बुद्धलाई कसरी सम्झिने ?

बुद्धलाई कसरी सम्झिने ?


– बबिता बस्नेत

गौतम बुद्धबारे अध्ययन गर्दा उनलाई पच्चीस सय वर्षसम्म आफैँले एकछत्र राज गरूँजस्तो कहीँ–कतै लागेको थियो जस्तो लाग्दैन । कारण, उनी आफूले वर्षौं लगाएर गरेको सत्यको खोज र त्यसबाट प्राप्त परिणामको बाटोमा सबै हिँडून् भन्ने चाहन्थे । विभिन्न मुलुकमा उनले देखाएको बाटो हिँड्ने प्रसस्त प्रयास भए पनि हामीकहाँ भने ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने कुरामै रमाएर हामी बसिरहेका छौँ । प्रत्येक महिना औँसी र पूर्णिमाहरू आउँछन्, जान्छन् । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेका कारण वैशाख महिनाको पूर्णिमालाई बुद्धपूर्णिमाका रूपमा मनाउने गरिएको छ ।

संयोग कस्तो छ भने सिद्धार्थ गौतम जन्मिएको, उनले निर्वाण प्राप्त गरेको र उनको देहान्त भएको दिन एउटै थियो वैशाख पूर्णिमा । त्यसैले वैशाख पूर्णिमालाई शक्तिले पूर्ण रातका रूपमा लिइन्छ । गौतम बुद्धसँग जोडिएको अर्को संयोग हो, रूख । उनको जन्म रूखको फेदमा भयो, रूखको फेदमा बसेर ध्यान गरिरहेका बेला ‘इन्लाइन्टमेन्ट’ प्राप्त भयो र उनको मृत्यु रूखको फेदमै भयो । चन्द्रमा र रूखसँगको यो गज्जबको संयोग थियो गौतम बुद्धको ।

सिद्धार्थ गौतम जन्मिएपछि ज्योतिषले भनेका थिए रे, यो बच्चा कि त राजाको रूपमा संसारविजेता हुन्छ कि त भिक्षुको रूपमा । जे हुन्छ, संसारमा यसको नाम हुन्छ । राजा शुद्धोधन आफ्नो छोराको जन्मकुण्डलीलाई लिएर ज्योतिषले गरेको भविष्यवाणीको पहिलो भनाइ पूरा होस् भन्ने चाहन्थे, त्यसैले उनी हुर्किंदै जाँदा राजकीय सुखसुविधा बढाउँदै लगे । तर, १८ वर्षको उमेरमा जब उनले बूढोमान्छे बाटोमा देखे, मानिस किन बूढो हुन्छ भन्नेबारेमा उनमा जिज्ञासा भयो । बिरामी भेटे, यो के हो, किन यस्तो भयो भन्ने प्रश्न मनमा आयो ।

घाट लाँदै गरेको लास देखेपछि मानिस किन मर्छ, के सबै मान्छे मर्छन्, म पनि मर्छु ? भन्ने कुराले आत्मैदेखि हल्लायो । त्यसपछि खाने, लाउने, सुत्ने, उठ्ने, बिहा गर्ने, बच्चा पाउने मानिसका आमदिनचर्याभन्दा छुट्टै, जीवन र मृत्युको सत्यको खोजी गर्न सिद्धार्थ दरबारको वैभव छोडेर हिँडे । हिजोआज हामीकहाँ कतिपय मानिसहरू मैले त्याग गरेँ भन्छन् । सिद्धार्थसँग राजकीय वैभव थियो, त्यसलाई त्यागे । अहिले जसले त्याग गरेँ भनिरहेका हुन्छन्, उनीहरूसँग त्याग गर्नका लागि खासै केही हुँदैन । जिन्दगीमा भन्नु र गर्नुबीचको दूरी निकै लामो छ ।

‘अहम’ले मानिसलाई मान्छे बन्न दिँदैन । हामी त आफैँले आफैँलाई ‘म यस्तो’बाट सुरु गर्छौँ । को कस्तो भन्ने कुरा मानिसको बोली, व्यवहार र विनम्रताबाट थाहा हुने हो । अहममाथि जति प्रहार हुँदा पनि सहन सक्ने भएपछि मानिस साधु या जोगी बन्छ ।

बुद्धको बारेमा सम्झिदा कहिलेकाहीँ मनमा आउँछ– उनी रूखको मुनि नै ध्यानमा किन बसे ? त्यतिबेला अहिलेजस्तो घरहरू थिएनन् । आश्रम बनाउने सोच पनि थिएन, शायद त्यसैले उनी रूखमुनि बसे । कठिनभन्दा कठिन समय गुजारेर गौतम बुद्धले जीवनको सत्य पत्ता लगाए । जसलाई बुद्धको आर्य सत्य पनि भनिन्छ । जीवनमा दुःख छ, दुःखको कारण छ, निराकरणका उपायहरू छन् । जिन्दगीमा सुख र दुःख आफैँभित्र छ, राम्रो–नराम्रो आफैँमा निहित छ । बुद्धत्व प्राप्तिपछि बुद्धलाई जसजसले तिमी को हौ भनेर सोधे, जवाफमा एउटै कुरा आयो, ‘म कोही पनि होइन ।’ जब मानिस आफू सबै थोकको अवस्थामा पुग्छ अनि उसले भन्छ, म कोही होइन, केही होइन ।

