यिनी हुन् झापाकी दीक्षा पाठक । हिरोइन बनेर तहल्का मच्चाउने ठूलो अभिलाषा बोकेकी छिन् यिनले । त्यसैले पत्रकारिता विषय पढ्दै गरेकी यिनले सिनेमा क्षेत्र नै रोजिन् । थारू भाषाको चलचित्रमा अभिनय गरेपछि कलाकारिता क्षेत्रतर्फ हामफालेकी दीक्षाले त्यसपछि टेलिफिल्म र अन्य फिल्महरूमा काम गरिन् । उनले अभिनय गरेको दुइ ठूलो पर्दाका चलचित्रहरू ‘नाइन ओ क्लक’ र ‘लुकी–लुकी’ अब प्रदर्शनका लागि तयार भएका छन् ।
० पत्रकारितामा नलागेर किन सिनेमा क्षेत्र रोजेको नि ?
– बच्चादेखि नै मेरो रहर सिनेमा क्षेत्र थियो । यसमा नलागीकन सकिनँ ।
० भनेपछि अब पत्रकारिता छोड्ने ?
– होइन नछोड्ने ? कलाकारितामा खासै केही गर्न सकिएन भने त पत्रकारिता आफ्नो विषय छँदै छ नि ।
० झापाका केटीहरू निकै धूर्त हुन्छन् भन्छन् नि ?
– त्यो त हेर्ने दृष्टिकोण र व्यवहारमा भर पर्छ । के म धूर्त छु त ।
० किन त्यसो भनिएको होला ?
– हरेक ठाउँमा हुन्छन् राम्रा या नराम्रा । केही नराम्राले गर्दा अरूमाथि पनि त्यस्तै नजरले हेरियो । तर, सबैलाई एउटै नजरले हेरिनु राम्रो होइन ।
० सिनेमा खेल्न त निर्माताहरूको ओछ्यान तताउनुपर्छ । नयाँबाट निर्माताले यस्तै आशा राख्छन् भन्छन् नि ?
– अरूले के गरे त्यो मलाई थाहा छैन । तर मैले अहिलेसम्म त्यस्तो गर्नुपरेको छैन । त्यो त आफूमा पनि भर पर्छ । मलाई त ओछ्याउन तताएर फिल्म खेल्नु छैन ।
० दीक्षा त नयाँ कलाकार, काठमाडौंमा टिक्न सकिन्छ त ?
– अहिलेसम्म टिकेकै छु । हेरौँ कहिलेसम्म टिकिन्छ । सङ्घर्ष गर्दै छु फल त पाइएला नि ।
० कत्तिका छन् दीक्षामाथि आँखा लगाउनेहरू ?
– होलान्, तर मैले पनि त आँखा लगाउनुप-यो नि । अहिले ब्यायफ्रेन्डतिर लागेकी छैन म । पहिले क्यारियर नै बनाउने उद्देश्य छ ।
० आजभोलि त नयाँ केटीहरू निकै उत्तेजक फोटो खिचेर बजारमा छाउन थालेका छन् । दीक्षाको के छ यसमा विचार ?
– त्यसरी हेर्दा पनि घीन लाग्ने तस्बिर खिचाएर चर्चामा आउनु छैन मलाई । त्यस्तो काम त अशिक्षितहरूले गर्छन् । म त एउटा जिम्मेवार विषयको विद्यार्थी पनि त हुँ नि ।
धर्मेन्द्रको खुट्टा तान्ने प्रयास असफल
चलचित्र विकास बोर्डमा नवनियुक्त अध्यक्ष धर्मेन्द्र मरवौताविरुद्ध आन्दोलन छेडेर आमरण अनशनमा समेत बसेका केही चलचित्रकर्मीको क्रियाकलाप आइतबार हेर्न लायकको थियो । बोर्डभित्र छिर्न नदिने र छिरे भने जुत्ताको माला लगाउने उद्घोष गरेकाहरू नै हातमा फूलको माला लिएर सबैभन्दा अगाडि स्वागतका लागि लाइनमा बसेको दृश्य देख्नेहरूबीच कानेखुसी चल्दै थियो, ‘कलाकारहरू पर्दामा मात्र होइन, बाहिर पनि गजवको अभिनय गर्दा रहेछन् ।’
आइतबार चलचित्र विकास बोर्डमा पदभार ग्रहण गरेका अध्यक्ष धर्मेन्द्रले आफूलाई गैरचलचित्रकर्मी भनेकोमा दु:ख लागेको कुरा बताए । ‘तर म ती पुराना कुराहरूलाई बिर्सन्छु । अब समग्र चलचित्र उद्योगको भलोका लागि अगाडि बढ्छु,’ उनले भने । आमरण अनशन बसेकोमा नै गौरव महसुस गर्ने कलाकारहरू नै अध्यक्षलाई आफ्नो परिचय दिँदै थिए भने ‘यस्तै भयो, के गर्ने’ भन्दै नतमस्तक देखिन्थे ।
उता स्वागत कार्यक्रममा वरिष्ठ कलाकार मोहन निरौलाले आन्दोलनकारीले उठाएको ‘विज्ञ’ भन्ने शब्दमाथि नै प्रश्नचिह्न उठाए । ‘कतिवटा फिल्म बनाउनेलाई विज्ञ भन्ने वा उमेर पाकोलाई विज्ञ भन्ने ? विज्ञको नाममा आन्दोलन गरेर चलचित्रकर्मीहरूबीच फुट ल्याउन खोजियो,’ उनको आरोप थियो । मुलुक समावेशी भइरहेको समयमा सबै भाषा, जात र धर्मको सिनेमा मूलधारको सिनेमा भएको जिकिर पनि उनको थियो ।
आन्दोलनको क्रममा बोर्डको परिसरमा रहेका गमला फुटाएर रिस फेर्ने केही चलचित्रकर्मीको गलत व्यवहार र आचरणबाट पनि बोर्डका कर्मचारी दिक्क भएका रहेछन् । उनीहरूको गुनासो र रोष यस्तो थियो, ‘यहाँका संरचनामाथि आक्रमण गर्नेलाई हामीले पनि चिनेका छौँ । तिनीहरूको व्यवहारबाट हाम्रो मन दुखेको छ ।’
नवनियुक्त अध्यक्षको स्वागत गर्न आन्दोलनकारीहरूबीच नै तँछाडमछाड भएको दृश्य देख्दा हाँसोको फोहोरा फुटेको थियो बोर्ड परिसरमा । त्यति मात्र होइन, आन्दोलन सहमतिमा टुङ्गिएपछि त्यहीँभित्रबाट आफूलाई सदस्य बनाइदिन अध्यक्षलाई फोन गर्नेहरूको सङ्ख्या पनि कम नभएको रहस्य खुलेको छ । यस्तो अवस्थामा गुज्रिएको आन्दोलनले पनि सबै पदकै पछाडि लाग्दा रहेछन् भन्ने कुरा पनि छर्लङ्गिएको छ । विशुद्ध चलचित्रकर्मीको आन्दोलनमा केहीले राजनीतिक रङ दिन खोजे तापनि त्यो अभीष्ट पूरा नभएकोमा भने आन्दोलनकारी चलचित्रहरूबीच नै रहेको सही चलचित्रकर्मीहरूको समूहले चाहिँ खुसी व्यक्त गरेको छ ।
प्रतिक्रिया