कसरी भन्ने म सेक्सी ?

कसरी भन्ने म सेक्सी ?


funtimeथोरै भाग्यमानी मोडलहरूमध्येमा पर्छिन् अपेक्षा सिलवाल । थोरै समयमा धेरै चर्चा पाउन सफल अपेक्षाले तीनवटा म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् भने यी तीनवटै भिडियोले उनलाई दर्शकमाझ चिनाएको छ । क्षमता र दक्षता भयो भने सफलता पाउन धेरै समय लाग्दोरहेनछ भन्ने कुराको उदाहरण पनि अपेक्षा नै हुन् । दुई नायक आर्यन सिग्देल र यशराजको जोडी बनिसकेकी अपेक्षाले भूषण दाहाल र समन अधिकारीको निर्देशनमा म्युजिक भिडियो खेलिन् । यसै साता मात्र उनी थप भिडियोको छायाङ्कनका लागि भारतको राजस्थान जाँदै छिन् भने त्यसपछि उनी बैंककतिर लाग्नेछिन् । अपेक्षाले उदीतनारायण झा, अञ्जु पन्त, सुनिल बुर्लाकोटी र मिलन अमात्यको गीतमा मोडलिङ गरिसकेकी अपेक्षासँग यसपटक रमाइलो कुराकानी गरिएको छ ।
० म्युजिक भिडियोमा त निकै सुन्दर देखिन्छ नि ?
– भिडियोमा मात्र, के म वास्तविकतामा पनि राम्री छैन र !
० थोरै समयमा यत्रो चर्चा कसरी ?
– मलाई त त्यस्तो लाग्दैन । यो सबैको माया हो ।
० म्युजिक भिडियो मात्र खेल्ने कि अरू पनि … ?
– अब बिस्तारै अन्य विधामा पनि हात हाल्नुपर्छ । मोडलिङसँगै अब चलचित्रतिर पनि हात हाल्ने योजनामा छु ।
० दिक्क लाग्छ… ?
– कुरा गर्ने तर काम नगर्नेहरू देखेर ।
० आफ्नो मनपर्ने दुईवटा कुरा ?
– आँखा र मेरो उचाइ ।
० खुसी लाग्छ … ?
– अरूले सकारात्मक प्रतिक्रिया दिँदा ।
० कसैलाई गाली गर्नुप¥यो भने निस्कने शब्द ?
– अहिलेसम्म त्यस्तो गाली गर्नु परेको छैन
० जान्नैपर्ने तर सिक्न मन लागेको कुरा ?
– अभिनय ।
० अहिले सिकिरहेको ?
– नृत्य, एरोविक ।
० दुईजना स्वदेशी सेक्सी नायिकाको नाम लिनुपर्दा ?
– करिश्मा मानन्धर र झरना बज्राचार्य ।
० आफू नि… ?
– आफ्नोबारेमा आफैँ नभनौँ कि । कसरी भन्ने म सेक्सी छु वा छैन भनेर ।
० चुम्बन कि सेक्स… ?
– अहिलेलाई दुवै होइन । पहिले क्यारिअर… ।
चलचित्रकर्मी नमानेकोमा पप्पुको दुखेसो
एकातिर विभिन्न माग राखेर चलचित्रकर्मीहरू आन्दोलनमा उत्रिरहेका थिए भने अर्कोतिर सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मरवौता ‘पप्पु’लाई नियुक्त गरेपछि आन्दोलनरत चलचित्रकर्मी आगो हुन पुगे । उनीहरूको भनाइ गैरचलचित्रकर्मीलाई बोर्डको अध्यक्ष बनाइनु चलचित्रकर्मीको अपमान र बेइज्जत हो । चलचित्रकर्मीको एक समूह भन्छ, ‘को हो पप्पु ? नाम नै नसुनेको व्यक्ति कसरी अध्यक्ष भयो ?’ तर यता नवनियुक्त अध्यक्ष धर्मेन्द्र मरवौता ‘पप्पु’ भने आफू पुरानो कलाकर्मी र चलचित्र निर्माता भएको अनि यस कारणले नै आफूलाई सरकारले नियुक्त गरेको स्पष्टीकरण दिँदै थिए । आइतबार नयाँ बानेश्वरको रोजमेरी रेस्टुरेन्टमा जम्काभेट हुँदा पप्पुले घटना र विचारसँग गुनासो पोख्दै भने, ‘मविरुद्ध किन यसरी खनिएका होलान् चलचित्रकर्मीहरू । म चलचित्रकर्मी हुँ भन्ने कुराको प्रमाण कति पेस गरूँ ? मैथिली, भोजपुरी अनि नेपाली भाषाका चलचित्रको निर्माता तथा नायक हुँ म । के नेपाली भाषाको चलचित्रमा काम गर्ने मात्र चलचित्रकर्मी हो ?’
