कतारका राजाको भ्रमणमा बालेन्द्र बहिष्कृत !

कतारका राजाको भ्रमणमा बालेन्द्र बहिष्कृत !


कुनै मुलुकको राष्ट्राध्यक्ष या सरकारप्रमुखको भ्रमण हुँदा नागरिक अभिनन्दन हुने परम्परा कतारका राजा शेख तमिम विन हमाद अल थानीको यही वैशाख ११ गते भएको नेपाल भ्रमणका क्रममा कायम हुन सकेन, परम्परा कायम हुन नसक्नुको प्रमुख र एकमात्र कारण काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह भएको बुझिएको छ ।

प्राप्त जानकारीअनुसार बालेन्द्र स्टण्ट गरेर राजनीतिमा आएको र, उनी सम्मिलित सार्वजनिक समारोहमा अमर्यादित ढङ्गले उनको नाममा नारा लगाउने गरिन्छ । बैशाखको दोस्रो साता नेपाल भ्रमणमा रहनुभएका कतारी राजाको भ्रमणका क्रममा बालेन्द्रलाई आमन्त्रण गरिएको भए राजाको समेत अपमान हुनेगरी नाराबाजी हुनसक्ने सम्भावनालाई दृष्टिगत गरि निजलाई कुनै पनि समारोहमा सामेल नगरिएको बुझिएको छ ।

विशिष्ट अतिथिको सम्मानमा महानगरको तर्फबाट नागरिक अभिनन्दन गरिने र, महानगरको साँचो अथितिलाई महानगरप्रमुखबाट हस्तान्तरण गर्ने समारोहमा समेत अमर्यादित व्यवहार हुनसक्ने सम्भावनालाई हेरेर त्यस प्रकारको कार्यक्रम नै आयोजना नगरिएको सम्बद्ध सूत्रले घटना र विचारलाई बताएको छ ।

समाचार सूत्रकाअनुसार कतारी राजालाई वसन्तपुर, कुमारी मन्दिर र काष्ठमण्डप क्षेत्रसम्म भ्रमण गराउने योजना सरकारले बनाएर पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । आफूलाई उपेक्षा गरेको झोकमा बालेन्द्रले त्यस क्षेत्रमा गाडी प्रवेश गर्न रोक लगाए भने राजाबाट पैदलयात्रा हुनसक्ने सम्भावना नरहने भएकोले अन्ततः त्यस क्षेत्रमा राजालाई पुर्‍याउने कार्यक्रम नै स्थगित गर्नु परेको थियो ।

कतारका राजाको भ्रमणबाट नेपालले कुनै लाभ लिन नसकेको सार्वजनिक टिप्पणी भैरहेको छ । मौसुफलाई गाडी साँघुरो भएर यताउता गर्न पनि निकै मुस्किल परेको बुझिएको छ ।