सहकारी संघको स्थापना दिवसमा सहकारी अभियन्ताहरु सम्मानित

सहकारी संघको स्थापना दिवसमा सहकारी अभियन्ताहरु सम्मानित


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को १४औं स्थापना दिवस प्रस्तावित सहकारी नियमावली बारेमा अन्तरक्रिया गर्दै सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रमका प्रमुख अतिथि एशियाली ऋण महासंघका अध्यक्ष तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून)का पूर्व अध्यक्ष ऋषिराज घिमिरेले भक्तपुर जिल्ला बचत संघ आर्थिक अनुशासनले उत्कृष्ट संघ रहेको र यसलाई जीवित राख्न सबैले ध्यान दिनुपर्ने बताए ।

नेफ्स्कूनलाई साकोस फेडेरेशन गर्नु आवश्यक रहेको तर्क दिंदै उनले बैंक डुब्न लाग्दा नेपाल राष्ट्र बैंकले टेवा दिए जस्तै समुदायमा आधारित सहकारी संस्था डुब्न लागेमा बचावट गर्न सहकारी ऐन, २०७४ को नियम १०३ मा स्थिरीकरण कोषको व्यवस्था भएको जनाए ।

अन्तरक्रियामा उठेका सुझावहरुलाई सहजीकरण गरी तीे सुझावहरु भक्तपुर जिल्ला बचत संघले सम्बन्धित निकायमा पेश गर्न आग्रह गर्दै प्रमुख अतिथि घिमिरेले सरकारको मुख ताकेर बस्न नहुने जिकीर गरे ।

नेफस्कुनका पूर्वअध्यक्ष एवं सहकारीविद् कैलाशभक्त प्रधानाड्डले सहकारी ऐन, २०७४ को नियम १० र ८७ आपसमा बाझिएको बताए भने संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संघ स्थापनाको अवस्थाबारे जानकारी गर्दै समुदायमा आधारित सहकारी मात्र स्वावलम्बी र आत्मनिर्भर हुने उल्लेख गरे । यस्तै, पूर्वअध्यक्ष राद्येश्याम सुवाल, संघका कोषाध्यक्ष कान्छाभक्त ध्वजू र सचिव जगनाथ प्रजापतिले संघको महत्व बारेमा प्रकाश पारेका थिए ।

संघका उपाध्यक्ष्य हरि बलले संघको तर्फबाट सरकारले ल्याएको सहकारी नियमावलीबारे प्रस्तुतीकरण दिएको सो कार्यक्रमको सभापतित्व संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले गरेका थिए ।

संघले २०७४ चैत्र २० गते सहकारी दिवसको अवसरका आयोजित प्रभातफेरी कार्यक्रममा सहभागी १२४ वटा सहकारी संस्थाहरुमध्ये उत्कृष्ट भएका पाँचवटा सहकारी संस्थाहरु शुभकामना बचत तथा ऋण सहकारी संस्था लि., बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि., जनता बचत तथा ऋण सहकारी संस्था लि., इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लि. र कमलविनायक बचत तथा ऋण सहकारी संस्था लि.लाई उत्कृष्ट सहभागीता पुरस्कारबाट र प्रमुख अतिथि ऋषिराज घिमिरे, निवर्तमान अध्यक्ष राधेश्याम सुवाल, निवर्तमान उपाध्यक्ष सानुकाजी हेका, निवर्तमान सञ्चालकहरु रामेश्वर चौलागाई, महेन्द्र बखुन्छे, कविता ढुंगेल, पूर्वसञ्चालक केदार खड्का र लेखा सुपरिवेक्षण समितिका निवर्तमान संयोजक श्रीराम लामिछानेलाई सम्मान गरिएको थियो ।