कम्प्युटर सिकाइदिने भन्दै बालक बेच्न खोज्ने पक्राउ

कम्प्युटर सिकाइदिने भन्दै बालक बेच्न खोज्ने पक्राउ


दुई बालकलाई विभिन्न प्रलोभन देखाएर पश्चिमी नाका भएर भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट मानव बेचबिखनमा संलग्नताको आरोपमा ललितपुरको बागमती गाउँपालिका–११ का ४८ वर्षीय शिवप्रसाद गौतमलाई पक्राउ गरेको छ ।

अभियुक्त गौतम विरुद्ध मानव बेचबिखन मुद्दामा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले गौतमलाई १३ र १४ वर्षीय दुई बालकलाई मःम बनाउने काम र कम्प्युटर कोर्स सिकाइदिने प्रलोभन देखाएर भारत लैजाने क्रममा गत सोमबार पक्राउ गरेको थियो ।

भीमदत्तनगरको बसपार्कस्थित एक होटलमा एकरात बसेपछि अर्को दिन भारतीय नम्बरको जिपमा दुई बालकलाई भारत लैजाँदै गरेको अवस्थामा सोधपुछ गर्दा उक्त घटनाको रहस्य खुलेको राससले जनाएको छ । प्रहरीले दुबै बालकलाई आफन्तको जिम्मा लगाएको छ ।