फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्ने

फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्ने


दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ ।

फ्लाई दुबईले दुबई-भैरहवा-काठमाडौं उडानका लागि मंगलबार (६ कात्तिक)देखि बुकिङ खुलाएको छ । सो कम्पनीको नेपालस्थित आधिकारिक एजेन्ट (जिएसए) युनिभर्सल टुर्स एण्ड ट्राभल्स रहेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्लाई दुबईको विमान दिउँसो १ः४५ मा भैरहवा र २ः४५ मा काठमाडौं आउनेछ । काठमाडौंमा एक घण्टा ‘टेक्निकल ल्याण्ड’ गरेर दुबई उड्नेछ ।

फ्लाई दुबईले भैरहवा विमानस्थलमा यात्रु ओरालेर त्यहाँबाट विदेश जाने यात्रुलाई सवार गराइ काठमाडौंमा एक घण्टा रोकेर दुबई उड्नेगरी प्राधिकरणबाट अनुमति पाएको छ । टिकट र थप जानकारीका लागि फ्लाई दुबईको वेबसाइटमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

उक्त कम्पनीले हप्ताको सातै दिन दुबई-भैरहवा र भैरहवा-काठमाडौं-दुबई उडान गर्न लागेको हो । यससँगै फलाई दुबईको उडान गन्तव्य सङ्ख्या एक सय १३ पुगेको छ भने ५३ देशमा यसको सेवा विस्तार भएको जनाइएको छ ।

यस्तै, जजिरा एयरले पनि कात्तिक १२ गतेदेखि पुनः उडान सञ्चालन गर्दैछ । यसअघि १० महिना उडान गरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको जनाइएको छ । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।

जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा आएर ८ बजेर ३० मिनेटमा कुवेत उड्ने गरी अनुमति पाएको विमानस्थलले जनाएको छ । दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । प्राविधिक कारण देखाउँदै १० महिनापछि उडान स्थगित गरिएको थियो ।

त्यसैगरी, थाई एयर एसियाले पनि छिट्टै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाएको छ । उक्त एयरलाइन्सको प्राविधिक टोलीले हालै गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको थियो । दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजनाअनुरूप गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको महाप्रबन्धक तिवारीले जानकारी दिए ।