नेपाल भ्रमणमा बेलायती राज्यमन्त्री

नेपाल भ्रमणमा बेलायती राज्यमन्त्री


लण्डन । बेलायतका एसिया तथा प्रशान्त मामिला हेर्ने विदेश राज्यमन्त्री मार्क फिल्ड औपचारिक भ्रमणका लागि नेपाल प्रस्थान गरेका छन् । नेपालमा तीन तहको निर्वाचन सम्पन्न भई नयाँ संसद र संघीय सरकार गठन भएपछिको बेलायतबाट उच्च तहमा हुन लागेको यो पहिलो भ्रमण हो ।

विदेश राज्यमन्त्री मार्क फिल्डको यो भ्रमणलाई बेलायत सरकारले नेपालको संविधानको कार्यान्वयन, लोकतान्त्रिक प्रक्रिया एवं नवनिर्वा्चित सरकारको स्वागतका साथै नेपालको विकास प्रयासमा सहकार्य गर्ने प्रतिवद्धताका रुपमा लिइएको छ ।

संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले गत विहिबार अपरान्ह विदेश राज्यमन्त्री फिल्डसँग शिष्टाचार भेट गरी उनको आसन्न भ्रमणको तयारीबारे जानकारी गराउनुका साथै नेपालको संविधानको कार्यान्वयन स्वरुप स्थानीय, प्रादेशिक र संघीय संसदको निर्वाचन सम्पन्न भई तीनै तहमा निर्वा्चित सरकार गठन भई कार्य सुचारु भइसकेको बताएका थिए ।

राजदूत डा. सुवेदीले नवनिर्वा्चित सरकारले आर्थिक विकास र समृद्धिलाई राष्ट्रिय एजेण्डाका रुपमा अंगीकार गरेको वर्तमान परिप्रेक्ष्यमा दुई सय वर्ष भन्दा लामो घनिष्ट र ऐतिहासिक सम्बन्ध थप प्रगाढ बनाउन र पर्यटन, व्यापार र लगानीका क्षेत्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

राज्यमन्त्री फिल्डले नेपालको शान्तिप्रक्रिया र लोकतान्त्रिक विकासमा योगदान गरेको संयुक्त अधिराज्यले संविधानको सफल कार्यान्वयनको सहा्रहना गरेको र जननिर्वाचित सरकारले घोषणा गरेको आर्थिक विकासको लक्ष्यमा सहकार्य गर्न संयुक्त अधिराज्य सरकार तत्पर रहेको बताउँदै आफ्नो यो भ्रमण दुई मुलुक बीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गर्न र पर्यटन, शिक्षा, व्यापार र लगानीका नयाँ क्षेत्रहरु पहिचान गर्न सहायकसिद्ध हुने विचार व्यक्त गरेका थिए ।

राज्यमन्त्री फिल्डले नेपालमा रहँदा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुसँग शिष्टाचार भेट तथा वार्ता गर्ने कार्यक्रम रहेको छ । उनले नेपालको उद्योग, वाणिज्य तथा व्यापारसँग सम्वद्ध पदाधिकारीहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी बेलायतस्थित दूतावासबाट गराइएको छ ।