निष्ठाको बिदाइ

निष्ठाको बिदाइ


प्रजातन्त्रवादी सन्तनेता कृष्णप्रसाद भट्टराईको देहावसान भएपछि मुलुकमा निष्ठाको राजनीतिले नै बिदा लिएको महसुस गराएको छ । भट्टराई जीवित छइन्जेल उहाँलाई सम्मान नगर्ने र उहाँप्रति कुनै सरोकार नराख्नेहरूले पनि देहावसानपश्चात् एकप्रकारको रिक्तता महसुस गरेको देखिएको छ । गत शुक्रबार (फागुन २० गते) मध्यरातमा भट्टराईले देहत्याग गर्नुभएपछि निष्ठाको राजनीतिको अभाव खेपिरहेका नेपाली जनताले उहाँको निधनमा गहिरो शोक प्रकट गरे । गत आइतबार भट्टराईको पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने क्रममा हजारौँ शोकाकुलले सहभागिता जनाएका थिए । भट्टराईको अन्त्येष्टिमा सहभागीहरूको मुखाकृतिमा श्रद्धाको चोखो भाव झल्किएको देखिन्थ्यो । तर, कृष्णप्रसाद भट्टराईलाई हरतरहले उपेक्षा गर्ने काङ्ग्रेसका नेताहरूले उहाँको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउनु र सदा सम्मान दिइआएको नेतालाई झैं मृत्युपछि व्यवहार गर्नुलाई चाहिँ सर्वसाधारणले स्वाभाविक मान्न सकेका छैनन् । विगतको योगदानको कदर गर्दै राज्यले राष्ट्रिय झन्डा ओढाएर राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएपछि काङ्ग्रेसका नेताहरूले आफ्नै मार्गदर्शक नेतालाई झैं सम्मान गर्न खोज्दा त्यो अत्यन्त असहज देखिएको थियो । कृष्णप्रसाद भट्टराईले साँचो लोकतन्त्रका पक्षमा काङ्ग्रेसलाई उभ्याउन खोज्दा त्यसको अवज्ञा गर्ने काङ्ग्रेसका नेताहरूलाई भट्टराईको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउने र उहाँको निधनमा शोक प्रकट गर्ने अधिकार नभएको सर्वसाधारणको भनाइ छ । भट्टराईको निधनपश्चात् काङ्ग्रेसका नेताहरूले दर्शाएको व्यवहारलाई औपचारिकता र ढोङको पराकाष्टाका रूपमा लिइएको छ । काङ्ग्रेसका नेताहरूमध्ये सभापति सुशील कोइरालाको जीवनशैली सन्तनेताकै सरह साधारण र सात्विक ठानिन्छ । तर, उहाँले पनि भट्टराईको विचारपथप्रति उदासीनता दर्शाउनुभयो । बीपी कोइरालाको विचारका पक्षमा दृढतापूर्वक उभिनुभएका भट्टराईलाई स्वयम् सुशील कोइराला र रामचन्द्र पौडेलले साथ र सहयोग पुर्‍याउनुभएन । २०५२ सालमा कृष्णप्रसाद भट्टराईकै कृपाबाट काङ्ग्रेस संसदीय दलको नेता र पछि प्रधानमन्त्री बनाइएका शेरबहादुर देउवाले त झन् भट्टराईको विचार र जीवनशैली (व्यवहार) दुवैलाई चुनौती दिँदै आउनुभएको ठानिन्छ । भ्रष्टाचारको आरोपमा केही दिन थुनामा परेपछि राजाको विरोधी बन्नुभएका देउवा पन्ध्र वर्षसम्म राजाबाट जेलमा थुनिएका कृष्णप्रसाद भट्टराईले काङ्ग्रेसलाई वाममार्गमा जानबाट रोक्नुपर्छ भनेर किन भनिरहनुभएको थियो भन्ने बुझन चाहनुभएन । त्यसैगरी भट्टराईको जीवनशैली एवम् व्यवहारमाथि चुनौती दिँदै देउवाले उच्च विलाशी जीवन रोज्नुभयो । नवधनाढ्यहरूमध्ये नेपालमा सबैभन्दा धनी नेताको हैसियत बनाएर