– श्रीविक्रम भण्डारी
आगामी भदौ २ गतेदेखि इन्डोनेसियाको राजधानी जकार्तामा आयोजना हुन गैरहेको एसियाली खेलकुद प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदसँग समन्वय नगरि खेलाडीहरुको नाम दर्ता गराएपछि ओलम्पिकसंगै राखेप पनि विवादमा तानिएको छ । अझ राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केसवकुमार विष्टले नेपाल तेक्वान्दो संघका खेलाडीलाई अन्तिम छनोट विना बैदेशिक प्रशिक्षणमा कोरिया विदाई गरेपछि आगोमा ध्यू थप्ने कार्य गरेको छ ।
प्राप्त जानकारीका अनुसार ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय मान्यताका आधारमा नेपाल तेक्वान्दो संघका खेलाडीको नाम मात्र जकार्ता एसियाडका लागि पठाएपछि विवाद उत्पन्न भएको हो । विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) को मान्यता नेपाल तेक्वान्दो संघलाई मात्र भएको र महासंघको मान्यताविना जकार्ता एसियाडमा अन्य तेक्वान्दोले खेल्न नपाउने निस्कर्ष निकाल्दै एनओसीले नेपाल तेक्वान्दो संघका खेलाडीको मात्र नाम पठाएको स्रोतले जनाएको छ ।
नेपाल तेक्वान्दो संघको सिफारिस र दबाबमा अर्को राष्ट्रिय संघलाई ओलम्पिक कमिटीले वाइपास गरेपछि राष्ट्रिय खेलकुद परिषद पनि अफठ्यारोमा परेको छ । यसर्थमा कि राखेपले दुवै संघका खेलाडीलाई एसियाडको लागि बन्द प्रशिक्षणमा राखेको थियो । यस्तो अवस्थामा राखेपका सदस्यसचिव केशवकुमार विष्टले एसियाडमा संघ जाने होइन भन्दै तेक्वान्दोको छनोट प्रतियोगिता हुने सार्वजनिक रुपमा जानकारी गराएका थिए । तर अहिले ओलम्पिक कमिटीले एकलौटीरुपमा खेलाडीका दर्ता गराएपछि विवादको बिउ रोपिएको छ ।
नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदको यस्तो कदमले अहिले एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु मारमा परेका छन् । परिषद बैशाख २० गतेदेखि बन्द प्रशिक्षण बन्द गरेको अवस्थामा अव ति खेलाडीले छनोट प्रतियोगिता खेल्न पाउँछन या पाउँदैनन् त्यो गम्भिर विषय बनेको छ । राखेप र एनओसीले विश्व तेक्वान्दो महासंघको सिफारिस विना अन्तर्राष्ट्रिय अफिसियल गेममा अन्य तेक्वान्दो खेलाडीले खेल्न नपाउने जानकारी गराई सकेको छ ।

यस्तो अवस्थामा राष्ट्रिय तेक्वान्दो संघका खेलाडीले छनोट चरणमा प्रतिस्पर्धा गर्न पाएपनि अन्तर्राष्ट्रिय अर्थात १८ औं एसियाडमा प्रतिस्पर्धा गर्न पाउने सम्भावना निकै न्युन रहेको छ । डब्लुटिएफको मान्यताका कारणले अफठ्यारोमा परेको राष्ट्रिय तेक्वान्दो संघले अव कस्तो कदम उठाउँछ त्यो प्रतिक्षाको विषय बनेको छ ।
यही मुद्दामा अखिल नेपाल खेलकुद महासंघ माओवादी सम्बद्ध अध्यक्ष तथा राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष शिव कोईराला (ज्वाला) संग सम्पर्क गर्दा उनले प्रस्टरुपमा भने– ‘गोरु एकातिर र हलो एकातिर कदापी हुन सक्तैन, खेत जोत्न गोरु र हलोको एकै ठाउँमा तालमेलले बस्नुपर्छ, यतिबेला तालमेलमा अलि कमिकमजोरी देखिएकोले त्यसलाई ट्रयाकमा ल्याउदैछौं, यदि युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले त्यसमा आनकानी गरे उनलाई लगाम लगाउन आफु तयार रहको बताए ।
