जघन्य अपराध गर्नेलाई आजीवन कारावासको सजाय : मन्त्री थापा

जघन्य अपराध गर्नेलाई आजीवन कारावासको सजाय : मन्त्री थापा


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिलासम्बन्धी बनेका कानूनलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छिन् ।

ल्यानकाउ नेपालले आयोजना गरेको ‘महिला अधिकारकर्मीलाई सम्मान’ कार्यक्रममा उनले समाजमा पछाडि परेका महिलालाई अगाडि बढाउन कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन् ।

‘नेपालको संविधानले महिलालाई धेरै अधिकार दिएको छ, अधिकारलाई सदुपयोग गर्नुपर्छ’–उनले भनिन् ।

मन्त्री थापाले कतिपय महिलालाई बोक्सीको आरोप लाग्ने र कतिपय महिला बलात्कृत हुने गरेको भन्दै यस्ता जघन्य अपराध गर्नेलाई सर्वस्वसहित आजीवन कारावासको सजाय गर्नुपर्ने बताइन् ।

नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङले मुलुक तीन तहको निर्वाचन सम्पन्न गरेर नयाँ ढंगले अगाडि बढेपनि महिला हिंसाका घटना नरोकिएको भन्दै यस्ता घटनालाई कम गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा दुई दशकदेखि महिला हक अधिकारका क्षेत्रमा लागेर नेपालका २५ संघर्षशील महिलाका जीवनलाई बेलायतको स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश गरेको भन्दै महिला अधिकारकर्मी सिर्जनासिंह योन्जनलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

सोह्र वर्षदेखि महिला हक र अधिकारका लागि काम गरेको ल्यानकाउ नेपालले समाजमा देखिएको जातीय भेदभाव अन्त्य गर्दै प्रदेश नं ७ मा अन्यायमा परेका महिलालाई निःशुल्क कानूनी सेवा प्रदान गर्दै आइरहेको ल्यानकाउ नेपालका कार्यकारी निर्देशक आकाश बागचनले जानकारी दिए ।