सन्तनेताको शिष्य हुनुको मजाक देउवाले उडाइरहनुभएको ठानिन्छ । रामचन्द्र पौडेल अपेक्षाकृत स्वच्छ छविका हुनुभए तापनि भट्टराईले अपनाउनुभएको विचार-दर्शनलाई उहाँले पनि पूर्ण उपेक्षा गर्नुभएको मानिन्छ । यसरी कुनै न कुनै रूपमा सन्तनेता भट्टराईको अपमान र उपेक्षा गर्ने नेताहरूले टोपी झिकेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न उपस्थित हुँदा स्थितिलाई ठूलो व्यंग्य गरेको महसुस गरिएको थियो । त्यसैगरी बीस वर्षअघि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुँदा उहाँको मन्त्रिमण्डलका एक सदस्य झलनाथ खनालले भट्टराईको व्यक्तित्व र योगदानको प्रशंसा गर्नुलाई पनि स्वाभाविक मानिएको छैन । प्रधानमन्त्री बन्नेबित्तिकै राज्यको ढुकुटीबाट अढाइ करोड मूल्य पर्ने गाडी खरिद गर्न फाराम भरेर झलनाथ सन्तनेताप्रति श्रद्धाञ्जली अर्पण गर्न उपस्थित भइरहँदा त्यसलाई पनि भट्टराईप्रतिको एउटा ठूलो व्यंग्यका रूपमा लिइएको थियो । प्रधानमन्त्री पदबाट मुक्त भएर बालुवाटार (प्रमनिवास) बाट बाहिरिँदा टिनको पुरानो बक्सा, एउटा छाता र सुराई (जो किशुनजी आफैंले लिएर जानुभएको थियो) लिएर निस्कनुहुने कृष्णप्रसाद भट्टराईको मन्त्रिमण्डलका एक सदस्य झलनाथ खनाल आज प्रधानमन्त्री हुँदा उहाँ पदविहीन भइहाले पनि अर्ढाई करोड मूल्य पर्ने गाडी चढेर सयर गर्ने सपना देख्दै हुनुहुन्छ । बेग्लै पार्टीका नेता भएका हुँदा झलनाथलगायतमाथि कृष्णप्रसाद भट्टराईको विचार अनुशरण नगरिएकोमा टिप्पणी या आलोचना गर्नु उपयुक्त नहोला, तर ‘पुँजीवादी’ पार्टी काङ्ग्रेसका संस्थापकको जीवनशैली अपनाउन ‘सर्वहारावादी’ पार्टीका अध्यक्षहरूले नखोज्नुलाई चाहिँ जति निन्दा र भत्र्सना गरे पनि कमै हुने ठानिन्छ ।
०४८ सालको आमनिर्वाचनमा काठमाडौं क्षेत्र नं. १ मा उम्मेदवार बन्नुभएका कृष्णप्रसाद भट्टराईलाई निर्ममतापूर्वक हराइयो । उहाँ विजयी बन्नुभएको भए त्यसबेला गिरिजाप्रसाद होइन उहाँ नै प्रधानमन्त्री बन्नुहुने निश्चितप्राय: थियो । त्यसबेला भट्टराई प्रधानमन्त्री बन्नुभएको भए देश भ्रष्टाचारको आहालमा डुब्न नपाउने र निष्ठाको राजनीतिको जग निश्चित रूपमा बस्ने थियो भन्न सकिन्छ । मानिसमा रहने सार्वभौम कमजोरीहरू भट्टराईमा पनि थिए, तर उहाँ सार्वजनिक जिम्मेवारी निर्वाह गर्ने क्रममा कहीँ चुक्नुभएन । एक सच्चा देशभक्त-राष्ट्रवादी, खाटी प्रजातन्त्रवादी, दृढनिश्चयी, दूरदर्शी, इमानदार, निष्ठावान राजनेताको छवि स्थापित गरेर भट्टराई यस संसारबाट बिदा हुनुभएको छ । उहाँको यसप्रकारको बिदाइलाई निष्ठाकै बिदाइका रूपमा लिइएको छ । निष्ठा र इमानदारीको खडेरी परिरहेका बेला सन्तनेताको निधन भएपछि जनतामा एकप्रकारको निराशा प्रकट भएको छ । अब फेरि यस्ता महान् नेताको उदय कहिले होला? नेपाली जनतासँग प्रतीक्षा गर्नुको अर्को विकल्प देखिएको छैन ।