उनसँग आगामी तीन या चार हप्तामा हामीले पनि वार्ता गर्नेछौँ ।’ गत महिना पनि ट्रम्पले उत्तर कोरियासँगको वार्ता अभूतपूर्व रुपमा सफल हुने धारणा सार्वजनिक गरेका थिए ।

राष्ट्रपति ट्रम्पले यो घोषणा गरिरहँदा यता ह्वाइट हाउसले पनि सो वार्ताको पुष्टि गरेको छ । ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– ‘राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग वार्ता गर्नुहुने भएको छ र सो वार्ताको मिति चाँडै तय गरिने छ ।’

हालै मात्र उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरमा भएको वार्ता, सहमति र यी दुई देशबीच भएको युद्धअन्त्यको घोषणासँगै कोरियाली प्रायद्वीपमा शान्ति र वार्ताका लागि ठूलो प्रगति भएको बताइएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा अणु अस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएको समचार यसअघि नै आएको छ । यसका कारण आफूले वार्तामा बस्न सहमति जनाएको जानकारी राष्ट्रपति ट्रम्पले दिइसकेका छन् ।

यसैक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार बिहान दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँग फोन वार्ता गगरेका छन् । सो फोनवार्तामा ट्रम्पले उत्तर कोरियाली नेतासँग भएको फोनवार्तापछिको पछिल्लो प्रगतिको बारेमा जानकारी लिएका ह्वाइट हाउसद्वारा प्रेषित विज्ञप्तिलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले दुई कोरियाली उच्च नेताबीच गएको शुक्रबार भएको सहमति र सम्झौताका साथै उत्तर कोरियाको पछिल्लो अडान र मनस्थितिको बारेमा कुराकानी गरेका ह्वाइट हाउसले जनाएको छ । त्यसैगरी राष्ट्रपति ट्रम्पले यसै विषयलाई लिएर जापानी प्रधानमन्त्री सिन्जो आबेसँग पनि फोन वार्ता गरेका छन् ।

उता चिनियाँ राष्ट्रपति सि चिनफिङले संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ताको सफलताको कामना गरेका छन् । समाचारअनुसार यी दुई देशबीच हुने भनिएको आगामी वार्ता प्रगतिउन्मुख होस् भन्ने कामना गर्दै राष्ट्रपति सिले सो वार्ता छिट्टै आयोजना गर्न पनि आग्रह गरेका छन् ।

कोरियाली प्रायद्वीपमा खुसियाली

कोरियाली प्रायद्वीपमा सन् १९५३ पछि कोरियाली जनता त्रास र अन्यौलमा बाँच्न बाध्य छन् । कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच अझै पुनर्मिलन हुन नसकेको अवस्थामा दुई कोरियाबीचको यो पछिल्लो वार्ताले धेरैमा आशा थपेको बताइन्छ ।

गएको शुक्रबार सम्पन्न भएको दुई कोरियाली उच्च नेताहरूको भेटवार्ताले कोरियाली जनतालाई मात्र नभएर दक्षिण कोरिया, जापान, अमेरिकालगायत विश्व समुदायलाई पनि शान्तिको लागि राहत प्राप्त हुने सङ्केत देखिएको बताइएको छ ।