चर्चित कराते खेलाडी मलिका थापा अष्ट्रेलिया पलायन

चर्चित कराते खेलाडी मलिका थापा अष्ट्रेलिया पलायन


– श्रीविक्रम भण्डारी

चर्चित कराते खेलाडी मलिका थापा अष्ट्रेलिया पलायन भएकी छिन् । अष्ट्रेलियाको सिडनीमा हालै सम्पन्न ‘अष्ट्रेलियन ओपन कराते’मा प्रतिस्पर्धा गरेकि मलिका स्वदेश नफर्किएपछि उनी अष्ट्रेलिया पलायन भएको अहिले खेलकुदमा चर्चामा चलेको छ । मलिकाले अष्ट्रेलियन ओपन करातेमा स्वर्ण पदक जितेकि थिइन् ।

अप्रिल २० देखि २२ तारिखसम्म संचालन भएको अष्ट्रेलियन ओपन कराते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै ६ जना खेलाडीले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा विनोद शाक्य, दिगम्वर प्रसाद पन्त, गगन पुन, निराजन भण्डारी मलिका थापा र अनु अधिकारीले प्रतिस्पर्धा गरेका थिए । त्यस्तै टीम व्यवस्थापकमा कुवेरसिंह खड्का रहेका थिए ।

मलिका करातेकि प्रतिभाशाली खेलाडी हुन् । मलिकाले राखेप च्याम्पियनसिपमा नेपाल प्रहरीको तर्फवाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक जितेकि थिइन् । उनले फाइनलमा नेपाली सेनाकि मनिषा चौधरीलाई पराजित गर्दै इन्डोनेसियाको राजधानी जकार्तामा आयोजना हुन गैरहेको १८ औं एसियाली खेलकुद प्रतियोगिताको राष्ट्रिय कराते छनोट टीममा परेकी थिइन् ।

मलिका एसियाडको बन्द प्रशिक्षणमा रहेकै बेला अष्ट्रेलियन ओपन कराते खेल्न गएकि थिइन् । मलिकालाई नेपाल कराते महासंघको सिफारिसमा राष्ट्रिय खेलकुद परिषदले अष्ट्रेलियन ओपन करातेमा सहभागिता जनाउनका लागि स्वीकृति प्रदान गरेको थियो । अष्टे«लियन ओपन करातेमा सहभागिता जनाउन जाने टीमलाई राखेपका सदस्यसचिव केशवकुमार विष्टले विदाई गरेका थिए । आठ सदस्यीय उक्त टोलीका केहि सदस्य नेपाल फर्किएपनि अन्य अँझै नफर्किएको स्रोतले जानकारी गराएको छ ।

एसियाडको लागि छनोट टीममा परेकि मलिका राखेपको छनोट समितिले बैशाख १५ गते आयोजना गरेको खुला छनोट प्रतियोगितामा सहभागिता नजाएपछि उनी अष्ट्रेलिया पलायन भएको विश्वास गरेको छ । उनी पलायन भएको बारेमा नेपाल कराते महासंघ र राष्ट्रिय खेलकुद परिषदले कुनै आधिकारिक जानकारी नगराएको छैन् । र, पनि एसियाडको छनोट टीम परेकि मलिका खुला छनोटमा सहभागिता नजाएपछि उनी अष्ट्रेलिया पलायन भएको सोझै अनुमान लगाउन सकिन्छ ।

५५ केजीतर्फ खेल्ने मलिकाले राष्ट्रियस्तरमा मात्र नभै अन्तर्राष्ट्रियस्तरका कराते प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गरेर स्वर्ण पदक जित्न सफल भएकि छिन् । मलिकाले गतवर्ष हंगेरीमा सम्पन्न ‘ओपन सितोरियो कराते वल्र्डकप र दुई महिनाअघि जर्मनीमा सम्पन्न ‘बर्लिन ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेकि थिइन् । राष्ट्रिय अन्तराष्ट्रियस्तरमा मलिकाले गरेको उत्कृष्ट प्रदर्शनले उनलाई करातेको उत्कृष्ट खेलाडीको रुपमा हेरिन्थ्यो । अहिले उनै प्रतिभाशाली खेलाडी मलिका अष्ट्रेलिया पलायन भएपछि करातेले १८ औं एसियाडमा पदक जित्ने सम्भावना न्युन भएको छ ।

किन अष्ट्रेलिया पलायन भइन् त मलिका अहिले यो प्रश्न अहम बनेको छ । यो विषयमा सम्वन्धित निकाय नेपाल कराते संघले मौनता साँधेको छ भने राखेपले अहिलेसम्म यो बारेमा कुनै खोजीनीति गरेको छैन । प्राप्त जानकारीका अनुसार करातेमा बढ्दै गएको विवादका कारण मलिका अष्टे«लिया पलायन भएको ठोकुवा गर्न सकिन्छ ।

कराते विवादकै कारण गत इन्चोन एसियाडमा नेपाललाई पदक विहिनवाट जोगाएकि विमला तामाङले पनि राखेपले संचालन गरेको खुला छनोट प्रतियोगितामा सहभागिता जनाएकी थिइनन् । विमला अहिले अमेरिका छिन्, उनी पनि अमेरिकावाट फर्किने नफर्किन कुनै टुङ्गो छैन । विमला पनि अमेरिकामै पलायन भने अन्यथा मानिने छैन ।