समावेशीको आवाज उठिरहेको अवस्थामा मुलुकभित्रकै भाषाको चलचित्रकर्मी अध्यक्ष भएकोमा चलचित्रकर्मीले गर्व गर्नुपर्ने कुरा नवनियुक्त अध्यक्ष पप्पुले बताए । किन यो विरोध भइरहेको छ त ? जवाफमा उनले भने, ‘यो विरोधमा राजनीतिक रङ दिने प्रयास भइरहेको छ । तर, म आन्दोलनरत मेरा सहकर्मी चलचित्रकर्मीलाई भन्छु कि तपार्इं–हामी सबै मिलेर अगाडि बढ्नुपर्छ । त्यसैले अरूको निम्ति प्रयोग नहुनुस् ।’
आफू चलचित्र निर्माता सङ्घको सदस्य रहेको उनले बताए । ‘चुनावको समयमा फोन गरी–गरी भोट माग्ने अनि अहिले म चलचित्रकर्मी होइन भन्न मिल्छ ? म चलचित्रकर्मी होइन भने म निर्माता सङ्घको सदस्य कसरी भएँ त ?’ उनले बताए, ‘सबै तिक्तता बिर्सिएर सबै मिलेर चलचित्र क्षेत्रलाई माथि उठाउनुपर्छ अब ।’
नेपाली सिनेमा उद्योगमा नाम चलेका झरना थापा, पूजना प्रधान, विशाल विष्ट, कुमार एन्ड कुमारजस्ता कलाकारले धर्मेन्द्र मरवौताको चलचित्रमा काम गरेको वास्तविकता पनि यतिबेला बजारमा आएको छ ।
नवनियुक्त अध्यक्ष पप्पुले तीन महिनामा काम गरेर देखाउन नसकेमा अरूले आन्दोलन गर्न नपर्ने बरु आफू नै कुर्सी छाड्ने दाबी पनि गरे । ‘मसँग धेरै भिजन र योजना छ । यो समय वादविवाद र खुट्टा तान्ने समय होइन, अब हातेमालो गर्दै सबै अगाडि बढ्नुपर्ने समय हो,’ उनले भने । पप्पुले चलचित्रकर्मीहरूलाई पेन्सन, अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गरेर बजार विस्तार तथा स्टुडियो निर्माणतर्फ आफू लागिपर्ने कुरा बताए । ‘अब नेपालमा मात्र बजार खोज्ने होइन कि विदेशमा पनि बजार खोज्नुपर्छ,’ उनले आफ्नो योजना सुनाए ।
आफूले यसै हप्ता पद बहाली गर्ने र चलचित्रकर्मीहरूको साथ अनि सहयोग लिएर अगाडि बढ्ने कुरा उनले बताए । ‘म एक्लैले केही गर्ने होइन । यो त सामूहिक प्रतिबद्धता र कटिबद्धताको क्षेत्र हो । त्यसैले उहाँहरूले उठाउनुभएको मागलाई हामी सबै मिलेर पूरा गर्नु नै आजको आवश्यकता हो ।’