भारतमा हावाहुरीले लियो असी जनाको ज्यान

भारतमा हावाहुरीले लियो असी जनाको ज्यान


हावाहुरी र धुलोका कारण उत्तरी भारतमा गएराति करिव ८० जनाको मृत्यु भएको छ । सो हावाहुरीबाट ठूलो संख्यामा रुख ढलेका छन् भने घर तथा कार्यालयका पर्खालहरु पनि भत्किएका छन् । उत्तर प्रदेश र राजस्थान राज्यमा यस्तो आँधी आएको हो ।

त्यसमा परी १४३ जना घाइते भएका छन् । घाइतेहरु तथा मृत्यु हुनेको संख्या अझै धेरै रहेको अनुमान गरिएको छ । यस हावाहुरीबाट भएको क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन ।

प्राप्त समाचारमा उत्तर प्रदेशमा ४६ र राजस्थानमा ३१ जनाको ज्यान गएको पुष्टि भएको छ भने मृतकको संख्या अझै बढ्न सक्ने एजेन्सीहरुले जनाएका छन् । केही व्यक्ति हराइरहेका सम्बन्धित अधिकारीहरुले जनाएका छन् ।

उत्तर प्रदेशको आग्रा जिल्लाबाट ताजमहल जाने बाटो बढी प्रभावित भएको छ । त्यहाँ बढीजसो नागरिक रुख ढलेर र रुखका हाँगा भाँचिएर बढी घाइते भएका छन् । ती दुवै राज्यका कम्तीमा पनि ७५ जिल्लामा यस हावाहुरीले ठूलो क्षति पुऱ्याएको राजस्थानका प्रहरी प्रमुखले जानकारी दिएका छन् ।