को हुन् इजरायलले मृत्यु पुष्टि गरेको हमास नेता ?

को हुन् इजरायलले मृत्यु पुष्टि गरेको हमास नेता ?


हमासका सर्वोच्च नेता याह्या सिनवारको मृत्यु भएको इजरायलले पुष्टि गरेको छ । इजरायली डिफेन्स फोर्सले सिनवारको मृत्यु भएको पुष्टि गरेको हो । यसअघि इजरायली सेनाले गाजामा भएको आक्रमणमा तीन जना मारिएको र यसमा सिनवार भएको डिएनए परीक्षणबाट पुष्टि गर्ने बताएको थियो ।

डिएनए परिक्षणपछि इजरायल डिफेन्स फोर्सले आक्रमणमा मारिएका व्यक्ति याह्या सिनवार नै भएको जानकारी दिएको हो ।

याह्या सिनवार गाजामा हमासको राजनीतिक शाखाका नेता र इजरायलका मोस्ट वान्टेड व्यक्तिहरूमध्ये एक थिए । इजरायलले अक्टोबर ७, २०२३ मा आफ्नो दक्षिणी क्षेत्रमा भएको आक्रमणको लागि हमासका अन्य नेताहरूसँग याह्या सिनवारलाई जिम्मेवार ठहऱ्याउँदै आएको थियो । ती आक्रमणहरूमा १२०० भन्दा बढी मानिस मारिएका थिए भने २०० भन्दा बढी व्यक्ति अपहरणमा परेका थिए ।

अबु इब्राहिम भनेर चिनिने ६१ वर्षीय याह्या सिनवारको जन्म गाजा पट्टीको दक्षिणी क्षेत्रमा रहेको खान युनिस शरणार्थी शिविरमा भएको थियो । याह्याका आमाबाबु अस्केलोनका थिए, तर, जब इजरायल १९४८ मा स्थापना भयो, र हजारौं प्यालेस्टिनीहरूलाई उनीहरूको पुर्खाको घरबाट निष्कासित गरियो । यसरी याह्याका आमाबाबु पनि शरणार्थी भएका थिए ।

याह्या सिनवारले आफ्नो प्रारम्भिक शिक्षा खान युनिसको केटाको माध्यमिक विद्यालयमा प्राप्त गरे। यसपछि, उनले गाजाको इस्लामिक विश्वविद्यालयबाट अरबी भाषामा स्नातक डिग्री हासिल गरे । सिनवारलाई इजरायलले पहिलो पटक सन् १९८२ मा पक्राउ गरेको थियो । त्यतिबेला उनको उमेर मात्र १९ वर्ष थियो । याह्यालाई ‘इस्लामिक गतिविधि’मा संलग्न भएको आरोप लगाइएको थियो । सन् १९८५ मा उनी फेरि पक्राउ परे । यसै समयमा, याह्याले हमासका संस्थापक शेख अहमद यासिनको विश्वास जितेका थिए ।

सन् १९८७ मा हमासको स्थापना भएको दुई वर्षपछि याह्याले आफ्नो सबैभन्दा खतरनाक आन्तरिक सुरक्षा संगठन अल-मजदको स्थापना गरे । त्यतिबेला याह्या २५ वर्षका मात्र थिए ।

सन् १९८८ मा याह्या सिनवारले दुई इजरायली सैनिकको अपहरण र हत्याको योजना बनाएको र त्यसलाई कार्यान्वयन गरेको आरोपमा उनी सोही वर्ष पक्राउ परेका थिए । इजरायलले उनलाई १२ प्यालेस्टाइनीको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै चारवटा आजीवन कारावासको सजाय सुनाएको थियो।

याह्या सिनवारले १९८८ देखि २०११ को बीच लगभग २२ वर्ष इजरायली जेलमा बिताएका थिए । २०११ मा कैदी आदानप्रदान सम्झौता अन्तर्गत इजरायलले एक इजरायली सैनिक गिलाड शालितको सट्टामा १०२७ प्यालेस्टिनी इजरायली अरब कैदीहरूलाई रिहा गरेको थियो, जसमा याह्या सिनवार पनि परेका थिए । त्यसपछि २०१३ मा, याह्या गाजा स्ट्रिपमा हमासको राजनीतिक ब्यूरोको सदस्य निर्वाचित भए र २०१७ मा उनी यसको प्रमुख भएका थिए ।