हामीकहाँ त कसैको परिचय माग्यो भने परिचयहरू यति लामा भइदिन्छन् कि तिनका योगदान नै परिचयले छोपिदेलान् जस्तो हुन्छ । बुद्धको सन्देशमध्येको एक विनम्रता हो । ‘अहम’ले मानिसलाई मान्छे बन्न दिँदैन । हामी त आफैँले आफैँलाई ‘म यस्तो’बाट सुरु गर्छौँ । को कस्तो भन्ने कुरा मानिसको बोली, व्यवहार र विनम्रताबाट थाहा हुने हो । अहममाथि जति प्रहार हुँदा पनि सहन सक्ने भएपछि मानिस साधु या जोगी बन्छ । साधुजीवनमा आफूसँग जे–जे भए पनि कमण्डलु बोकेर माग्न हिँड्ने गरिन्छ । हात थापेर ढोकाढोका माग्दै हिँड्नु भनेको आफ्नो सम्पूर्ण अहम् त्याग गर्नु हो । अहममा प्रहार हुँदा पनि सहनशील भएर एउटै व्यवहार गर्न सक्नु साधुजीवन हो । जुन जीवन बुद्धले अपनाएका थिए ।

सम्भावना र वास्तविकताबीचको दूरी लामो हुन्छ । सम्भावना अनुमान गर्ने कुरा हो, वास्तविकता भोगेर महसुस गर्ने या अनुभव गरिने कुरा हो । हामी सम्भावनाको कुरा गरेर, सोचेर जीवन गुजार्छौँ, बुद्धले सधैँ वास्तविकताको कुरा गरे । सत्य आफँैले अनुभव गर्नुपर्छ भन्ने सन्देश दिए । एकपटक एक ज्योतिषले जङ्गलमा मानिसको पाइलाका डोब देखेछन् । पाइलाका रेखा हेरेर कुनै राजा–महाराजाका पाइला भन्ने लागेपछि उनले पाइला पछ्याउँदै हिँडे । बुद्धलाई जङ्गलमा भेटेपछि ज्यातिषले भने, ‘तिम्रा पाइलाका रेखाअनुसार तिमी ठूलो राजा–महाराजा हुनुपर्ने हो, तर तिमी त भिक्षुको भेषमा छौ । भन, म गलत कि तिमी गलत ?’ बुद्धले जवाफ दिए, ‘गलत हामी दुवै छैनौँ । तिमी भविष्यवाणी गर्छौ, म योजना बनाउँछु । योजना बनाएर अघि बढे भविष्य राम्रो हुन्छ । मानिसहरू आफ्नोबारेमा थाहै नपाई, त्यसै हिँडिरहेका छन् । खुसी हुने उपायहरू हुँदाहुँदै दुःखले यताउता भड्किरहेका छन् ।’

ध्यान बुद्धले छोडेर गएको सबैभन्दा वैज्ञानिक जीवन बुटी हो जसले मानिसलाई आत्मैदेखि स्वतन्त्र बनाउँछ । ध्यानले मानिसलाई सकारात्मक बनाउँछ, जसको प्रत्यक्ष सम्बन्ध शारीरिक र मानसिक स्वास्थ्यसँग छ ।

भगवान् बुद्धका सन्देश व्यावहारिक मात्रै छन् । किनभने व्यावहारिक अभ्यासबाट आएका अनुभवहरू नै उनका सन्देश हुन । ध्यान बुद्धले छोडेर गएको सबैभन्दा वैज्ञानिक जीवन बुटी हो जसले मानिसलाई आत्मैदेखि स्वतन्त्र बनाउँछ । ध्यानले मानिसलाई सकारात्मक बनाउँछ, जसको प्रत्यक्ष सम्बन्ध शारीरिक र मानसिक स्वास्थ्यसँग छ । प्रायः मानिस आफ्नोबारेमा थाहै नपाई, आफूलाई चिन्दै नचिनी अरूको बारेमा टीका–टिप्पणी गर्छन् । आफूलाई चिन्ने प्रक्रिया त्यति सहज छैन र कोसिस गर्ने हो भने त्यस्तो गाह्रो पनि होइन । असल र खराब दुवै कुरा हामीभित्र छन् । असल गुणलाई बढावा दिएर खराबलाई कुल्चिने या खराबलाई हुर्काएर असल कुरालाई बढ्न नदिने हाम्रै हातमा छ । मानिसको आफ्नो शत्रु आफैँ हो र मित्र पनि आफैँ हो । मीठो वचन, राम्रो व्यवहार, अरूलाई सम्मान र असल कामहरू हाम्रा मित्र हुन् जसले राम्रो नै परिणाम दिन्छन् । छुद्र व्यवहार, अरूको अपमान र बोली–वचन हाम्रा शत्रु हुन् जसले नराम्रै परिणाम दिन्छन् ।

बुद्धलाई सम्झिने हो भने बुद्ध नेपालमा जन्मिएका हुन् भनेर मात्र पुग्दैन, बुद्धले अपनाएका प्रज्ञा र शीलको उपयोग गर्नुपर्छ । ध्यानले नम्रतापूर्वक सबैलाई राम्रो व्यवहार गर्न सिकाउँछ । बुद्धले त्यत्तिका वर्ष कठिन सङ्घर्ष गरेर पत्ता लगाएको सत्यलाई हामीले जीवनशैलीका रूपमा अपनाउन सक्यौँ भने हामीलाई असल हुनबाट कसैले रोक्न सक्दैन ।