कस्तो लगाम लगाउने भन्ने प्रश्नमा अध्यक्ष ज्वालाले त्यो समयले बताउने भन्दै खेलकुद क्षेत्रमा बर्षौंदेखि चलेको सिन्डिकेड आफुले तोडेर देखाउने खुलासा गरे । सिमित व्यक्तिहरुको सिन्डिकेटले खेलकुदमा गैरकानुनी हरकत र अनुशासनहिन मौलाउँदै गएको यथार्थ कसैवाट छिपेको छैन भन्दै त्यसको लागि आफुले जस्तोसुकै लडाई लड्नु परेपनि लड्ने बताए ।
राष्ट्रिय तेक्वान्दो संघका खेलाडी १८ औं एसियाडमा खेल्न जान्छन यसमा दुईमत छैन भन्दै अध्यक्ष ज्वालाले केहि दिनभित्रै राष्ट्रिय खेलकुद परिषदले खुला छनोटको सूचना प्रकाशित गर्ने दावी गरे । त्यसपछि संयुक्तरुपमा एसियाडको लागि तेक्वान्दो खेलाडीको छनोट हुने बताए । यदि राखेपले त्यस्तो गरेन भने हामी गठबन्धन सरकारमा छौं कि अन्यमा, त्यसको जफाव राखेपका सदस्यसचिव केशवकुमार विष्टले दिनुपर्ने खुलासा गरे । यतिबेला विष्ट हाम्रो सम्पर्कमा छैनन्, हाम्रो टेलिफोन पनि उठाएका छैनन्, जुनदिन विष्टले टेलिफोन उठाउँछन् त्यो दिन थाहा पाउँछन्, त्यसपछि के गर्नुपर्छ, हामी केही गर्दैनौं, उहाँले नै गर्नुपर्ने बाध्यता हुन्छ, यो मेरो ठोकुवा हो ज्वालाले भने ।

खेलकुद मन्त्री जगतवहादुर सुनार, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केसवकुमार विष्टले आफ्नो संघलाई ठूलो धोका दिएको आरोप ज्वालाले लगाएका छन् । उनीहरुको मिलोमतोले गर्दा नै अहिलेको स्थितिको सृजना भएको बताउँदै अव यसको समाधान गृह मन्त्री रामबहादुर थापा (बादल) ले गर्ने समेत खुलासा गरे । साथै ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठलाई चुनौंति दिदै माओवादीको गृहमन्त्रीले खोलेको ओलम्पिकको ताल्चा फेरि गृहमन्त्रीले बन्द गर्ने बताए ।
हामी अहिले पनि समयको प्रतिक्षामा छौं, खेलकुदमा कुनै भाँडभैलो मच्चाउने पक्षमा छैनौं, साँचो रुपमा भन्ने हो भने समस्याको निकास सम्वन्धित निकायले निकालोस भन्ने पक्षमा छौं । तर यो कुरालाई आत्मसात नगरे अर्थात वाइपास गरे चुप लागेर नबस्ने चेतावनी दिए । मर्न लागेपछि जस्ले पनि आफ्नो आत्मरक्षाका लागि विकल्प सोच्छ, अर्थात मर्न चाहदैन । तसर्थ त्यो परिस्थितिले जन्माएको विकल्प जे पनि हुनसक्छ । त्यसको लागि आफु तयार रहेको र समानाको लागि सम्वन्धित निकायलाई तयार रहन ज्वालाले चुनौती दिएका छन् ।
हामीलाई आन्दोलन गरेर खेलकुदलाई अशान्त पार्ने कुनै रहर छैन, हाम्रो एउटै चाहना भनेको आउँदो एसियाडमा सहभागिता जनाउने तेक्वान्दो खेलाडीहरुको संयुक्तरुपमा अन्तिम छनोट । त्यो राखेपले गर्नुपर्छ । हामीले हाम्रो खेलाडी लानुपर्छ भनेका छैनौं, हामीले त संयुक्त छनोट भएर उत्कृष्ट खेलाडी लानुहोस मात्र भनेका छौँ । एसियाडमा जो गएपनि तेक्वान्दो खेलाडी जाने हो, यसमा हामी विवाद गर्न चाहदैनौं र गर्दैनौं पनि । यदि हाम्रो अस्तित्व समाप्त पार्न अन्तर्राष्ट्रिय मान्यताको धाक लगाएर तेक्वान्दो खेलाडीको भविष्यमाथि कसैले खेलवाड गर्छ भने त्यसलाई छोडने पक्षमा छैनौं ।
तसर्थ समयमै सम्वन्धित निकायको बुद्धि पुगोस, हाम्रो चाहना यति मात्रै हो । अन्यथा यातायात व्यवसायीले अहिले जसरी घुँडा टेकेका छन्, त्यसरी नै खेलकुदका निकायले पनि घुँडा टेक्ने अध्यक्ष ज्वालाको दाबी थियो । ज्वालाको आक्रोश र दाबीले खेलकुदमा अनिष्टको संकेत प्रस्टरुपमा देखिएपनि अव सम्वन्धित निकाय नेपाल तेक्वान्दो संघसंगै सती जाने नजाने उसैको निर्णयमा भरपर्ने देखिएको छ ।
प्रतिक्रिया