देउवाको चाल र काङ्ग्रेसको हाल !

देउवाको चाल र काङ्ग्रेसको हाल !


चुनावी हारको समीक्षा गरी भविष्यको मार्ग तय गर्न गत ०७४ चैत ९ देखि शुरु भएको नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक गत साता (१६ वैशाख ०७५) सम्पन्न भएको छ । पार्टीका असन्तुष्ट पक्ष एवम् आफूलाई युवा नेताको रूपमा चिनाउन रूचाउने केन्द्रीय सदस्यहरूको एक खास समूहको तीव्र दबाबका कारण काङ्ग्रेस सभापति शेरबहादुर देउवाले समीक्षा बैठक बोलाएका थिए । सकभर केन्द्रीय कार्यसमिति बैठक नराख्नमै जोड थियो देउवाको ।

किनकि, काङ्ग्रेसको लज्जास्पद हारको अपयश आफ्नो टाउकोमा खन्याएर केन्द्रीय नेताहरू सबै बच्न खोज्दै छन् भन्ने ज्ञान देउवालाई थियो । पार्टी पराजयको दोषको भारी एक्लै थेग्ने मानसिकतामा थिएनन् उनी, बरु सबै दोष विरोधीहरूकै थाप्लोमा चढाएर आफूलाई चोख्याउने धुनमा थिए । तर, केन्द्रीय समितिको बैठक नबोलाई धरै पाएनन् उनले ।

चुनावी परिणाम आएपछि पनि निकै समयको आलटालपछि बोलाइएको बैठक फगत झारा टार्नका लागि थियो भन्नेमा कुनै शङ्का थिएन, तर ‘समीक्षा बैठक’ डाकिएको सन्दर्भलाई काङ्ग्रेसको ‘युवा नेतृत्व समूह’ भनिएको गुटका सदस्यहरूले निकै महत्व दिएर प्रचारित तुल्याए । तत्काल महासमितिको बैठक डाक्न र त्यसमार्फत ‘शीघ्र महाधिवेशन’ घोषणा गराई देउवालाई पार्टीको शीर्ष नेतृत्वबाट च्यूत गराउन उक्त समूह उत्साहित भएर लागेको थियो । असन्तुष्ट पक्षका अनुभवी केही नेताहरूसमेत तिनै ‘युवा’हरूको खहरे जोससँगै उत्साहित बन्न पुगेका प्रतीत हुन्थ्यो । देउवाको अक्षमताका कारण पार्टीले भोग्नुपरेको नियतिको पाठ उनलाई सिकाएरै छोडिन्छ भन्नेमा ती पनि सायद आशावादी बन्न पुगेका थिए ।

तर, पदलिप्सा र पारिवारिक जकडबन्दीको सिकार बनेका देउवा मापन गर्नै नसकिने गरी बदलिइसकेका छन् भन्ने तथ्यबोध उनका पुराना सहयात्री–सहकर्मीलाई समेत हुन सकेन । जतिसुकै गल्ती गरे पनि गल्ती नदेख्ने, देखे पनि महसुस नगर्ने, महसुस गरे पनि प्रकट नगर्ने र प्रकट गरे पनि त्यसबापत भोग्नुपर्ने सजाय भोग्न किमार्थ तत्पर नहुने जब्बर स्वभाव देउवामा विकसित भएको तमाम काङ्ग्रेस नेता–कार्यकर्ताले पत्तै पाएनन् ।

नेपाली काङ्ग्रेसको सभापति ओहोदाबाट देउवालाई ओराल्न खोज्ने समूहबाटै उनलाई प्रधानमन्त्री बनाउने ‘लबिङ’ शुरु गरिएछ भने पनि आश्चर्य नमाने हुन्छ अब ।

यही परिवेशमा देउवाले बैठक आह्वान गरिदिए, विरोध गरेर आफूलाई हलुँगो तुल्याउन खोज्ने सबैका आलोचना र गुनासो आँखा–कान बन्द गरेर मज्जैसँग सुनिदिए, चुनाव हार्नुको कारण ‘वाम–गठबनधन’ नै भएको ठोकुवा गर्नुका साथै ‘विपक्षी कम्युनिस्ट गठबन्धनले भारतले लगाएको नाकाबन्दीका कारण पीडित नागरिकको मत आफ्नो पक्षमा प्रभावित पार्न सफल भयो’ भनी बैठकको निचोड लेख्न लगाए, केटाकेटीलाई चकलेट दिएर फकाएको शैलीमा दुई–चार महिनापछि महासमिति बैठक पनि बोलाइदिने आश्वासन दिँदै बैठक सकिएको घोषणा गरिदिए ।

बैठक सकियो, अब काङ्ग्रेसी कोलाहल वा कोकोहोलो पनि सिद्धियो ! स्वाभाविक–अस्वाभाविक, मीठो या तिक्त जे ठाने पनि यथार्थ यही हो । नेपाली काङ्ग्रेसको सभापति ओहोदाबाट देउवालाई ओराल्न खोज्ने समूहबाटै उनलाई प्रधानमन्त्री बनाउने ‘लबिङ’ शुरु गरिएछ भने पनि आश्चर्य नमाने हुन्छ अब । नेपाली काङ्ग्रेस नामक पार्टीका नेतागण वा सो पार्टीकै नियति आजका दिनमा यही नै हो ।

यसरी केन्द्रीय कार्यसमितिको बैठक ‘सम्पन्न’ गरेका देउवाले पार्टीका पदाधिकारीहरू पनि आफूखुसी मनोनयन गरिदिए । सभापति भएको दुई महिनाभित्रै गरिसक्नुपर्ने काम विधानविपरीत दुई वर्ष र दुई महिना नाघेपछि गरिदिए देउवाले, र पनि दुई महिनामा ‘शीघ्र महाधिवेशन’ बोलाउन बाध्य पार्छौँ भनी धमास देखाउनेहरू ‘रुझेको मुसा’ बन्न विवश देखिँदै छन् । काग कराउँदै छ, पिना सुक्दै छ !

सारमा भन्नुपर्दा काङ्ग्रेसको शीर्ष नेतृत्व, नेतृत्व तह र कार्यकर्ता–पङ्क्ति सबै नै आत्मकेन्द्रित या स्वार्थको दलदलमा धसिएको प्रतीत हुन्छ । ऊर्जा र इमान भएका सीमित नेता–कार्यकर्ता पनि यही दलदलबाट उछिट्टिएको हिलोका छिटाले मैलो देखिँदै छन् । आफूलाई मुलुककै विशिष्ट र पुरानो प्रजातान्त्रिक शक्ति दाबी गर्ने दलको यो हविगत छ भने अर्कोतिर ‘वाम–गठबन्धन’ हुँदै पार्टी एकता गरेर देशमा पचास वर्ष शासनको सपना पालेका एमाले–माओवादी केन्द्रको दुर्दशा पनि छताछुल्ल हुँदै छ । सत्तासीन यी दलको मिलाप हुनु र नहुनुले अब त्यस्तो कुनै परिवर्तन दिलाउन सक्नेछैन, जसले देशलाई समृद्धिको नयाँ दिशातर्फ अग्रसर तुल्याउन सकोस् । यो वियोगान्त नेपाली राजनीतिक परिवेशको विकल्पचाहिँ के त ? यसको जवाफ यतिबेला सम्भवतः कसैसँग छैन ।